
काठमाडौं । २०७२ सालमा नेपालमा गएको विनाशकारी भूकम्पमाथि नेटफ्लिक्सले निर्माण गरेको फिल्म ‘आफ्टरसक : एभरेस्ट एण्ड द नेपाल अर्थक्वेक’को पहिलो सिजनको ट्रेलर सार्वजनिक भएको छ ।
डकुसिरिज जनरामा राखिएको यो श्रृंखला तीन सिजनसम्म निर्माण भएको हो, जसलाई बेलायती फिल्ममेकर अली लाम्बार्टले निर्देशन गरेका हुन् ।
कोरोना महामारीको समयमा २५ जना अर्थक्वेक सर्भाइभरसँगको संवादमा आधारित सिरिजको ट्रेलर मर्मस्पर्शी र सशक्त लाग्छ । डकुमेन्ट्रीको नेपाली निर्माताको रुपमा फिल्ममेकर एवं महिला अधिकारकर्मी पूजा पन्त छिन् ।
सबैजसो प्राविधिक नेपाली रहेको फिल्मको नेपाल छायांकन चाहिं विष्णु कल्पित र विकिल स्थापितले गरेका हुन् । ‘भूकम्पको समयको फुटेजलाई समावेश गरिएको छ । स्टुडियो बनाएर पनि खिचेका छौं,’ निर्मात्री पन्तले अनलाइनखबरसँग भनिन् ।
काठमाडौं, लाङटाङ र सगरमाथा क्षेत्रमा फिल्म छायांकन गरिएको हो । पहिलो सिजन दशैं टीकाको भोलिपल्ट अर्थात् असोज २० गते (अक्टोबर ६) मा नेटफ्लिक्समा डकुसिरिज रिलिज हुँदैछ ।
२०७२ वैशाख १२ गते र २९ गते गएको शक्तिशाली भूकम्पमा परी नेपालमा झण्डै १० हजार जनाले ज्यान गुमाएका थिए भने लाखौं घर क्षतिग्रस्त बनेका थिए ।
प्रतिक्रिया 4