
विश्व प्रसिद्ध दार्शनिक मिसेल फुकोको योगदान मूलतः शक्ति (पावर) को व्याख्यामा घुमेको छ । सामान्य जीवनमा शक्तिले कसरी काम गर्छ, त्यसले ज्ञान (नलेज) र संकथन (डिस्कोर्स) लाई कसरी प्रभाव पारिरहेको हुन्छ, त्यसले सत्य (ट्रूथ) कसरी निर्माण गर्छ र सामाजिक नियन्त्रण कसरी स्थापित हुन्छ, त्यसबारे मूल व्याख्या उनको पुस्तक ‘द सब्जेक्ट एण्ड पावर’ (१९८०) मा गरिएको छ ।
पुस्तकमा शक्तिले कसरी समाजको हरेक चिजलाई आफ्नो पकडमा राखेको हुन्छ भन्ने उल्लेख गरिएको छ । साथै, शक्ति ऐतिहासिक, सामाजिक एवं व्यक्तिगत सम्बन्धबाट निर्माण हुँदै जाने कुरा पुस्तकमा चर्चा गरिएको छ ।
नोबेल पुरस्कार विजेता भारतीय अर्थशास्त्री तथा समाजशास्त्री अमत्र्य सेन २००५ मा प्रकाशित पुस्तक ‘दि आर्गुमेन्टेटिभ इन्डियन’ पुस्तकमा तार्किकताको महत्वलाई जोड दिंदै तर्क गर्न सक्ने शक्तिशाली हुने बताउँछन् । महिला, दलित, पिछडिएका समुदाय, अन्य धार्मिक सम्प्रदायका मानिसहरू पछाडि हुनुका कारण तर्क गर्न नसकेको हो भन्दछन् ।
जिज्ञासा नराख्दा, प्रश्न गर्न नसक्दा, मौन बस्दा, नबुझेको कुरा सोध्न नसकेकै कारण र धर्ममा प्रश्न उठाउन नसक्नुका कारणले सीमित वर्गलाई फाइदा पुग्ने र त्यसको लाभ पनि उनीहरूले नै उठाउने मौका पाउँदछन् । यसले केही वर्ग शक्तिशाली हुने र कोही शक्तिविहीन हुने हुन्छ ।
शक्तिले हरेक चिजलाई बाँधेर राखेको हुन्छ । जोसँग ज्ञान (नलेज¬) छ, उसँग शक्ति छ र इतिहास पनि तिनैको लेखिएको छ । भनिन्छ, इतिहास जित्नेहरूकै लेखिन्छ तर युद्ध पनि लडेको र जिताएको, आर्थिक जोहो गर्न सल्लाह पनि दिएको, योजनाविद्, इतिहास पुरुष जसले नेपाल एकीकरणमा महत्वपूर्ण भूमिका खेल्यो, उसको नाम लेखिएन वा भनौं लेख्न मानिएन । इतिहासले बिर्सिएको त्यस्तै एक पात्र हुन् बिसे नगर्ची ।
को हुन् बिसे नगर्ची ?
