
७ असोज, काठमाडौं । टेकबहादुर गर्वुजा साथीहरुसँग मिलेर पोखराको रामबजारमा ग्लोबल ट्राभल्स नामक कम्पनी चलाउँछन् । उनीहरुको कम्पनीले म्याग्दीको पुन हिलमा प्याराग्लाइडिङ सञ्चालनका लागि तयारी गर्यो ।
अनुमतिपत्र लिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको एयर ट्राफिक कन्ट्रोल(एटीसी)शाखामा कम्पनीले तीन वर्षअघि निवेदन दिएको रहेछ ।
गर्बुजाले उक्त शाखामा कार्यरत कर्मचारीहरु शाखा अधिकृत(एरोनोटिकल इञ्जिनियर) तनुजा पोखरेल र उपसचिव प्रमोद नेपालसँग सम्पर्क गरे ।
उनीहरुले कम्पनी दर्ता प्रमाणपत्र, कर चुक्ता, शेयर लगत, बैंक ग्यारेन्टी लगायतका सबै कागजात पेश गरे । उनीहरुले कहिले सम्भाव्यता अध्ययन त कहिले बैंकको स्टेटमेन्ट मागेर गर्बुजा र चौलागाईंलाई झुलाइरहे । मागेको कागजात बुझाएर ताकेता गर्दा कर्मचारीले ‘अब तपाईंको काम हुन्छ’ त भने तर काम गरेनन् ।
१५ साउन २०७९ मा गर्बुजाको टोली मन्त्रालयको सम्बन्धित शाखामा गयो । त्यहाँ उपसचिव प्रमोद नेपाल भेटिए । उनीहरुले काम किन भएन भनेर सोधे ।
उपसचिव नेपालले भने, ‘तपाईंहरुको फाइल ठिक छ, कागजात पनि सबै राख्नुभएको छ, अब काम भइहाल्छ । तर माथिसम्म मिलाउनुपर्छ ।’
उपसचिव नेपालले फेरि आफ्नो डायरीमा रातो कलमले ‘७ लाख’ लेखे ।
गर्बुजाको टोलीले सोध्यो, ‘सर, ७ भनेको ७ हजार हो कि लाख हो ?’
उपसचिव नेपाल झोक्किए, ‘तपाईं फिगर अमाउन्टमा नबोल्नुस् । ७ लाख दिनुस्, १० दिनमा मै काम सल्टाइदिन्छु । ल जानुस् तयारी गर्नुहोस् ।’
गर्बुजाको टोली ‘हामी सल्लाह गरेर सरलाई फेरि भेट्छौं’ भनेर हिँड्यो ।
…
भोलिपल्ट अर्थात १६ साउन २०७९ मा राति ९ बजे गर्बुजाका साझेदार पूर्णप्रसाद चौलागाईंलाई मन्त्रालयकी शाखा अधिकृत तनुजा पोखरेलको फोन आयो । ‘मैले प्रमोद सरलाई फोन गरेकी थिएँ’, उनले भनिन्, ‘उहाँहरु(गर्बुजा र चौलागाई)लाई ह्याप्पी मुडमा आउनु भन्नु, म मिलाइदिउँला भन्नुभएको छ । भोलि बिहान ११ बजे मन्त्रालयमा आउनु ।’
उनीहरुले भोलिपल्ट मन्त्रालयमा गए । त्यहाँ शाखा अधिकृत तनुजा पोखरेल भेटिइन् । उनले ‘सरसँग सबै कुरा गरिसकेकी छु, तपाईंहरु एकछिन बस्नुहोस्, म सरसँग कुरा गरेर आउँछु’ भनी भित्र गइन । केहीबेरमा गर्बुजा र चौलागाईं उपसचिव प्रमोद नेपालको कार्यकक्षमा पसे ।
