
काठमाडौं । ईसेवा मनी ट्रान्सफरले ‘मेरो डिजिटल देश’ अभियान सार्वजनिक गरेको छ । डिजिटल रेमिट्यान्सको माध्यमबाट रेमिट्यान्स पठाउँदा लाग्ने शुल्क कम गर्दै थप रेमिट्यान्स भित्राएर देशलाई समुन्नत बनाउन यो अभियान सार्वजनिक गरिएको कम्पनीले बताएको छ ।
कम्पनीले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको ‘मेरो डिजिटल देश’ अभियान ७ असोजदेखि सुरु भएर ६ फागुन २०७९ सम्म लागू हुने जनाएको छ । परम्परागत शैलीमा हुँदै आएको रेमिट्यान्स कारोबारलाई डिजिटाइजेसन गर्ने अभिप्रायका साथ यो अभियान सुरु गरिएको कम्पनीको भनाइ छ ।
यस योजना मार्फत डिजिटल रेमिट्यान्सलाई थप बढावा दिन देशको आर्थिक स्थिति बलियो बनाउन र देशमा विदेशी मुद्राको सञ्चितलाई थप मजबुत बनाउनका लागि पनि ६ महिने यस योजना सार्वजनिक गरिएको कम्पनीको भनाइ छ ।
“मेरो डिजिटल देश” अभियान अन्तर्गत संसारका जुनै पनि मुलुकमा रहेका नेपालीहरुले नेपालमा इच्छाएको व्यक्तिको बैंक खाता अथवा ६० लाख भन्दा बढी प्रयोगकर्ता भएको इसेवा वालेटमा पैसा पठाई सहभागिता जनाउन सक्ने कम्पनीले बताएको छ ।
यस अभियानमा मासिक रुपमा १ जनाले ६ महिनासम्म आकर्षक पुरस्कारहरुको प्याकेज तथा बम्परमा १ जनाले काठमाडौंमा सुविधा सम्पन्न घर प्राप्त गर्ने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
ईसेवा मनी ट्रान्सफरका जनरल मेनेजर सागर खनालले रेमिट्यान्स नेपाली अर्थतन्त्रकै महत्त्वपूर्ण हिस्सा भएको भन्दै विदेशबाट पैसा पठाउने नेपालीले देश विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।
कम्पनीका अनुसार यो अभियानमा नायक राजेश हमाल समेत जोडिएका छन् । उनले देश तथा विदेशमा गएर डिजिटल रेमिट्यान्सकाबारेमा जानकारी गराउने छन् । अभिनेत्री स्वस्तिमा खड्काले पनि प्रवर्द्धनात्मक विभिन्न कार्यक्रममा सहभागी हुने कम्पनीले जनाएको छ ।
ईसेवा मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेस कोइरालाले यो अभियानमा विश्वको जुनसुकै ठाँउमा रहेका नेपालीहरु सहभागी हुने र देश डिजिटल बनाउनमा योगदान पुर्याउने बताए ।
प्रतिक्रिया 4