बिसे नगर्ची एक विलक्षण प्रतिभा, इतिहास पुरुष, अमर व्यक्तित्व, गोरखा राज्यलाई विस्तार गर्न सहयोग गर्ने सल्लाहकार, आर्थिक जोहो गराउन सहयोग गर्ने योजनाविद्, एक कुशल वाद्यवाधक कलाकार हुन् । शाहकालीन अभिलेख अनुसार नगरा र नगर्चीको अस्तित्व वि.सं. १६०० देखि नै भएको अनुमान हुन्छ ।
बिसे नगर्चीको विषयमा ऐतिहासिक तथ्य प्रमाण थोरै मात्र भेटिन्छन् । बिसे नगर्चीको सालिकमा राखिएको शिलालेखमा उनको जन्म वि.सं. १७४६ र मृत्यु १८२८ गोरखामै भएको उल्लेख गरिएको छ । दरबारमा नगरा बजाउने काम गर्नेलाई ‘नगार्ची’ भनिन्थ्यो पछि नगर्ची भन्न थालियो ।
बिसे नगर्चीको खास नाम विशेश्वर नगर्ची, लालमोहोरमा बिस्या दमाई रहेको योगी नरहरिनाथले लेखेका छन् । नाटककार भीमनिधि तिवारी लिखित एकांकी बिसे नगर्चीमा लेख्छन्– ‘राज्य र समाजका नजरमा अछूत नै मानिए पनि उद्यमशीलता र अब्बल सरसल्लाहमा ख्याति कमाएका व्यक्ति हुन्, बिसे नगर्ची ।’
राजालाई दिएको त्यो एक रुपैयाँ
‘एकीकरण, राज्य विस्तार, युद्ध जे भने पनि सबैभन्दा पहिले प्रजाको सामूहिक सहभागिता चाहिन्छ । राज्य एक्लैले भन्दा पनि सारा प्रजाले राज्य ढुकुटीमा गच्छेअनुसार सहयोग गर्नुपर्छ । त्यसको सुरुवात कोही न कोहीबाट हुनैपर्छ, लिनुस् एक रुपैयाँ मैले सुरु गरें ।’
नरभूपाल शाहको पालादेखि चर्चित बिसे नगर्चीबाट पृथ्वीनारायण शाहले युद्ध कौशलतामा केही सुधार हुन्छ कि भन्ने आशा राखेका थिए । जब बिसेको फरक धारको कुरा आयो, त्यही पनि जाबो एक रुपैयाँको सहयोग ! सो कुरा सुनेर राजा रिसाए ।
राजा रिसाएको देखेपछि बिसे नगर्चीले भने, ‘सरकार हजुरको राज्यमा कति घरधुरी छन् ?’
राजाले भने, ‘१२ हजार घरधुरी ।’
बिसेबाट जवाफ आयो, ‘हजुर यसरी नै सबै घरधुरीबाट एकएक रुपैयाँ उठाएमा मात्र १२ हजार उठाउन सकिन्छ सरकार !’
यो कुरा बताएपछि पृथ्वीनारायण शाह खुसी हुँदै बिसेलाई धन्यवाद दिंदै दरबार फर्किए । यो अभियान पछि गोरखाको हरेक घरदैलोमा साझा अभियान बन्यो । बिसेको फरक व्यावहारिक सुझावबाट नै पृथ्वीनारायण शाहको एकीकरण सपना विपनामा रूपान्तरण हुन सम्भव भयो ।
सल्लाहकारका रूपमा बिसे नगर्ची
पृथ्वीनारायण शाहकालीन ऐतिहासिक व्यक्ति हुन् बिसे नगर्ची । नेपाली इतिहासमा राजा–महाराजाहरूको गाथा मात्र गाइएका कारण यसलाई आलोचना गर्ने पक्ष पनि प्रशस्तै भेटिन्छन् । आम जनता त्यो पनि दलित उत्पीडितहरूको इतिहासको खोजी गरेर प्रकाशमा ल्याइनु त अकल्पनीय नै मानिन्थ्यो । यति हुँदाहुँदै पनि इतिहासका पानामा सानोतिनो गरी उनको चर्चा गरिएको छ ।
शाहले आफूलाई निर्णय लिन गाह्रो–अप्ठेरो पर्दा गोरखाका सबै भलाद्मी तथा सामान्य जनतासम्मको राय–सुझाव लिने गर्दथे । खासगरी बनारस भ्रमणपछि एकजना गोरखाको काजी तोक्नु परेको थियो । आफ्नो नजरमा दुई जना व्यक्ति परेपछि उनलाई निर्णय लिन अप्ठ्यारो परेको थियो ।