उपसचिव नेपालले आफ्नो टेबुलको घर्रामा रहेको प्याराग्लाइडिङको फाइल निकाले अनि ‘यहाँ कुरा नगरौं’ भन्दै अर्कोपट्टि रहेको बैठक कक्षमा लगे । उनले फाइल हेर्दै कुराकानी गर्न थाले, अनि ‘पहिले भनेकोमा एक घटाइदिन्छु, अहिले ल्याउनुस्, भोलि सल्टाइदिन्छु’ भनी जवाफ दिए । अनि ६ लाख रुपैयाँमा कुरा टुंगियो ।
गर्बुजा र चौलागाईं मन्त्रालयबाट निस्किए । त्यही दिन उनीहरुले अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा निवेदन दिए ।
त्यही दिन कार्यालय समय सकेर उपसचिव नेपाल साँझ सवा ५ बजे नागपोखरीस्थित अरण्ड बुटिक होटलमा पुगे ।
मन्त्रालयबाट पाएको हुण्डाई सान्ट्रो गाडी पार्किङमा राखेर उनी होटल छिरे ।
मन्त्रालयमा भएको सहमति अनुसार गर्बुजा र चौलागाईंले गाडीको ड्राइभर बस्ने सिट अगाडीको ड्यासबोर्डमा ६ लाख रुपैयाँ राखिदिए ।
उनीहरुले दिएको सूचनाको आधारमा अख्तियारको टोली पहिल्यै त्यहाँ थियो । उपसचिव नेपालले ६ लाख रुपैयाँ घूस लिन लागेको सूचना पाएको अख्तियारको टोलीले थप साढे १६ लाख रुपैयाँ भेट्यो ।
अरु पैसा कसले दिएको हो भन्नेबारे उपसचिव नेपालले केही खुलाएनन् । होटलबाट सीसीटीभी फुटेज मगाएर हेर्दा बीबी एयरवेजका प्रमुख कार्यकारी अधिकृत हरिभक्त श्रेष्ठले साढे १६ लाख रुपैयाँ दिएको खुल्यो ।
सेवाग्राही र उपसचिव प्रमोद नेपालको कुराकानीमा जोडिएकी एरोनोटिकल इञ्जिनियर तनुजा पोखरेलसँग पनि अख्तियारले बयान लियो ।
उनले आफूले घूस नमागेको र सहजीकरण पनि नगरेको जवाफ दिइन । उनका अनुसार, व्यवसायीहरुले इञ्जिनियर पोखरेललाई फोन गरेर उपसचिव नेपालले रकम मागेर दुःख दिएकाले सहजीकरण गरिदिनु भनेका रहेछन् । उनले राति नै उपसचिव नेपाललाई फोन गरिछन् ।
जवाफमा उपसचिव नेपालले ‘ह्यापी मुडमा मलाई भेट्न पठाइदिनु’ भनेको र त्यही कुरा आफूले व्यावसायीलाई बताइदिएको इञ्जिनियर पोखरेलले बयानमा खुलाएकी छन् ।
घूस लेनदेनका लागि भएको कुराकानी जस्ताको तस्तै
घूस लेनदेन हुनुभन्दा एक दिनअघि उनीहरुबिच कुराकानी भएको थियो । मन्त्रालयमा पुगेका गर्बुजा र चौलागाँईको टोलीलाई ढोका बन्द गर्न लगाएर उपसचिव नेपालले घूस मागेको अख्तियारको दावी छ । उनीहरुको कुराकानी सबै रेकर्ड भएको थियो ।
प्रमोद नेपाल (उपसचिव) : ढोका लगाउनु ।
टेक बहादुर गर्बुजा (व्यवसायी) : हिजो हामी राति आईपुग्यौं सर, दुख पाइयो साह्रै ।
प्रमोद नेपाल (उपसचिव) : तपाईंको त यहि हैन व्यवसाय ? ल भन्नुस, तपाईंहरुको के…भन्नुस ।
