
काठमाडौं । आईएमई र युनाइटेड नेशन क्यापिटल डेभलपमेन्ट फण्ड (यूएनसीडीएफ) बीच अनुसन्धान गर्ने विषयमा समझदारी भएको छ । समझदारी अनुसार सूचना प्रविधिको विकाससँगै डिजिटल वालेटमा रेमिट्यान्सको आप्रवाह बढाउन दुवै सँस्थाहरूबीच सहकार्य हुनेछ । यो सम्झौता विशेषतः महिला रेमिट्यान्स प्राप्तकर्ताहरूका समस्या र ती समस्याहरूको न्यूनीकरणमा बढ्ता केन्द्रित हुनेछ ।
डिजिटल वालेटमा महिलाको पहुँच अभिवृद्धि गर्न र ग्रामिण क्षेत्रमा रहँदै आएको बैंकिङ पहुँचको कमजोर अवस्थामा सुधार ल्याउन समेत यो समझदारी उपयोगी हुनेछ । महिलाहरूको वित्तीय पहुँच अभिवृद्धि गर्ने उद्देश्य समेत यो समझदारीमा समेटिएको छ । यस समझदारीपछि नेपाल सरकारले अघि सारेको डिजिटल नेपाल र वित्तीय समावेशीकरणमा थप सहयोग पुग्ने विश्वास दुवै संस्थाले लिएका छन् ।
आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले आईएमईका सुरुवाती दिनको स्मरण गर्दै रेमिट्यान्स सेवा उद्यमको रूपमा विकसित भई नागरिकको शिक्षा, स्वास्थ्य लगायतका गुणस्तरीय जीवनयापनको माध्यम बन्नुका साथै राष्ट्रको अर्थतन्त्रको मुख्य स्रोत बनेको बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै आईएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले आईएमई ग्रुपले सुरक्षित भुक्तानीका लागि पूर्वाधारहरू निर्माण गरिरहेको जानकारी दिँदै यूएनसीडीएफसँगको यो सहकार्यले वैदेशिक रोजगारीमा गएका सम्पूर्ण परिवारहरूलाई रेमिट्यान्स सेवाका लागि डिजिटल वालेटमा आकर्षित गर्ने विश्वास व्यक्त गरे ।
सन् २०२१ को सुरूवातदेखि आईएमई र यूएनसीडीएफले वैदेशिक रोजगारीमा गएका परिवारको हितका लागि सहकार्य गर्दै आइरहेको कम्पनीले बताएको छ ।
प्रतिक्रिया 4