
६ असोज, काठमाडौं । नेपाल पत्रकार महासंघले समाचार संकलनका क्रममा दुई पत्रकारमाथि कुटपिट गरेकोप्रति भर्त्सना गरेको छ ।
महासंघका महासचिव रोशन पुरीले विज्ञप्ति जारी गरी अनलाइनपाना डटकमका पत्रकार नारायणप्रसाद अधिकारी र शालिक भट्टमाथि बुधबार सर्लाहीको बागमती नगरपालिकाबाट समाचार संकलन गरी फर्कने क्रममा कुटपिट गरेकोप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।
पूर्व-पश्चिम राजमार्गमा सवारी छेकेर पत्रकारद्वयमाथि ४–५ जनाको समूहमा आएका व्यक्तिहरूबाट निर्घात कुटपिट भएको महासंघले जनाएको छ ।
स्वतन्त्रपूर्वक सञ्चारकर्ममा जुटेका पत्रकारमाथि भएको कुटपिटको उक्त घटना निन्दनीय र प्रेस विरोधी हर्कत भएको महासंघको ठहर छ ।
कुटपिट घटनामा संलग्नको तत्काल पहिचान गरी कानुनी दायरामा ल्याउन र पत्रकारलाई सुरक्षाको प्रत्याभूति दिलाउन सम्बन्धित पक्षसँग महासंघले माग गरेको छ ।
यस्तै घटनाको सत्य तथ्य छानबिन गरी दोषीउपर कारबाही गर्न महासंघको सर्लाही शाखाले माग गरेको छ ।
प्रतिक्रिया 4