६ असोज, काठमाडौं । नेपाललाई घरेलु मैदानमा स्तब्ध पार्दै दक्षिण एसियाको नयाँ च्याम्पियन बनेपछि बंगलादेशी महिला फुटबल टिमको जोश दर्शनीय थियो । लामो प्रतीक्षापछि प्राप्त सफलतालाई स्मरणीय बनाउन उनीहरु दशरथ रंगशाला उपस्थित निराश घरेलु समर्थकसामु लामो समयसम्म खुसीमा झुमे ।
बंगलादेशले समूहचरणको आफ्नो पहिलो खेलदेखि नै सन्तुलित र आक्रामक प्रदर्शन गरिरहेको थियो । भारतलाई ३–० ले हराएर सेमिफाइनलमा पुगेदेखि नै बंगलादेशले आफूलाई प्रतियोगिताको बलियो दाबेदारका रुपमा प्रस्तुत गरिसकेको थियो ।
घरेलु दर्शक र वर्षाका कारण हिलाम्य पीचको बाधा तोडेर बंगलादेशले नेपाललाई ३–१ ले हराउँदै उपाधि जित्यो । दक्षिण एसियाली महिला फुटबलले छैटौं संस्करणमा दोस्रो च्याम्पियन टिम पायो । नेपाल पाँचौंपल्ट उपविजेतामा समेटियो ।
आफ्नो टिममा जितको आधार र आत्मविश्वासको श्रोतबारे बंगाली कप्तान सबिना खातुनले अनलाइनखबरसँग प्रष्ट खुलासा गरेकी छन् । सबिनाका अनुसार सात वर्षको तयारी र सरकारी प्राथमिकताले उनीहरुको टिममा सशक्त प्रदर्शनको आधार तय भएको हो ।
२०७२ वैशाख १२ गते दशरथ रंगशालामा एएफसी यू–१४ गर्ल्स रिजनल च्याम्पियनसिपको फाइनल खेल नेपाल र बंगलादेशबीच हुने तय थियो । खेल सुरु हुनुअघि नै महाविनाशकारी भूकम्प आएपछि त्यो खेल ८ महिनापछि पुसमा लगनखेलस्थित आर्मी मैदानमा आयोजना गरियो ।
नेपाललाई १–० ले हराएर बंगलादेश च्याम्पियन बन्यो । बंगलादेशले सोही टिममाथि निरन्तरता गरेको लगानी र एक्स्पोजरकै प्रतिफल गत सोमबार दशरथ रंगशालामा देखिएको हो । सात वर्षअघि उमेर समूहको प्रतियोगितामा नेपाललाई हराउने टिमका ८ जना सदस्य साफ उपाधि विजेता टिममा छन् ।

‘हामी २०१५ कै ब्याजले २०१६ को साफपछि लगातार प्रशिक्षण गरिरहेका छौं,’ पहिलोदेखि छैटौं साफ खेलेकी बंगाली टिमकी सबैभन्दा सिनियर खेलाडी कप्तान सबिना भन्छिन्, ‘हाम्रो टिमका अधिकांश खेलाडी निकै कमजोर अवस्थाबाट यहाँसम्म आएका छन् । निरन्तरको मिहिनेत र प्रशिक्षणले नै हामीलाई यो सफलता दिएको हो ।’
बंगलादेशले राष्ट्रिय महिला टिम निर्माण गरेको सन् २००९ मा हो । १३ वर्षको अन्तर्राष्ट्रिय इतिहासमा दक्षिण एसियाली च्याम्पियन बनेको उसले झण्डै चार दशकको नेपाली महिला फुटबल इतिहासलाई पछि पारेको हो ।
स्थायी प्रशिक्षक र लगानी