विराज बखती र कालु पाँडेमध्ये कसलाई काजी तोक्ने द्विविधाका बीच पृथ्वीनारायण शाहले बिसे नगर्चीबाट पनि सल्लाह लिएका थिए । बाबुराम आचार्यका अनुसार श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहले बिसे नगर्चीबाट पनि सल्लाह लिएका थिए ।
आचार्यले यो प्रसंग ‘श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी’ (२०२५) मा लेखेका छन् । ‘पृथ्वीनारायण शाहले गोरखाका सबै भलाद्मीको राय सुझाव लिन उचित सम्झे र मैयाददेखि बिस्या दमाई तकको कालु पाँडेको पक्षमा सम्मति पाउँदा र मित्र भएका चौबीसी–बाईसी राजाहरूले पनि यिनकै चाह गरेको देखेर उनले यिनैलाई यस ठुलाभारको पगरी पहिराइदिए ।’ यसबाट पनि त्यो बेला बिसे नगर्चीको ठूलो महत्व रहेछ भन्ने बुझिन्छ ।
पृथ्वीनारायण शाहको मोर्चामा सहभागी थिए बिसे
पृथ्वीनारायण शाहले संवत् १८०१ असोज १५ गते नुवाकोट गोरखाको अधीनमा ल्याउन फौजमा गोरखालीहरूले मोर्चा बाँधी नुवाकोट आक्रमण गरेका थिए । तीमध्ये धर्म पानीको बाटोबाट चौतारिया महोदामकीर्ति शाहको नेतृत्वको फौज, अशोकबारीको बाटो बलभद्र शाह र कालु पाँडेको नेतृत्वकोे फौज र गेर्खुको बाटो जहाँगिर शाहको नेतृत्वको फौज अगाडि बढेको थियो ।
तीनघारेको बाटो स्वयम् पृथ्वीनारायण शाह अगाडि बढेका थिए । यही बाटोको मोर्चाबाट युद्धबाट लड्न अगाडि बढेको फौजमा बानादार दमाई र मणिराम गाइनेका साथ बिसे नगर्ची पनि सरिक थिए । (प्राचीन नेपाल, संख्या २१ः२८) युद्ध गोरखाली पक्षले जितेपछि ब्राह्मणहरूले वेद पाठसहित तथा जयघोष गरे, नगरा बनाउने काम बिसे नगर्ची र बानादार दमाईले र विजय गीत गाउने काम मणिराम गाइनेले गरेका थिए ।
एकीकरणमा दलितको भूमिका
राजालाई सल्लाह दिन सक्ने क्षमता र सम्बन्ध भएका दलित समुदायको यदाकदा केही सामग्रीमा नाम भेटिएतापनि नेपालको मूलधारको इतिहासबाट धेरैको नाम लुप्तप्रायः छ । पृथ्वीनारायण शाहले हतियार, तरबार, खुँडा, खुकुरी, ढाल, भुजेली बनाउन धार्ने कामी कालिगडलाई भर्ना गरेका थिए ।
शाहले येखाजङ्ग विश्वकर्मा (कामी) लाई बनारसबाट ल्याएर गोरखाली सैनिकलाई हरियार चलाउने तालिम दिएको नेपालको दलित आन्दोलनको संक्षिप्त इतिहास, (२०६३ः४७) मा उल्लेख गरिएको छ । कप्तान किनलकको नेतृत्वमा आएको इष्ट इन्डिया कम्पनीको फौजले ‘घर सम्पत्ति जे मागे पनि दिउँला बाटो देखाइदेऊ’ भन्दा देव भन्दा धन ठूलो होइन भनेर राष्ट्रप्रेम देखाएका थिए बाङ्गे सार्कीले ।
