
५ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणित नगर्नु संविधान विपरीतको कदम भएको बताएका छन् ।
बुधबार फेसबुकमा स्टाटस लेख्दै उनले नागरिकताका विषयमा विभिन्न विचार र दृष्टिकोण भए पनि संविधान अनुसार राष्ट्रपतिले प्रमाणीकरण गर्नैपर्ने बाध्यता रहेको बताएका हुन् । ‘हामी के कुरामा पनि स्पष्ट छौं भने राष्ट्रपतिलाई संविधानको उलङ्घन गर्ने छुट हुन सक्दैन । राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणित नगर्नु संविधान बिपरितको गलत कदम हो’ श्रेष्ठले लेखेका छन् ।
नागरिकता विधेयकका बारेमा समाजमा विभिन्न दृष्टिकोण र विचार रहेको भन्दै नेता श्रेष्ठले विधेयकमा रहेको कतिपय लैङ्गिक विभेद र वैवाहिक अङ्गीकृत नागरिकता प्राप्त गर्ने प्रावधानका विषयमा नेकपा माओवादी केन्द्र र आफ्नोसमेत असहमति रहेको बताएका छन् ।
‘हाम्रा विचारहरु राष्ट्रपतिज्यूले सरोकार देखाउनुभएका कतिपय विचारहरुसंग पनि मेल खान्छन्’ उनले लेखेका छन् । यति भन्दै उनले संघीय संसदले पारित गरेर पठाइसकेको विधेयक राष्ट्रपतिले प्रमाणीकरण नगर्नु भने असंवैधानिक भनेका हुन् ।
प्रतिक्रिया 4