बंगलादेशको युवा टोलीले निकालेको यो सफलताअघि उमेर समूहमा उनीहरुले सशक्त प्रदर्शन गरिसकेका थिए । सन् २०१७ को एएफसी यू–१६ वुमेन्स च्याम्पियनसिपको फाइनल चरणमा पुगेको यो टिमले सोही वर्ष साफ यू–१५ च्याम्पियनसिपमा उपाधि जितेको थियो ।
सन् २०१८ मा साफ यू–१८ उपाधि जितेको उसले सन् २०१९ मा बंगमाता यू–१९ प्रतियोगिता र सन् २०२१ मा यू–१९ साफको उपाधिसमेत जितेको थियो ।

महिला फुटबलमा बंगलादेश फुटबल संघको प्रथमिकताकै प्रतिफल सिनियर टिमले दिएको यो नतिजा भएको सबिना बताउँछिन् । ‘हामी २०१९ मा सेमिफाइनलमा हारेर घर फर्कियौं । त्यतिबेला सबैले किन नतिजा आएको छैन भनेर सोध्नुभएको थियो । त्यतिबेला नै मैले भनेकी थिएँ, यो टिमलाई चार पाँच वर्ष दिनुस् नतिजा आउँछ ।’
यो सफलताका लागि टिमको प्रशिक्षण टिमको भूमिका पनि उत्तिकै छ । खेलाडी अनुशासित छन् । प्रतियोगिताको च्याम्पियन टिमले नै साफ महिला च्याम्पियनसिपमा फेयर प्ले अवार्ड जितेको थियो । प्रशिक्षण अवधिमा कप्तानबाहेक कुनै खेलाडीलाई मोबाइल बोक्ने छुट हुँदैन । ‘ध्यान विकेन्द्रित नहोस भनेर प्रशिक्षक सरले यसो गर्नुभएको हो,’ सबिना भन्छिन् ।
प्रशिक्षक गोलम रोब्बानी छोटोनले २००९ देखि महिला राष्ट्रियदेखि उमेर समूहको सबै टिम हेरिरहेका छन् । कुन खेलाडीलाई कहाँ खेलाउँदा उचित हुन्छ र खेलाडीको विशेषता के हो उनले राम्रोसँग बुझेका छन् । ‘कुन खेलाडीमा कस्तो क्षमता छ, प्रशिक्षकले एकदम राम्रोसँग बुझ्नु हुन्छ र मैदानमा त्यहि अनुसार खेलाउनु हुन्छ,’ सबिना भन्छिन्, ‘सेमिफाइनलबाट बाहिरिएको तीन वर्षमा हामी च्याम्पियन भयौं । यो हाम्रो धेरै ठूलो सफलता हो ।’
दक्षिण एसियामा बलियो मानिएको भारत र नेपाललाई हराएर उपाधी जित्नु बंगलादेश महिला फुटबल विकासको सकारात्मक संकेतका रुपमा उनले बुझेकी छन् ।

बंगलादेशको महिला तथा पुरुष टिम र हरेक उमेर समुहको खेलको विकास हुनुको मुख्य कारण नै फेडेरेसनको प्राथमिकता हो । ‘अध्यक्ष काजी सल्लाहउद्धिनले प्रशिक्षणमा कुनै पनि कमी हुन दिनुभएन । कमजोर आर्थिक अवस्थाबाट आएका खेलाडीले पनि राम्रो प्रशिक्षण पाउन सके,’ सबिना भन्छिन् ।
महिला फुटबल काउन्सिलकी अध्यक्ष मफुजा अख्तर किरोन बंगलादेश महिला फुटबल विकासकी महत्वपूर्ण हिस्सा हुन् । उनी विश्व फुटबल महासंघ (फिफा) काउन्सिलर तथा एसियाली फुटबल महासंघ (एएफसी)की सदस्य पनि हुन् । सबिनाले यसपल्ट टिमको सफलतामा टेक्निकल डाइरेक्टर पल स्मेलीको भूमिकालाई पनि नजरअन्दाज गर्न नहुने बताइन् ।
अनुभवी कप्तान