बिसे नगर्ची गोरखा दारबारमा सिलाई–बुनाई गर्ने, नगरा बजाउने, कटुवाल फलाक्के र पृथ्वीनारायणको गोरखा राज्य विस्तारको अभियानमा गोरखाली फौजसँगै लडाइँमा नगरा बजाउन सहभागी भएको देखिन्छ । धार्ने कामी, बिसे नगर्ची, मणिराम गाइने, बानादार दमाई, कालु सार्की लगायत दलितहरू पृथ्वीनारायण शाहको फौजका अभिन्न अंग थिए । सोमध्वज विष्टले लेखेको शाही सैनिक इतिहासमा यसबारे उल्लेख गरिएको छ ।
सालिक र नेपाली समाज
नेपाली मूर्तिकारको सीप कला विश्व प्रसिद्ध थियो । लिच्छविकालदेखि देवी–देवता, बुद्ध र बोधिसत्वको प्रतिमा काठ, ढुङ्गा, तामा र ढलोटमा बनाइने क्रम आजसम्म जारी छ । ऐतिहासिककालमा प्रायः शासक आफैंले आफ्नै सालिक स्थापना गर्थे । रानीपोखरीमा हात्तीमा सवार प्रताप मल्लदेखि पाटन दरबारका योगनरेन्द्र मल्ल, पशुपति परिसरमा शाहवंश र कालमोचनमा जंगबहादुर राणा ।
राणाकालीन सालिकहरू एक शताब्दी बढी उभिए । सालिकलाई इतिहासको राम्रो या नराम्रो पात्रको प्रतिनिधित्वका रूपमा बुझ्न आवश्यक छ । सालिकले ऐतिहासिक झझल्को दिंदै पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने विश्वास गोरखा नगरपालिकाले वि.सं. २०७५ साउन १८ गते गितार डाँडामा सालिक प्रतिस्थापन गरेको थियो । बिसे नगर्चीको इतिहास संरक्षणमा अहिले समुदायस्तरमा पनि प्रारम्भ गरिंदैछ ।
बुटवल उपमहानगर पालिका वडा नं २ मा अवस्थित मणिमुकुन्द सेन उद्यान पार्कमा बिसे नगर्चीको पूर्ण कदको सालिक निर्माण हुँदैछ, जसको गत असारमा शिलान्यास गरी काम अघि बढाइएको छ । झन्डै २० लाखको लागतमा उक्त सालिक निर्माण हुँदैछ । जुन कार्यले बिसे नगर्चीप्रति सम्मान भाव व्यक्त हुनेछ । साथै इतिहासलाई नयाँ पुस्तामाझ चिनाउन मद्दत पुग्नेछ ।
अहिले कुखुरादेखि भेडा–बाख्रासम्मका सालिक ठडिएका छन् । स्याङ्जाको कालीगण्डकी गाउँपालिका ३ भोलेबासमा भालेको सालिक निर्माण गरिएको छ । उदयपुरका बेलनगर पालिका वडा नंं ७ मैनामैनीमा ६० लाख लागतमा उचाइ १२ फिट र चौडाइ १६ फिटको सुँगुरको मूर्ति बनाइएको छ । कलाकार यम बुद्धको सालिक बनाउन काठमाडौं महानगरपालिकाले बजेट छुट्याउँदा त्यसको विरोध गरिएको थियो । भर्खरै प्रचण्ड पुत्रको सालिक ठडिएसँगै नेपाली समाजमा उनको योगदान के थियो ? भन्ने प्रश्न उठेको छ ।
अन्त्यमा, दलित समुदायको इतिहासलाई निष्पक्ष रूपबाट अध्ययन गर्दै उनीहरूले गरेको नेपालीप्रतिको योगदानलाई समाजीकृत गरिनु आवश्यक छ ।
बिसे नगर्चीको इतिहासलाई दस्तावेजीकरण गर्दै उनको योगदानलाई राष्ट्रले सम्मान गर्ने वातावरण बनाइनुपर्छ । बिसे नगर्ची सीप विकास प्रवर्द्धनमा प्रतिष्ठान स्थापना गर्दै दलित समुदायका कला, संस्कृति र सीपलाई संरक्षण गर्ने वातावरण बनाइनुपर्दछ ।
(लेखक त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर काठमाडाैंमा समाजशास्त्रका एमफिल तहमा शोधरत छन् ।)
प्रतिक्रिया 4