
३ असोज, काठमाडौं । अज्ञात समूहको गोलीबाट गोठाटारमा मारिएका लाल मोहम्मदको घटनाबारे छानबिन गर्न प्रहरी प्रधान कार्यालयले विशेष समिति बनाएको छ ।
प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनकराज भट्टराईको नेतृत्वका मंगलबार पाँच सदस्यीय समिति बनाइएको उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) रवीन्द्रबहादुर धानुकले अनलाइनखबरलाई बताए । भट्टराई उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख हुन् ।
उनका अनुसार समितिमा प्रहरी उपरीक्षक (एसएपी) दिनशराज मैनाली, प्रहरी नायब उपरीक्षक (डीएसपी) कृष्ण चन्द लगायत सदस्य छन् । समितिमा साइबर ब्यूरोका एकजना अधिकृतलाई पनि राखिएको छ ।
एसपी मैनाली जिल्ला प्रहरी परिसर काठमाडौंमा कार्यरत छन् भने चन्द उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत छन् ।
सोमबार साँझ साढे ६ बजे गोठाटारस्थित एभेन्जर इन्टरप्राइजेज नामक गोर्मेन्ट उद्योग अगाडि मोहम्मदलाई गोली हानेर अज्ञान समूहले हत्या गरेको थियो । उनलाई ‘मेड इन यूएस’ लेखिएको पेस्तोलबाट चार राउण्ड गोली हानिएको पाइएको छ ।
उनको हत्यामा संलग्न तीनजना व्यक्ति घटनास्थल नजिकै रहेको होटल कोशिपारि गेष्ट हाउसमा बसेका पाइएको छ ।
प्रतिक्रिया 4