राष्ट्रिय टिममा १२ वर्ष खेलेकी सबिनाको अनुभव र नेतृत्वदायी क्षमता यस संस्करणको साफ महिलामा पनि देखियो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ता बनेर उनले बंगाली टिमको अग्रपक्तिमा रहेर नेतृत्व गरिन् ।
उनीसँग खेललाई कहाँ कसरी खेल्ने र आफ्नो टिमको खेलाडीलाई कसरी जोडेर राख्ने उनी राम्रोसँग बुझेकी छन् ।
‘म मेरो टिमका खेलाडीहरुको बारेमा राम्ररी जान्दछु । एउटै टिममा खेलेको ७ वर्ष भइसक्यो । कसलाई कहाँनेर कसरी उपयोग गर्ने भनेर सजिलो भएको छ,’ कप्तान र प्रशिक्षक बसेर हरेक खेलअघि विपक्षी टिमको विश्लेषण र रणनीति बनाउने गरेको भन्दै उनले थपिन्, ‘हामीले प्रतियोगितामा हरेक बलियो टिम भनिएका टिमको पहिलो खेल हेरेर नै हामी जित्न सक्छौ भन्नेमा पुगिसकेका थियौं । तर, हामीले लापरबाही गरेनौं ।’
फाइनलअघिको चार खेलमा सबिनाले दुई ह्याट्रिकसहित ८ गोल गरिन् । जसमा सेमिफाइनलमा भुटानविरुद्धको ह्याट्रिक पनि समावेश छ । समूहमा भारतलाई हराउँदा र फाइनलमा नेपाललाई हराउँदा उनले गोल गरिनन् । सायद यो पनि बंगलादेश टिमको रणनीतिको एउटा हिस्सा थियो ।

‘गोल गरेपछि मात्र नाम आउँछ । सधैं मैले नै गोल गर्नु पर्छ भन्ने छैन । मेरो टिमका अन्यले गर्छन् भने र टिमलाई जिताउँछन् भने मैले अवसर सिर्जना गर्दिनुपर्छ,’ सबिनाले भनिन् ।
उनले घरेलु फुटबलमा ८६ खेल खेल्दै २९३ गोल गरेकी छन् । २०१० मा बंगलादेशका लागि यू–१९ टिमबाट पनि खेलेकी थिइन् । उनले सन् २०१० र सन् २०१२ मा यू–१९ टिमबाट खेलेकी हुन् । यू–१९ मा उनले ५ खेल खेल्दै एक गोल मात्र गरेकी थिइन् । उनले बंगलादेशका लागि सिनियर टिमबाट ४९ खेल खेल्दै ३२ गोल गरेकी छन् ।
यस पटक नेपालको घरेलु मैदानमा भएको फाइनलमा दशरथ रंगशाला खचाखच भरिएको थियो, जसलाई देखेर बंगलादेशको ड्रेसिङ रुममा खेलाडीहरुको मानसिकता निकै कमजोर बनाएको तथ्य सबिनाले खुलाइन् ।
‘मोनिका मारिया त रोइसकेकी थिइन् । अब हामीले सक्दैनौं भनेर रुन थालिन् । उनी अझै परिपक्व भइ सकेकी छैनन्, खेलाडीले खेल्न खेललाई बुझ्नु पर्छ । उनीहरुले खेललाई बुझ्दै गएपछि मजाले खेल्न सक्छन्,’ त्यतिबेला कप्तान सबिनाले उनलाई छुट्टै राखेर सम्झाएकी थिइन् ।
उनी टिमम हरेक खेलाडीकी प्रिय छिन् । जसका कारण खेलाडीलाई परेको समस्या उनीसँग खुलेर भन्न सक्ने वातावरण टिममा छ । ‘टिममा सबै पक्षबाट राम्रो प्रयास भएका कारण यस पटक हामी सफल भयौं ।’ उनले भनिन् ।
प्रतिक्रिया 4