
८ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले ४ मंसिरको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा धाँधलीको तयारी गरिरहेको आरोप लगाएका छन् ।
धनुषाको विदेह नगरपालिकास्थित तीनकौरिया चोकमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले सत्तारुढ गठबन्धनलाई सहयोग नगर्ने प्रहरी र कर्मचारी धमाधम सरुवा गरेको आरोप लगाए ।
‘सरकारले हरेक ठाउँमा धाँधलीको तयारी गरिरहेको छ । कोही प्रहरी अहिलेको गठबन्धनतिर लाग्दैन भन्ने उसलाई लाग्यो भने त्यो प्रहरी सरुवा गर्छ । यही ठाउँबाट पनि प्रहरी सरुवा गरेको छ । कर्मचारी सरुवा गरेको छ । गठबन्धनको चाकडी गर्दैन भन्ने लाग्यो भने कानुन बमोजिम चल्छ भन्ने लाग्यो भने सरुवा गरेको छ’ ओलीले भने, ‘यो सरकार अलोकतान्त्रिक, तानाशाही, स्वेच्छाचारी भ्रष्टाचारी सरकार ।’
सरकारले देशलाई हिंसा, अलोकतान्त्रिक र तानाशाही प्रवृत्तितिर लैजान खोजेको भन्दै ओलीले देशमा एमाले पनि छ भन्ने हेक्का राख्न चेतावनी दिए ।
शनिबार आयोजित कार्यक्रममा निवर्तमान सांसद उमाशंकर अरगरिया, अमृता अग्रहरिलगायतका नेताहरु एमाले प्रवेश गरेका छन् ।
अध्यक्ष ओलीले एमालेमा प्रवेश गर्नेहरु अलपत्र नपर्ने बताए । ‘तपाईहरुलाई अवसर दिएर नै अगाडि बढाउनेछ । तपाईहरुलाई कुनै पछुतो हुने छैन’ ओलीले भने, ‘तपाईहरुलाई गलत काममा प्रयोग गर्ने छैन ।’
प्रतिक्रिया 4