
८ असोज, काठमाडौं । कुनै भूगोलमा एकक्षण टक्क अडिएर आसपासका दृश्य नियाल्नुहोस् त, कति कुराहरु देख्न सकिन्छ ।
आफ्नो आँखाले बनाउने फराकिलो फ्रेममा जे-जति प्रकृतिका चलयामान दृश्यहरु समेटिन्छन्, ती कुनै सिनेमाभन्दा कम आकर्षक हुँदैनन् । यसका लागि एउटै सर्त हो, त्यो दृश्यलाई तपाईं कति सचेतपूर्वक र आनन्ददायक रुपमा हेर्नुहुन्छ ।
धर्तीको सतहभन्दा माथि-माथि चिल उडिरहेको दृश्य देख्दा म एकोहोरिएको थिएँ । दुईतिर पखेटा फिँजाएर कति लयात्मक ढंगले त्यो शून्य ठाउँमा यताउता गरिरहेको थियो । त्यसको चाल र गतिले मलाई निकै लोभ्याएको थियो ।
हुन त ऊ मलाई कुनै जादुयी नृत्य देखाइरहेको थिएन, ताकि मेरो नजर ऊतर्फ केन्द्रित होस् । त्यो आफ्नै सुरमा थियो र जीवनको धुन खोजिरहेको थियो । अर्थात त्यो आफ्नो दैनिक जीवनको लागि आहार जुटाउने प्रयत्नमा थियो ।
आकासबाट वत्तिदै आएको त्यो चिल एकसरो फनफनी घुमेपछि चोभारस्थित वाग्मती नदीको सतहमाथि छलाङ मार्न आइपुग्यो । सायद उसले त्यो उचाइबाट आफ्नो आहार पहिल्याइसकेको थियो र कत्ति पनि ढिला नगरी त्यसलाई आफ्नो पञ्जामा पार्न चाहन्थ्यो ।
प्रकृतिले नि:शुल्क उपलब्ध गराएको यो दृश्य हेरेर म निकै रोमाञ्चित भएको थिएँ ।
तर, अब यस्ता दृश्यहरु दुर्लभ बन्दै गएको छ । अस्तव्यस्त सहर र मानव गतिविधिको कारण पशुपंक्षीको आश्रयस्थल साँघुरिदैछ । आफू कसरी बाँच्ने, कसरी आफ्नो जीवनलाई सुविधा बनाउने भन्ने ध्याउन्नमा हामी अनेक गतिविधि गरिरहेका छौं, विकासको नाममा । तर, हाम्रो विकासे योजनाहरुले यी पशुपंक्षीहरुलाई पो संकटमा पार्दैछ कि ?
प्रतिक्रिया 4