
४ असोज, काठमाडौं । चल्तीका पार्टीहरूबाट देशको प्रगति हुन नसक्ने ठहर गर्दै उम्मेदवारी घोषणा गरेका स्वतन्त्र उम्मेदवारहरू अन्ततः पार्टीकै खोपीमा ओत लाग्न पुगेका छन् । उनीहरूले आफूलाई स्वतन्त्र करार गर्न भने छाडेका छैनन् । अघोषित गठबन्धन बनाएर चुनाव लड्ने योजनाअन्तर्गत ‘स्वतन्त्र’ उम्मेदवारहरू ‘लौरो’ र ‘घण्टी’ चिह्न बोकेर चुनावी मैदानमा ओर्लिएका छन् ।
निर्वाचन आयोगमा ‘लौरो’ चुनाव चिह्न ‘हाम्रो नेपाल’ पार्टीका नाममा दर्ता छ । यो पार्टीका अध्यक्ष हुन्– अनन्तराज घिमिरे ।स्वतन्त्रहरूको उम्मेदवारी खासमा स्वच्छ छविका प्रतिनिधिको खोजीबाट सुरु भएको थियो । तर सुरुमै विवादास्पद पृष्ठभूमिका व्यक्तिको हातमा यसको नेतृत्व पुग्न गएको छ ।
मध्यपश्चिम विश्वविद्यालयको इन्जिनियरिङ संकायको डीन हुँदाहुँदै यिनै घिमिरेले विद्युत् उत्पादन कम्पनी लिमिटेडको म्यानेजिङ डाइरेक्टर पद पाएका थिए । तर, दोहोरो पद पाएको भन्दै विद्युत् उत्पादन कम्पनीले घिमिरेलाई काम गर्न रोकेको थियो ।
माओवादीसँगको निकटताकै आधारमा उनले त्यसपछि लुम्बिनी प्रदेशको प्रदेश पूर्वाधार विकास प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत पद पाएका थिए । त्यो पदमा पनि उनी धेरै समय टिक्न सकेनन् ।
लुम्बिनी प्रादेशिक अस्पतालको भवन निर्माणका क्रममा मिलेमतो भएको पुष्टि भएपछि घिमिरेले राजिनामा दिएका थिए । २०५६ देखि माओवादी पार्टीसँग निकट रहेका उनले चैत २०७८ मा माओवादीबाट अलग्गिएको घोषणा गरेका थिए ।
स्वतन्त्र उम्मेदवारहरूले प्रयोग गरिरहेको अर्को चुनाव चिह्न ‘घण्टी’ रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको नाममा दर्ता छ । नेपाली नागरिकता त्यागेर अमेरिकी नागरिक बनेका लामिछानेले विवाद भएपछि अमेरिकी नागरिकता त्यागेर फेरि नेपाली नागरिकता लिएका छन् ।
‘लौरो’ र ‘घण्टी’ चुनाव चिह्न भएका यी दुई दलहरूले अहिले देशभरिका स्वतन्त्र उम्मेदवारलाई आफ्नो चुनाव चिह्न ‘भाडा’मा लगाइरहेका छन् ।स्वतन्त्रहरूको साझा चौतारी बनाउनुपर्छ भन्दै स्वतन्त्र उम्मेदवारी अभियान चलाइरहेका डम्बर शाहु भन्छन्, ‘स्वतन्त्र उम्मेदवारी घोषणा गरेका साथीहरूले उधारो रूपमा लौरो, घण्टी लगायतका चुनाव चिह्न लिइरहनुभएको छ ।’
स्थानीय तहको चुनावमा स्वतन्त्र उम्मेदवारी दिएर ‘लौरो’ चुनाव चिह्न पाएर काठमाडौं महानगरमा बालेन शाह र धरानमा हर्क साम्पाङले चुनाव जितेपछि स्वतन्त्र उम्मेदवारले ‘लौरो’लाई आफ्नो प्रतीकका रूपमा स्थापित गरे ।
‘लौरो’ स्वतन्त्रको प्रतीक मानिए पनि यो चिह्न अहिले निर्वाचन आयोगमा दलको चुनाव चिह्नका रूपमा दर्ता छ । दलको नाममा दर्ता भइसकेका यी चुनाव चिह्नबाट उम्मेदवारी दिएर कसरी स्वतन्त्र ?
२९ असार २०७९ मा ‘लौरो’ चुनाव चिह्न लिएर आयोगमा दल दर्ता गराएका अनन्तराज घिमिरे भन्छन्, ‘स्वतन्त्र उम्मेदवार साथीहरूलाई हामीले लौरो चुनाव चिह्न प्रयोग गर्न दिएका हौं ।’
चुनावी प्रयोजनका लागि मात्र आफूहरूले आफ्नो चुनाव चिह्न प्रयोग गर्न दिएको उनको दाबी छ । उनी आफैंले पनि लौरो चुनाव चिह्न लिएर दाङ क्षेत्र नम्बर २ बाट उम्मेदवारी घोषणा गरेका छन् ।
घिमिरेको दलले ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’सँग सहमति गरेर स्वतन्त्र उम्मेदवारलाई लौरो चुनाव चिह्न भाडामा दिएको छ । सुमन सायमीले यो अभियानको नेतृत्व गरिरहेका छन् ।
‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ले घिमिरेको दलले १६ भदौ २०७९ मा आफूहरूलाई सम्पूर्ण अधिकारसहित ‘लौरो’ चुनाव चिह्न प्रयोग गर्न दिएको बताएको छ ।
देशभरका स्वतन्त्रहरूले साझा चुनाव चिह्न नपाएको हुँदा आफूहरूले दलका नाममा दर्ता भए पनि लौरो चुनाव चिह्न प्रयोग गरेको बताउँछन् लौरो अभियानका संयोजक सायमी । भन्छन्, ‘स्वतन्त्रहरूले साझा चुनाव चिह्न नपाउने भएपछि हामीले बाध्य भएर दलको नाममा दर्ता भइसकेको चुनाव चिह्न लिएका हौं ।’ सायमीका अनुसार लौरो चुनाव चिह्न स्वतन्त्रहरूको प्रतीक हो ।
त्यसैगरी रवि लामिछानेको पार्टीले पनि आफ्नो चुनाव चिह्न ‘घण्टी’ भाडामा लगाएको छ । स्वतन्त्र उम्मेदवारी घोषणा गरेका पुकार बम अहिले लामिछानेको पार्टीको चुनाव चिह्न घण्टी लिएर चुनाव प्रचारप्रसारमा लागेका छन् ।
चुनाव चिह्न दलको, उम्मेदवार चैं स्वतन्त्र !
स्वतन्त्र उम्मेदवारहरूको चुनावी तालमेल गर्ने योजनाअन्तर्गत स्वतन्त्रहरूको साझा चुनाव चिह्न बनाउने तय भएपछि पार्टीको चुनाव चिह्न लिइएको बताइन्छ । दलको चुनाव चिह्न भाडामा लिएर चुनाव जिते पनि भाडामा चुनाव चिह्न दिने पार्टीले उम्मेदवारमाथि कुनै नियन्त्रण नगर्ने बताउँछन चुनाव चिह्नका धनी दलहरू ।
घण्टी चुनाव चिह्न भाडामा लगाइरहेको राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मुकुल ढकालका अनुसार चुनाव चिह्न भाडामा दिने विषयमा उम्मेदवारसँग सम्झौता भएको छ । उक्त सम्झौता अनुसार चुनाव चिह्न प्रयोग गर्नका लागि दलको सदस्य भइरहनुपर्दैन । समाजमा ख्यातिप्राप्त, योग्य व्यक्तिले स्वतन्त्र उम्मेदवारी घोषणा गर्न चाहेमा आफ्नो पार्टीले चुनाव चिह्न प्रयोग गर्न दिने उनी बताउँछन् ।
‘हामीले स्वतन्त्र उम्मेदवारी घोषणा गर्नुभएकाहरूलाई हाम्रो चुनाव चिह्न प्रयोग गर्न दिएका छौं । तर, हाम्रो चुनाव चिह्न प्रयोग गर्नेहरू सबै हाम्रो दलका सदस्य होइनन् । यसका लागि एउटा सम्झौता गरिएको छ । उहाँहरूले जितेमा पनि राष्ट्रियताको सवालमा बाहेक अरू कुरामा पार्टीको ह्विप लाग्दैन’, ढकालले भने ।
लौरो चुनाव चिह्न भाडामा लगाइरहेका घिमिरे पनि ‘राष्ट्रियता’ विषय बाहेक अरू विषयमा दलको ह्विप नलाग्ने भन्छन् । आफूहरूले ‘ठूलो मन’ बनाएर स्वतन्त्र उम्मेदवारलाई चुनाव चिह्न प्रयोग गर्न दिएको उनीहरूको भनाइ छ ।
२०७४ को चुनावमा सूर्य चुनाव चिह्न लिएका हृदयेश त्रिपाठीको उदाहरण दिंदै घिमिरे भन्छन्, ‘ हृदयेश त्रिपाठी सूर्य चिह्न लिएर उठ्नुभयो । तर, स्वतन्त्र रहनुभयो हामीले पनि त्यस्तै गर्न खोजेका हौं ।’
दलको चिह्न लिने स्वतन्त्र हुँदैन : आयोग
