
काठमाडौं । विश्व प्रतिष्ठित कान्स फिल्म फेस्टिभल जुरी अवार्ड जितेको नेपाली छोटो फिल्म ‘लोरी’लाई ओस्कार अवार्ड पठाइने भएको छ ।
ओस्कारमा पठाउनैका लागि फिल्मका अमेरिकी निर्माता बेन्जामिन ग्रब्सको पहलमा यो फिल्म सेप्टेम्बर २३ देखि २९ सम्म अमेरिकाको लेमियर थिएटरमा रिलिज गरिने भएको छ ।
यो १४ मिनेट लामो फिल्मका निर्माता अनुप पौडेल हुन् भने निर्देशक अविनाश विक्रम शाह हुन् । नेपाल र हङकङस्थित कम्पनीको संयुक्त ब्यानरमा निर्माण भएको फिल्मले यसवर्षको कान्सबाट निकै चर्चा बटुलेको थियो ।
निर्माताका अनुसार ओस्करको लाइभ एक्सन र सर्ट फिल्म विधामा फिल्म पठाइने भएको छ ।
‘ओस्करमा पठाउनका लागि हामीले शुक्रबारदेखि एकसाता फिल्म चलाउँदैछौं’ निर्माता पौडेलले अनलाइनखबरसँग भने । बिहेमा छोरीको बिदाई गर्दा आमाले फेयरवेलस्वरुप गाउने लोरी गीतको कथा फिल्मले पेश गर्छ ।
यसवर्ष नेपालबाट ‘ऐना झ्यालको पुतली’लाई ओस्कारको अन्तर्राष्ट्रिय फिचर विधामा सिफारिस गरिएको छ । ‘लोरी’लाई पनि ओस्कारमा पठाइने भएपछि ‘ऐना झ्यालको पुतली’का निर्देशक सुजित बिडारीले शुभकामना दिएका छन् ।
प्रतिक्रिया 4