
८ असोज, जनकपुरधाम । जनकपुरमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कालो झण्डा देखाउने प्रयास भएको छ ।
जनकपुर विमानस्थलबाट जनकपुर- जयनगर रेल चढ्न जाने क्रममा उनलाई जसपा र एकीकृत समाजवादीका कार्यकर्ताले कालो झण्डा देखाउने प्रयास गरेका हुन् ।
जनकपुर विमानस्थलबाट ओली गाडीमा अगाडि बढेपछि नजिकै सडकमा कालो झण्डा लिएका युवा देखिएका थिए । तर प्रहरीले उनीहरुलाई तुरुन्तै नियन्त्रणमा लिएको थियो ।
ओली सवार गाडी अगाडि बढेपछि कालो झण्डा देखाउने प्रयास गर्नेहरुलाई साइड लगाइएको धनुषाका प्रहरी उपरीक्षक बसन्त रजौरेले बताए । ओलीलाई रेल्वे स्टेसन नजिक पनि केही युवाहरूले प्रयास गरेका थिए । तर, प्रहरीले रोकेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगर्नुमा नेकपा एमालेको मुख्य भूमिका रहेको भन्दै मधेशका विभिन्न जिल्लामा विरोध भइरहेको छ ।
धनुषाको विदेह नगरपालिकास्थित तीनकौरियामा पार्टी प्रवेश कार्यक्रममा जान ओली रेल चढेर महिनाथपुर स्टेशनसम्म रेल चढेर पुगेका छन् ।
यसअघि भदौ २७ गते जनकपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा आउँदा नागरिकता विहीन युवाहरुको समूहले कालो झण्डा देखाएका थिए ।
प्रतिक्रिया 4