
काठमाडौं । गायक नवीन के भट्टराई चंगाका सौखिन हुन् । उनका लागि दशैंको सुरुवात भन्नु नै चंगा हो । यस वर्षको दशैंमा अस्ट्रेलियाको सांगीतिक यात्रामा बित्ने भएपछि भट्टराईले नेपाल छाड्नु अगावै चंगा उडाउने रहर पूरा गरे ।
काठमाडौं बानेश्वरमा चंगा उडाउँदै गरेका नवीन भन्छन्, ‘यसपालि दशैंमा विदेश हुन्छु । त्यही भएर अहिले नै चंगा उडाउँदैछु ।’
नेपाल हुँदा हरेक दशैंमा चंगा उडाउने भट्टराईले गत वर्ष पूर्वराजा ज्ञानेन्द्रका नाति हृदयन्द्रसँग मिलेर चंगा उडाएका थिए । चंगाका सौखिन भट्टराई आफूलाई बुबाले चंगा उडाउन सिकाएको बताउँछन् । भन्छन्, ‘मलाई बुबाले नै चंगा उडाउन सिकाउनुभएको हो ।’
बुबासँग चंगा उडाउन सिकेका भट्टराई आफ्नो छोरालाई पनि चंगा उडाउन सिकाउँछन् । ‘मैले जसरी बुबासँग चंगा उडाउन सिके त्यसरी नै मेरो छोरालाई चंगा उडाउन सिकाउँछु,’ भट्टराई गफिए, ‘नानीबाबुसँग चंगा उडाऊ मज्जा आउँछ ।’
काठमाडौं उपत्यका घरैघरैले भरिएपछि चंगा उडाउने ठाउँ नभएकोमा उनी बेलाबेला दुःखमनाउ गर्छन् । ‘अहिले त अब चंगा उडाउन ठाउँ नै छैन । सबैतिर घर मात्र छन् । पहिला त सबैतिर चौर र खेत हुन्थ्यो,’ भट्टराईले सम्झिए । स्कुल पढ्दा दशैं आउनु एक महिना अगाडिदेखि नै चंगा उडाउने गरेको सम्झिन्छन् उनी ।
‘स्कुलमा हुँदा पनि हामी आज त हावा चलेको छ, चंगा मज्जाले उड्छ है भनेर साथीभाइसँग कुरा गर्थ्यौं,’ नवीन सम्झिन्छन्, ‘स्कुल सकिने बित्तिकै चंगा उडाउन सुरु गर्थ्यौं । आकाशभरि चंगा हुन्थे ।’
चंगा चैट गरेर चंगा र धागो टिप्न दौडिंदा कुकुरले लखेटेको, पर्खाल चढ्दा बारुलाले टोकेको सम्झना ताजै छ भट्टराईको मनमा । उनी सुनाउँछन्, ‘धागो, चंगा लुट्न दौडिंदा कुकुरले लखेट्थ्यो । खेतबारी र पर्खालमा बारुलाले टोक्थ्यो । अब यस्तो मज्जा कहाँ ?’
चंगा उडाउने उनको मोह कतिसम्म थियो भने रेडियो नेपालबाट साँझ सात बजेको समाचार सुनेर उनी पछिल्लो दिनको मौसमको जानकारी लिन्थे । ‘साँझ सात बजेको समाचारमा पछिल्लो दिनको मौसम भन्थ्यो,’ भट्टराई सम्झिन्छन्, ‘मौसम सफा हुन्छ भनेपछि चंगा उडाउन पाइने भयो भनेर हामी खुसी हुन्थ्यौं ।’
४८ वर्षीय भट्टराईले एक सुकादेखि १०० रुपैयाँसम्मका चंगा किनेका छन् । ‘अहिले महंगो भयो चंगा त्यतिखेर त बंगाली र लखनऊका उस्तादले चंगा बनाउँथे । ती चंगा १ सुकादेखि एक रुपैयाँसम्मका हुन्थे,’ नवीन सुनाउँछन् । दशैंमा नयाँ लुगाभन्दा पहिला नयाँ चंगा खोज्थे । नयाँ पुस्ताले चंगा उडाउन छाडेकोमा भने उनलाई गुनासो छ । ‘हामी बच्चा हुँदा आकाशभरि चंगा हुन्थे । चंगा हेरेरै दशैं आयो भन्थे । अहिलेको जनेरेसन त सबै गेम मोबाइलमा खेल्छन् ।’
प्रतिक्रिया 4