
६ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको काम स्वेच्छाचारिताको पराकाष्ठा भएको बताएका छन् । सरकारले प्रधानन्यायाधीशलाई नजरबन्दमा राखेको र उनकी छोरीलाई दिनभर थुनेको उनको आरोप छ ।
पूर्वप्रहरी प्रमुख सर्वेन्द्र खनाल लगायतलाई पार्टी प्रवेश गराउँदै ओलीले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बचाउ गरे । सभामुखले ६ महिनासम्म बदनियतपूर्वक महाअभियोग रोकेर राखेको भन्दै ओलीले संसदको कार्यकाल सकिएसँगै त्यो सकिएको उनले बताए । ओलीले भने, ‘घरमा थुनेर राख्नु, नजरबन्दमा राख्नु राज्य आतंकको पराष्काष्ठा हो ।’
जबराकी ‘छोरी’ काम विशेषले घरबाट बाहिर निस्कन खोज्दा दिनभरि थुनेर छाडेको ओलीको दाबी छ । ‘गृहमन्त्रीको पदमा २/४ महिना पुग्यो भन्दैमा मनपरी गर्ने ?’ उनले भने, ‘प्रधानमन्त्रीले जवाफ दिनुपर्छ, कुन कानुनले प्रधानन्यायाधीशलाई विना पक्राउ पुर्जी नजरबन्दमा राख्नुहुन्छ ।’
पञ्चायतकालमा पनि यस्तो नहुने भन्दै उनले भने, ‘सरकारको यो उद्दण्डता, स्वेच्छाचारिता कुनै पनि नागरिकतामाथि पर्न सक्छ ।’
उनले आफू सरकारमा हुँदा इनफ इज इनफको नारा लगाउनेहरु अहिले कता गए भनेर प्रश्न समेत गरे । ‘मोर देन इनफ भनेको यो हो’ एमाले अध्यक्ष ओलीले भने, ‘इनफ इज इनफ भनेर किन कोही बोल्दैनन् ? सबै प्रायोजित कुरामा देश चलाउन खोजिएको छ ।’
प्रतिक्रिया 4