
६ असोज, पोखरा । काठमाडौंको एउटा परिवारमा छोरी भएर जन्मिन्छिन्, एलिना भण्डारी । महिला यौनांगसहित जन्मिएकाले उनलाई परिवारले छोरीमात्र मान्छ । तर, जति उमेर बढ्दै गयो भण्डारी उति अरु युवतीभन्दा फरक स्वभावको पाउन थाल्छिन् ।
उनका उमेरका युवती पुरुषप्रति आकर्षित हुन्थे । तर, उनी ठीक उल्टो थिइन् । यौनांग महिलाको भए पनि उनीभित्रको हार्मोन पुरुषको थियो । अंगको बनावट र मनोविज्ञानको बेमेलले लामो समयसम्म लखेटिरह्यो ।
उनी एलिना होइन, एलेन बन्न चाहे । आफ्नो पाठेघर फाले, स्तन फाले । स्वरुप पुरुषको बनाए पनि आवाज महिलाकै थियो । ‘…त्यसपछि मैले पुरुष हार्मोन थेरापी गर्न थालें । त्यसले मेरो दाह्रीजुंगा पलाउन थाल्यो, स्वर पनि धोद्रो हुन थाल्यो,’ बिहीबार पोखरामा भएको एक कार्यक्रममा उनले भने ।
भण्डारी आफूलाई पहिलो ‘ट्रान्सम्यान’ दावी गर्छन् । एलिनाबाट लिंग परिवर्तन गरेर एलेन बनेपनि नागरिकता अनुसार उनी महिला नै हुन् । ‘नाम परिवर्तन गर्न पनि गाह्रो रहेछ नेपालमा, आधिकारिक एलिना भए पनि एलेन भनेर नै आफूलाई चिनाउन रुचाउँछु,’ ब्लु डायमन्ड सोसाइटीका प्रोग्राम अफिसर (कार्यक्रम अधिकृत) समेत रहेका उनले सुनाए ।
****
सर्वोच्च अदालतले पहिलो पटक सन् २००७ मा नागरिकलाई पहिचानसहितको मौलिक अधिकार र स्वतन्त्रताको उपभोग गर्न नदिने सबै कानुन भेदभावपूर्ण मानिने व्याख्या गरेको थियो ।
हाल नेपालमा यौनिक तथा अल्पसंख्यक व्यक्तिलाई नागरिकतामा ‘अन्य’ भन्दै नागरिकता दिने व्यवस्था छ । नेपालमा पारलैंगिक समुदायलाई नागरिकता सन् २०१३ र राहदानी २०१५ बाटमात्रै दिन सुरु गरिएको थियो । तर, उक्त नागरिकता लिन पनि सहज नभएको अधिकारकर्मीको गुनासो छ । भण्डारीका अनुसार हालसम्म नेपालमा ‘अन्य’ लैंगिक पहिचानबाट जम्मा १ सय ८३ जनाले नागरिकता लिएका छन् ।
पारलैंगिक व्यक्तिले आफूहरुको लैंगिक पहिचानका आधारमा नागरिकता लिन नसक्नुको मुख्य कारण भने कानुनी झञ्झट नै हो । नागरिकता लिन उनीहरुले मेडिकल प्रमाण देखाउनुपर्ने हुन्छ ।
‘कानुन नै विभेदकारी छ । हामीले आफ्नो पहिचानबाट नागरिकता लिन पनि सर्वाङ्ग नांगो भएर मेडिकल प्रुफ बुझाउनुपर्छ । त्यो पनि लिंग परिवर्तन गरिएको अवस्थामात्रै,’ नौलो बिहानी संस्थाकी प्रमुख रजनी थकाली ‘फुपू’ प्रश्न गर्छिन्, ‘नागरिकता लिन पनि नांगिनुपर्ने ? हामी नागरिक होइनौं ? नागरिकता नै नपाउने गरी के अपराध गरेका छौं ?’
लिंग परिवर्तन गर्न पनि पारंलैंगिक समुदायलाई सहज नभएको उनीहरु बताउँछन् । राज्य, समाज र परिवारबाटै अवहेलनामा पर्दा आर्थिक अवस्था कमजोर हुने र लिंग परिवर्तन पनि खर्चालु हुने उनीहरुको भनाइ छ ।
‘हाम्रो समुदायका अधिकांश व्यक्ति आर्थिक रुपमा कमजोर छन् । त्यसमाथि सहज रुपमा पनि पाइँदैन । यस्तो बेला कसरी लिंग प्रत्यारोपण गरेर नागरिकता लिने ?’ थकाली भन्छिन् ।
सामाजिक अवहेलनाकै कारण पनि थुप्रै पारलैंगिक समुदायका व्यक्तिहरु बाहिर आउन नचाहेको ब्लु डायमण्ड सोसाइटीका कार्यक्रम अधिकृत एलेन भण्डारीको अनुभव छ ।
‘हामीलाई मान्छेकै व्यवहार गरिँदैन । चरम अवहेलना खेप्नुपर्छ । समाजको दृष्टिकोण नै गलत भएकाले पनि धेरै बाहिर आउन चाहँदैनन्’, उनी भन्छन्, ‘त्यही तनाव खेप्न नसकेर थुप्रैले आत्महत्या गरेको उदाहरण पनि छन् ।’
शौचालयदेखि स्वास्थ्य संस्थाहरु पनि पारलैंगिकमैत्री नहुँदा थुप्रै तनाव खेप्नुपरेको भण्डारी सुनाउँछन् । ‘म बाहिरबाट अहिले पुरुष नै देखिए पनि मेरो यौनांग महिलाकै हो । सार्वजनिक शौचालयहरु ‘जेन्डर न्युट्रल’ नहुँदा थुप्रै समस्या म आफैंले भोगेको छु’, उनले भने, ‘उनीहरुलाई छुट्टै शौचालय बनाउनुपर्छ भन्ने होइन । तर, न्युट्रल शौचालय आवश्यक छ ।’
भण्डारीले शौचालयमा झैं स्वास्थ्य संस्थामा पनि समस्या भोगेका छन् । नेपालका सबै अस्पताल, स्वास्थ्यचौकीहरु पारलैंगिकमैत्री नहुँदा समस्याहरु लुकाएर बस्नुपर्ने बाध्यता रहेको उनी सुनाउँछन् ।
‘एलजिबिटिक्यूबारे जानकारी भएका चिकित्सक एकदमै कम छन् । उनीहरुले हामीलाई उपचार गर्नै चाहँदैनन्’, उनले भने, ‘केही समस्या आयो भने पनि दश पटक सोच्नुपर्ने हुन्छ ।’
नौलो बिहानीकी शेरचन राज्यबाट आफूहरुलाई विभेद गरिएको बताइन् । राज्यबाट आउने सेवा, सुविधाबाट आफूहरुलाई वञ्चित गरिएको उनको बुझाइ छ । ‘हामीलाई राज्यले नै फरक व्यवहार गर्छ । सेवा, सुविधाबाट वञ्चित गरेको छ । हामीलाई दया होइन, रेस्पेक्ट चाहिएको हो’, उनले भनिन् ।
प्रतिक्रिया 4