चुनाव चिह्न भाडामा दिने र लिने दुवैले त्रिपाठीको उदाहरण दिन्छन् । तर, निर्वाचन आयोग भने यो उदाहरण खारेज गर्छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेल भन्छन्, ‘हाम्रो कानुन र रेकर्ड अनुसार हृदयेश त्रिपाठी एमालेको सांसद हुनुहुन्थ्यो ।’ आयोगमा दर्ता भएर चुनाव चिह्न पाएको दलको टिकट लिएर उम्मेदवारी दर्ता गराउने व्यक्ति दलको उम्मेदवार हुने बताउँछ आयोग ।
‘पार्टीको टिकट लिएर आउने मान्छे त्यही पार्टीको उम्मेदवार हुन्छ’ पौडेल भन्छन्, ‘पार्टीले टिकट लिएर आएको मान्छे हाम्रो रेकर्डमा पार्टीको उम्मेदवार हो । पार्टीको विधान र दल सम्बन्धी कानुन अनुसार त्यो उम्मेदवारमाथि पार्टीको अधिकार हुन्छ ।’
तर, दलको चुनाव चिह्न लिए पनि उम्मेदवार भने स्वतन्त्र रहने बताउँछन् राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता ढकाल । भन्छन्, ‘हाम्रो सदस्य नभएर चुनाव चिह्न मात्र लिएका उम्मेदवारलाई राजनीतिक रूपमा हामीले स्वतन्त्र नै भन्छौं ।’
स्वतन्त्र उम्मेदवारलाई साझा चुनाव चिह्न दिन र एउटै मुद्दा बोकेका स्वतन्त्र उम्मेदवारलाई नभिडाउन आफूहरूले भद्र सहमति गरेको बताउँछन् सायमी । सायमी भन्छन्, ‘उद्देश्य र मुद्दा एउटै भएपछि एउटै चुनाव चिह्न लिएर उठ्नुपर्छ भन्ने हाम्रो सोच हो । त्यही अनुसार स्वतन्त्रहरू एकै क्षेत्रमा नभिडुन् भनेर हामीले स्वतन्त्रको चुनाव चिह्नमा सम्झौता गरेका हौं ।’
घण्टी चुनाव चिह्न लिएर काठमाडौं १ बाट ‘स्वतन्त्र’ उम्मेदवारी घोषणा गरेका पुकार बम आफू स्वतन्त्र नै भएको बताउँछन् । ‘मैले उहाँहरूको चुनाव चिह्न मात्र प्रयोग गरेको हुँ । म स्वतन्त्र नै हुँ । मैले राष्ट्रिय स्वतन्त्र पार्टीको सदस्यता लिएको छैन’, बमले भने ।
चुनाव चिह्न भाडामा लगाइरहेका घिमिरेले आफ्नो पार्टी कागजी पार्टी मात्र भएको बताइरहेका छन् । तर, लौरो चुनाव चिह्न वितरण गर्ने संयोजकको भूमिकामा रहेका सुमन सायमी भने तत्कालका लागि स्वतन्त्र भनेर लौरो चुनाव चिह्न प्रयोग गरिए पनि भविष्यमा भने दल नै बनाउने योजना रहेको सुनाउँछन् । भन्छन्, ‘दलको विकल्प स्वतन्त्र होइनन् । भविष्यमा हामी पनि दल नै बनाउने योजनामा छौं ।’
हाम्रो नेपाली पार्टीले पाएको लौरो चुनाव चिह्न खारेजीको माग गर्दै निर्वाचन आयोगमा उजुरी समेत परेको छ । दलको चुनाव चिह्न लिएर समेत स्वतन्त्र भन्ने गरिएकोमा आपत्ति जनाउँदै काठमाडौं ५ र ९ बाट स्वतन्त्र उम्मेदवारी घोषणा गरेका विजय कँडेल तथा सुनिल रिजालले आयोगमा उजुरी हालेका छन् ।
हाम्रो नेपाल पार्टीको ‘लौरो’ चुनाव चिह्न लिएर आफूहरू स्वतन्त्र भएको दाबी गर्दै जनतालाई झुक्याएको कँडेल र रिजालले आफ्नो उजुरीमा लेखेका छन् ।काभ्रेपलाञ्चोक २ बाट स्वतन्त्र उम्मेदवारी घोषणा गरेका मनोज पण्डित दलको चुनाव चिह्न लिएर स्वतन्त्र उम्मेदवार भनिरहेकाहरूले जनतालाई झुक्याउँदै स्वतन्त्रकै बद्नामी गरेको भन्छन् । ‘दलको चुनाव चिह्न लिएर स्वतन्त्र भन्नु त स्वतन्त्रकै बद्नामी भयो’, पण्डितले भने ।
चुनाव चिह्न भाडामा लगाइरहेका यी दलहरूले निर्वाचन आयोगमा समानुपातिकको बन्दसूची पनि बुझाइसकेका छन् । स्वतन्त्र उम्मेदवारलाई आफ्नो चुनाव चिह्न दिएर समानुपातिकमा भोट बटुल्ने र उम्मेदवारले पनि दलको चुनाव चिह्न लिएर सजिलै जित्न सकिने अनुमान गरेका हुन सक्छन् ।
प्रतिक्रिया 4