
काठमाडौं । क्रोएसियामा छायांकन भइरहेको ऐतिहासिक फिल्म ‘ली’को सुटिङ सेटमा भएको दुर्घटनामा हलिउड अभिनेत्री केट विन्सलेट घाइते भएकी छन् । उनलाई अस्पताल भर्ना गरिएको हलिउड रिपोर्टर म्यागजिनले जनाएको छ ।
छायांकन सेटमा चिप्लिएर दुर्घटना भएको र उनलाई चोट लागेको जनाइएको छ । घटनालगत्तै नजिकको अस्पतालमा लगिएको र स्वास्थ्यमा सुधार भइरहेको समेत उल्लेख छ ।
आउँदो सातादेखि उनी छायांकन सेटमा फर्कने योजना छ । ‘उनी चिप्लिएर लडिन् र पूर्वसतर्कताका लागि उनलाई अहिले अस्पतालमा राखिएको छ । ठीक भएपछि उनी छायांकनमा फर्कनेछिन् ।’
४६ वर्षीया ओस्कार अवार्ड विजेता अभिनेत्रीले उक्त फिल्ममा युद्ध संवाददाताको भूमिका चित्रण गर्नेछिन् । फोटोग्राफर ली मिलरको जीवनमा यो फिल्म आधारित हुने जनाइएको छ ।
एलेन कुरासले निर्देशन गरिरहेको फिल्मको प्रमुख चरित्रमा मेरियन कोर्टिलार्ड, जुड ल, एन्ड्रिया राइजबर्ग र जोस ओ कनरको प्रमुख भूमिका छ । आगामी साता रिलिज हुन लागेको फिल्म ‘अवतार ः द वे अफ वाटर’मा समेत विन्सलेटको मुख्य भूमिका छ ।
सातपटक उनी ओस्कारमा मनोनित भएकी छन् । नेपाली दर्शकले चाहिं विन्सलेटलाई उनको चर्चित फिल्म ‘टाइटानिक’ एक्ट्रेसको रुपमा चिन्छन् ।
प्रतिक्रिया 4