+

राष्ट्रिय टिमबाट बाहिरिएका नवयुग सहितका खेलाडी असन्तुष्ट

२०७९ असोज  ७ गते १८:१८ २०७९ असोज ७ गते १८:१८
राष्ट्रिय टिमबाट बाहिरिएका नवयुग सहितका खेलाडी असन्तुष्ट

७ असोज, काठमाडौं । कार्यवाहक प्रशिक्षक प्रदिप हुमागाईं बंगलादेशसँग हुने मैत्रीपूर्ण खेलका लागि नेपाली टोली घोषणा गर्दा स्ट्राइकर नवयुग श्रेष्ठ अटाएनन् ।

हुमागाईंले नवयुग राष्ट्रिय टिममा पर्न योग्य भएको तर केही कारणले गर्दा टोलीमा नपरेको बताएका थिए ।

नवयुगले पनि असन्तुष्ट पोखेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा चलखेलकै कारण आफू टोलीमा नपरेको तर्क गरेका छन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘रोगको लक्षण : विदेशी हुँदा भित्र, स्वदेशी हुँदा बाहिर । रोगको नाम : चलखेल ।’

नवयुगप्रति समर्थन जनाउँदै केही खेलाडीले उनको पोष्ट शेयर पनि गरेका छन् ।

नेपाली टिममा खेल्दा खेल्दै बाहिरिएका दर्शन गुरुङले पनि ‘सत्य’ भन्दै उनको पोष्ट सेयर गरेका छन् । पछिल्लो समय यू–२० को कप्तानी गरेका, तर अनुशासनहीन काम गरेको भन्दै बाहिरिएका युवा खेलाडी आयुष घलानले पनि उनको पोष्ट सेयर गरेका छन् ।

नवयुगप्रति समर्थन जनाउने अधिकांश खेलाडी तिनै हुन्, जसले तत्कालीन प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको दुव्र्यवहारका कारण १० जनाले टिम छाड्दा अवसर पाएका थिए ।

नवयुगकै कप्तानीमा अल्मुताइरीले नेपाललाई एशिया कप छनोटमा मैदान उतारेका थिए । तर अल्मुताइरीको अनुपस्थितिमा नेपालको कार्यवाहक प्रशिक्षक बनेका हुमागाईँले विवादका कारण बन्द प्रशिक्षण छाड्न बाध्य पारिएका १० जना खेलाडीलाई टोलीमा पुनरागमन गराए पनि नवयुगलाई समावेश गरेनन् ।

त्यो बेला टिममा रहेका पुजन उपरकोटी क्लोज क्याम्पका लागि बनाइएको ३० जनामै परेनन् ।

अहिले टिममा नरहेका एक खेलाडीले आफूहरुप्रति विभेदपूर्ण व्यवहार भएको दाबी गरे । ‘डेंगुका कारण अस्पतालमा भर्ना भएका र घाइते भएका खेलाडीको नाम पनि टिममा प¥यो,’ नाम उल्लेख नगर्ने शर्तमा ती खेलाडीले अनलाइनखबरसँग भने, ‘हामीले दिनकै प्रशिक्षणमा रहँदा पनि मौका नै पाएनौं ।’

आफूहरु फिट भए पनि अनफिट भनेर प्रशिक्षणकै क्रममा पनि फरक व्यवहार गरेको ती खेलाडीले गुनासो गरे । ‘हामी केही पूर्ण फिट हुँदाहुँदै पनि हामीलाई कोचले अभ्यासका क्रममा कम अवसर दिइयो’, उनको दाबी छ ।

प्रशिक्षक हुमागाईंले प्रशिक्षणको सुरुवातमै २/३ जना सिनियर खेलाडीसँग सल्लाह गरेर अन्य खेलाडीलाई फरक व्यवहार गरेको आरोप उनको छ । उनले अगाडि भने, ‘मलाई त प्रशिक्षणको समयमै म टिममा पर्दिन कि भन्ने लागेको थियो । किनकी उहाँले गर्ने व्यवहार एकदमै फरक थियो ।’

नवयुगले भने प्रशिक्षणका क्रममा भएको व्यवहार बारे बोल्न मानेनन् । तर उनले आफूले सामाजिक सञ्जालमार्फत व्यक्त गरेको असन्तुष्टिलाई स्वभाविक दाबी गरे । ‘मेहनत र लगनशीलता देखाइरहेको खेलाडीले टिममा नपर्दा असन्तुष्टि जनाउनु स्वभाविक हो,’ उनले भने, ‘प्रशिक्षक किन टिममा परेन भन्ने जवाफ दिनसक्नुपर्छ, उहाँले दिनु भएन ।’

नवयुग श्रेष्ठ नेपाल–बंगलादेश
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय