
१० असोज,बुटवल । रुपन्देही प्रहरीले दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी विशेष सुरक्षा रणनीति सार्वजनिक गरेको छ ।
चाडपर्वमा हुन सक्ने चोरी नियन्त्रण लगायत जिल्लाको शान्ति सुरक्षा र ट्राफिक व्यवस्थापनको लागि चाडपर्व अबधीभर १ हजार २ सय ४८ जना प्रहरी परिचालन गर्ने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
चाडपर्वमा जुवा तासलाई नियन्त्रण गर्न प्रहरीले सादा पोशाकका प्रहरी परिचालन गर्ने, चन्दा लगायतका गतिविधिहरुको गोप्यरुपमा सूचना संकलन गरि कार्यवाहीको दायरामा ल्याउने आइतबार पत्रकार सम्मेलन गरी जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक रविन्द्र रेग्मीले बताए ।
यस्तै प्रत्येक प्रहरी ईकाईमा क्वीक रेस्पोन्स टिम (क्युआरटी) को गठन गरी परिचालन गर्ने र प्रहरीले सीमा क्षेत्रमा कडा चेकजाँचको व्यवस्था गरी अवैध गतिविधि रोक्ने रेग्मीले बताए ।
यस्तै राजमार्गहरुमा रातिको समयमा गस्ती बढाउने र चाडपर्वमा बन्द रहने सरकारी कार्यालय तथा संघ–संस्थाका सुरक्षा गार्ड र कार्यालय सहयोगीहरुसंग समन्वय सहितको सुरक्षा व्यबस्था मिलाइने उनले जनाए ।
चाडपर्व अवधिभर प्रहरीले पैदल, साइकल, मोटरसाइकल र गाडीबाट गस्ती गर्ने, तिहारमा राति १० बजे सम्म मात्र देउसी भैलो खेल्न पाउने नियम बनाएको जिल्ला प्रहरी प्रवक्ता श्यामु अर्यालले बताए ।
प्रतिक्रिया 4