
३ असोज, धनगढी । कञ्चनपुरमा पहिचान नखुलेको ३ वटा शव प्रहरीले अन्त्येष्टि गरेको छ । लालझाडी गाउँपालिका–१ को चिनी मिल नजिकै उखुबारीमा भेटिएका दुईवटा र पुनर्बास नगरपालिका–१० को दोदा नदी नजिकै भेटिएको एउटा शवको पहिचान नखुलेपछि गाडिएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय त्रिभुवन वस्तीका प्रहरी निरीक्षक नरेशराज मल्लले सडेको अवस्थामा भेटिएको शवको पहिचान गर्न नसकेपछि प्रक्रिया पु¥याएर गाडिएको जानकारी दिए । ‘शवहरु सडेको अवस्थामा फेला परेका थिए । मेडिकल परीक्षण गर्न सकिने अवस्थासमेत नभएपछि प्रक्रिया पुगाएर सोही ठाउँमा गाडेका छौं’, मल्लले अनलाइनखबरसँग भने, ‘स्थानीय जनप्रतिनिधिसहित सरोकारवालाको रोहबरमा शव गाडिएको हो ।’
आइतबार साँझ शव भेटिएपछि प्रहरीले चिकित्सकको टोली घटनास्थलमै लगेर डीएनए परीक्षणका लागि नमूना संकलन गरेको थियो । त्रिभुवन वस्ती प्राथमिक स्वास्थ्य केन्द्रका डा. मोसा तामाङ नेतृत्वको टोलीले शवको वैज्ञानिक परीक्षणका लागि नमूना संकलन गरेको प्रहरी निरीक्षक मल्लले बताए ।
प्रहरीका अनुसार चुरा र कपडाका आधारमा दुई वटा शव महिला र एउटा पुरुषको भएको खुले पनि उनीहरुको नाम र ठेगाना पहिचान भएन । शनिबार बाढीले ती शव अन्यत्रैबाट बगाएर ल्याएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ ।
प्रतिक्रिया 4