पूर्णप्रसाद चौलागाईं (व्यवसायी) : यस्तो छ, हामी त व्यवसाय गर्ने, सञ्चालन गर्ने, काम गरौं भन्ने लागेर ।
पूर्णप्रसाद चौलागाईं : हजुरहरुले चाँडो गरिदिए….हामीलाई, ३ वर्ष भईसक्यो सर ।
टेकबहादुर गर्बुजा : धेरै धाइयो, कति धेरै खर्च भईसक्यो ।
प्रमोद नेपाल : हजुरहरुले भन्नु भाको कि …मलाई भन्न मिलेन । तपाईंले मसित, मसँग तपाईंका भेट भएको छैन । तपाईंको धारणा के छ, त्यो सुनौं ।
(पहिलेदेखि नै अप्रत्यक्ष रुपमा घूस मागेका उपसचिव नेपालले ढोका थुनेपछि भने प्रत्यक्ष रुपमा रकम मागेका हुन् । त्यसमा व्यवसायीले रकम दिन आनाकानी गर्छन ।)
पूर्णप्रसाद चौलागाई : धारणा, हामीलाई जसरी हुन्छ काम चाहियो किनकि हामी त कानूनसम्मत….यत्रो ३ वर्ष भइसक्यो, भएन । कानून सम्मत केही डकुमेण्ट रोकिएको भए पनि हजुरहरुले यो छ भन्या भए त्यो गथ्यौं । अब हामीलाई चाँडो चाहियो, चाँडो गर्न के गर्नुपर्ने हो हजुरहरुले जे भन्नुहुन्छ त्यो गछौँ ।
टेकबहादुर गर्बुजा : अस्तिको बैंक स्टेटमेण्ट चाहिन्छ, त्यहि छ सर, सरले कुरा गर्नु भएको थियो ।
प्रमोद नेपाल : तिर्नु भएको पहिले होला । ए त्यही भन्नुभएको होला ।
पूर्णप्रसाद चौलागाईं : फेरि सर अब…. ।
टेकबहादुर गर्बुजा : फेरि माथि गएर रोकिन्छ कि ?
प्रमोद नेपाल : रोकिन्न नि । यति भनिसकेपछि मलाई विश्वास नगरेको जस्तो भइगयो नि ।
(माथिल्ला तहका कर्मचारीहरुले फेरी थप घूस खोज्ने हुन् कि भन्ने व्यवसायीको जिज्ञासामा उपसचिव नेपालले माथिल्लो तहमा काम नरोकिने भन्दै आश्वस्त बनाउँछन् ।)
प्रमोद नेपाल : जमानत हुन्छ । तपाईंको भएन भने सर्लक्कै फिर्ता हुन्छ अब के भन्नु ।
पूर्णप्रसाद चौलागाईं : सर ३ वर्ष लागेर हामी त कायल कायल भइसक्यौं ।
प्रमोद नेपाल : त्यति..नसोच्नुस, आज भोलि नै क्लियर गराइदिन्छु ।
टेकबहादुर गर्बुजा : अब के गरौं सर हामी….?
पूर्णप्रसाद चौलागाईं : पैसा सबै जुटाउनु पर्छ ।
टेकबहादुर गर्बुजा : कस्तो भने……७ लाख भन्दा त म.. त..। ७ लाख भन्दा त अलिकति ….कस्तो । भयो जस्तै लाग्यो ।
प्रमोद नेपाल : धेरै नै हाई भयो ?….ठाउँ छैन नि बढाउन पर्ने ।
पूर्णप्रसाद चौलागाईं : हामीले हात जोड्नु छ । मिल्छ भने …हामी पनि भोलि पर्सि ।
(उनले केही रकम घटाइदिन आग्रह गरेका हुन् ।)
प्रमोद नेपाल : यस्तो गर्नु न त, भइहाल्यो……वान(एक लाख रुपैयाँ) घटाएर दिनुस न त ।
पूर्णप्रसाद चौलागाईं : कति ?
