
काठमाडौं । पञ्चकन्या समूहद्वारा स्थापित प्रेमबहादुर श्रेष्ठ अक्षयकोषबाट ९ जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको हो ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका-१५ कोटिहवास्थित पशुपति माध्यमिक विद्यालयबाट एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई शुक्रबार विद्यालयमा आयोजित एक कार्यक्रमबीच छात्रवृत्ति प्रदान गरिएको हो । कोटिहवामा रहेको पञ्चकन्या समूहले २०७० सालमा विद्यालयमा अक्षयकोष स्थापना गरेको थियो ।
पञ्चकन्याका महाप्रबन्धक देवेन्द्र साहुका अनुसार २०७६ सालको एसईईमा विद्यालय प्रथम हुने स्मृति बस्याल र द्वितीय हुने सुविन गैरेलाई छात्रवृत्ति प्रदान गरिएको छ । त्यस्तै २०७७ सालको एसईईमा विद्यालय प्रथम हुने शिव हमाल र द्वितीय हुने करुणा बस्याल तथा २०७८ सालमा प्रथम हुने आशिक पन्थी, द्वितीय हुने विराज भट्टराई, तृतीय हुने आरती घिमिरे, खुशी अर्याल र एलिसा दर्जीलाई छात्रवृत्ति प्रदान गरिएको हो ।
कार्यक्रममा प्रथम हुनेलाई १० हजार तथा द्वितीय र तृतीय हुनेलाई ५ हजारका साथै प्रशंसापत्र प्रदान गरिएको थियो ।
विद्यार्थीहरुलाई तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँण र पञ्चकन्या समूहका उपाध्यक्ष एवं कोषका अध्यक्ष ध्रुवकुमार श्रेष्ठ लगायतले छात्रवृत्ति वितरण गरेका हुन् ।
कोरोनाका कारण अघिल्लो दुई वर्षको छात्रवृत्ति पनि यसैपटक वितरण गरिएको अक्षयकोषका सचिव तथा विद्यालयका पूर्वप्रधानाध्यापक कृष्णप्रसाद घिमिरेले बताए ।
कार्यक्रममा नगरप्रमुख खाँणले राज्यले गर्ने काम पञ्चकन्या समूहले गरेको बताए । उनले शिक्षा, धार्मिक, सामाजिक कार्यमा निरन्तर रुपमा समूह अगाडि बढेको बताए ।
कोषका अध्यक्ष श्रेष्ठले उद्योगबाट नजिकको विद्यालय भएकाले पनि आफूहरुले पशुपति माविलाई विशेष प्राथमिकता दिएर सहयोग गर्दै आएको बताए ।
उद्योगका महाप्रबन्धक साहुले शिक्षा क्षेत्रको विकासमा आफूहरुले साथ र सहयोग जारी राख्ने बताए ।
कार्यक्रममा तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष गुणनिधि भण्डारीले पञ्चकन्या समूहले शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको बताए ।
प्रतिक्रिया 4