
४ असोज, काठमाडौं । असोजका लागि प्रकाशित गरेको निक्षेपको ब्याजदरमा दशमलव पछिको अंकको कारण बैंकहरुबीच विवाद बढेको छ । ३० भदौमा बसेको बैंकर्स संघको बैंठकले निक्षेपको ब्याजदरमा भएको भद्र सहमति खारेज गर्दै राष्ट्र बैंकको नियामकीय व्यवस्था अनुसार असोजका लागि ब्याजदर प्रकाशित गर्ने निर्णय गरेका थिए ।
जसअनुसार सबै बैंकले असोजका लागि व्यक्तिगत मुद्दती निक्षेपमा १२.१३ प्रतिशत र संस्थागत मुद्दती निक्षेपका लागि १०.१३ प्रतिशत ब्याजदर प्रकाशित गरे पनि एक बैंकले भने व्यक्तिगत मुद्दतीमा १२.१३३ र संस्थागतमा १०.१३३ प्रतिशत ब्याजदर प्रकाशित गरेको थियो ।
एउटा बैंकले दशमलव पछि ३ अंकको ब्याजदर प्रकाशित गरेपछि अन्य बैंकहरुले पनि बढाएर ब्याजदर प्रकाशित गरेका हुन् ।
बैंकर्स संघमा भएको छलफलमा राष्ट्र बैंकको निर्देशन अनुसार वाणिज्य बैंकले व्यक्तिगत निक्षेपमा दिंदै आएको उच्च ब्याजदरको औसत ११.०३ को १० प्रतिशतले वृद्धि गर्दा १२.१३३ प्रतिशत पुग्ने भएपनि त्यसलाई ‘राउन्डअप’ गर्दै ११.१३ प्रतिशत छाप्ने निर्णय गरेका थिए ।
तर, बैंकर्स संघको बैंठकमा नियामकीय व्यवस्थाअनुसार बढाउन पाइने सीमासम्म बढाउने बताएकामध्ये एक बैंकले १२.१३३ ब्याजदर प्रकाशित गरेपछि अन्य बैंकले पनि ब्याजदर बढाएर १२.१३३ प्रतिशत नै दिने निर्णय गरेको छन् ।
‘राष्ट्र बैंकको निर्देशनअनुसार १२.१३३ प्रतिशतसम्म दिन पाइने हो बैंकहरुले आवश्यक पर्दा प्रकाशित गरेर दिन सक्छन्,’ एक बैंकरले भने, ‘व्यक्तिगत निक्षेपमा १२.१३३ प्रतिशत र १२.१३ प्रतिशतले कुनै फरक पर्दैन । संस्थागत निक्षेपमा भने व्यक्तिगत निक्षेपको उच्च ब्याजदर भन्दा २ प्रतिशत कम हुनुपर्ने व्यवस्थाले १०.१३३ र १०.१३ प्रतिशत हुने भयो । बढी ब्याज दिने बैंकमा राख्नुपर्ने संस्थागत निक्षेपहरु दशमलव पछि ३ वटा अंकको ब्याजदर प्रकाशित गर्नेमा जाने भयो ।’
संस्थागत निक्षेप बाहिरिने जोखिम भएपछि सबै बैंकले १२.१३३ प्रतिशतलाई नै अधिकतम ब्याजदर मानेर ब्याज दिन लागेको एक बैंकर्सले बताए ।
प्रतिक्रिया 4