प्रमोद नेपाल : वान घटाएर दिनुस के ।
(उपसचिव नेपालले एक लाख घटाएर ६ लाख दिनु भनेका छन् ।)
टेकबहादुर गर्बुजा : अनि वान घटाएर… हेण्ड टु हेण्ड गर्न मिल्छ कि ? मलाई त डाउट त्यस्तै लाग्यो त ।
(उनले पैसा दिएपनि काम नबन्ने हो कि भन्ने शंका गर्छन ।)
प्रमोद नेपाल (उपसचिव) : अहिले (मेरो) सहसचिव हुने बेला भईसक्यो । सिनियर म छु उपसचिव यहाँ । १० वर्ष भइसक्यो उपसचिव भाको । तपाईं कोसित कुरा गर्दै हुनुहुन्छ ?
टेकबहादुर गर्बुजा (व्यवसायी) : त्यो त ठीकै छ । तर कस्तो भने काम चाहिं हुनुपर्यो ।
प्रमोद नेपाल (उपसचिव) : भोलि गरौंला त्यसो भए ।
टेकबहादुर गर्बुजा (व्यवसायी) : हैन, हैन नरिसाउनु न ।
पूर्णप्रसाद चौलागाईं (व्यवसायी) : सर, कति नै ? ६ नै ?
प्रमोद नेपाल (उपसचिव) : नाई, नाई त्यो भन्दा सक्दिन म । (आफूले ६ लाख भन्दा घटाउन नसक्ने बताउँछन् ।)
टेकबहादुर गर्बुजा (व्यवसायी) : ६ लाख नै गर्ने त ?
पूर्णप्रसाद चौलागाईं (व्यवसायी) : कहिले ?
प्रमोद नेपाल (उपसचिव) : भोलि गर्दिनुस, बुझ्नु भो ?
पूर्णप्रसाद चौलागाईं (व्यवसायी) : ए भोलि गर्दिनु ।
प्रमोद नेपाल (उपसचिव) : अँ ।
पूर्णप्रसाद चौलागाईं (व्यवसायी) : हामी त आज सकाएर उहाँलाई पठाइदिउँ कि भनेर ।
(पूर्णप्रसादले आफ्ना हिस्सेदार गर्बुजा काम बनेपछि पोखरा जान खोजेकाले आजै काम सकाउँ र गर्बुजालाई पोखरा जान दिउँ भनेका हुन् ।)
प्रमोद नेपाल (उपसचिव) : मलाई आजै गर्दिनु न त ।
(उनले रकमलाई संकेत गरेका हुन् ।)
पूर्णप्रसाद चौलागाईं (व्यवसायी) : आजै गरौं, काम सकाएर फर्किनु न त ।
पूर्णप्रसाद चौलागाईं (व्यवसायी) : यस्तो गरौं न त । हामी सकभर छिटो गरौं ।
प्रमोद नेपाल (उपसचिव) : पहिले छिटो भन्दा पनि…..तपाईंले मलाई आज भेट्नुस वा भोलि फस्ट आवरमा ।
टेकबहादुर गर्बुजा (व्यवसायी) : आजै सकभर हामी पहिल्यै पैसा जम्मा गर्छौ, ६ लाख ।
प्रमोद नेपाल (उपसचिव) : अँ…फोन गर्नुस न । हेर्नुस….१० वर्ष भइसकेको छ । मैले तपाईंलाई ठगें भने….इन केस….ठगेँ भने टिक्छु होला ? (निलो कोट देखाउँदै) यो कोट लगाएको मान्छेको मुल्य ६ लाख हुन्छ होला ? ६ लाख हुन्छ ?
यो कुराकानीका आधारमा उनीहरुबीच घुसलेनदेन हुन्छ । उपसचिव नेपाललाई अख्तियारले रंगेहात पक्राउ गर्छ । उनी विरुद्धको रंगेहात घूस मुद्दा विशेष अदालतमा पुगेको छ ।
प्रतिक्रिया 4