
१० भदौ, काठमाडौं । पार्टी सभापति शेरबहादुर देउवामाथि निरन्तर दबाव दिइरहेको नेपाली कांग्रेसको शेखर कोइराला समूहले पर्सि पार्टी कार्यालय, सानेपामा धर्ना दिने घोषणा गरेको छ । सोमबार विहान ठमेलमा बसेको शेखर समूहका नेताहरुको बैठकले समानुपातिकको बन्दसूची सच्याउन नेतृत्वलाई दबाव दिन भन्दै आन्दोलन घोषणा गरेको हो ।
एक सहभागीका अनुसार छलफलमा सहभागीमध्ये कतिपयले बालुवाटारमै धर्ना दिनुपर्ने मत राखेका थिए । तर बालुवाटार प्रधानमन्त्रीको सरकारी निवास भएकाले पार्टी कार्यालयमा धर्ना दिने निर्णय गरिएको हो ।
यो समूहले ‘पार्टीको आन्तरिक एकता, समान अवसर र न्यायका निम्ति धर्ना’ भन्ने नारा दिएको छ । दबाव अभियानकै निरन्तरता स्वरुप १३ गते चियापान कार्यक्रम गर्ने र त्यतिन्जेल पनि समानुपातिकको बन्दसूची नसच्याए १४ गते बैठक बसेर कठोर निर्णय लिने नेता जगदिश्वर नरसिंह केसी बताउँछन् ।
कांग्रेसले ३ असोजमा निर्वाचन आयोगमा बुझाएको समानुपातिकको बन्द सूचीमा यो समूहका १३ जना मात्र छन् । उनीहरुमध्ये पनि ८ जनाले सांसद बन्ने अवसर नपाउने लगभग पक्का जस्तै छ । जबकी देउवा स्वयंमले आफूहरुले अघि सारेका ४४ जनाको नाममा सहमति जनाएको नेताहरुको दाबी छ । तर सूची फाइनल गरेर बुझाउनु अघि संसदीय बोर्ड र त्यसमा भएका सदस्यहरुलाई समेत जानकारी दिइएन ।
नुवाकोटका पूर्व जिल्ला सभापति समेत रहेका केसी भन्छन्, ‘समानुपातिकमा एकैलाटी ढंगले आफू निकट नामलाई प्राथमिकता क्रममा राख्ने काम भएको छ । पार्टीमा न्याय र समान अवसर प्राप्त गर्ने अवस्था रहेन ।’
बन्दसूचीप्रति असन्तुष्टि जनाउँदै यो समूहका नेताहरुले शनिबार खबरदारी सभा गरेको थियो भने उपसभापति धनराज गुरुङले देउवालाई भेटेर सच्याउन भनेका थिए । तर बन्दसूची संशोधनको संकेत नदेखेपछि धर्ना दिने निर्णयमा पुगेको छ । ‘यो शेखर समूहको मात्र कुरा होइन । पार्टीमा सबैले न्याय र अवसर पाउनुपर्छ’, शेखर समूहको बैठकमा सक्रिय नेता केसी भन्छन्, ‘केहीले टिकट पाउँछ भने नपाउनेले यसकारण उसले पायो भनेर चित्त बुझाउने अवस्था बनोस् भनेर आवाज उठाएका हौं । तर नेतृत्वले यसमा कुनै प्रतिक्रिया नदिएपछि यो निर्णयमा पुगेका हौं ।’
सभापति देउवाले गठबन्धनको बलमा अर्को पक्षलाई पेलेर अघि बढ्न खोजेको शेखर समूहको निष्कर्ष छ । शेखर समूहको बैठकहरुमा सहभागी एक नेता भन्छन्, ‘समानुपातिकको बन्दसूची त टेलर मात्र हो । प्रत्यक्षको टिकट वितरण यो भन्दा एकपक्षीय बनाउने गृहकार्य भइरहेको सूचना हामीसँग छ ।’
कतिसम्म भने सहमहामन्त्री बद्री पाण्डेलाई बाजुराबाट प्रतिनिधिसभा सदस्यको टिकट नदिने प्रयास भइरहेको छ । संस्थापन पक्षका नेताहरुले अघिल्लो पटक चुनाव हारेका कविराज पण्डित वा अंगराज तिमल्सिनालाई के गर्ने भन्ने प्रश्न गर्ने गरेका छन् ।
शेखर समूहबाट महामन्त्रीका प्रतिस्पर्धा गरेका र निवर्तमान सांसद डा. मिनेन्द्र रिजालले मोरङ २ को टिकट नपाउने सम्भावना उत्तिकै छ । एक नेता भन्छन्, ‘१५/१७ जनाले जस्तो सुकै अवस्थामा टिकट पाउँछन्, तर सभापति र उहाँको टिममा रहेका नेताहरुले गरिरहेको तयारीबारे जे सूचना चुहिएको छ, त्यो डरलाग्दो छ ।’
चुनाव जित्ने उम्मेदवारहरुलाई अवसर दिनुको साटो फरक समूह भएकै कारण टिकट नदिने खेलमा संस्थापन पक्षका नेताहरु लागेको शेखर समूहको निष्कर्ष छ । नेताहरुका अनुसार यदि सभापति देउवाले १३/१४ गतेसम्म पनि समानुपातिकको बन्दसूची सच्याएनन् र प्रत्यक्षको टिकट वितरण सम्मानजनक बनाउने सुनिश्चितता गरेनन् भने यो समूहका नेताहरु नै विद्रोह गर्न सक्छन् ।
त्यो बेला पार्टीले दिएको टिकट नदिनेदेखि गठबन्धनको उम्मेदवारलाई सहयोग नगर्नेसम्मका विकल्प रोज्नसक्ने नेताहरु बताउँछन् । ‘अहिले भइरहेको खबरदारी हामी कसैले उचालेर होइन, स्वर्फत हो’, एक नेता भन्छन्, ‘नेतृत्वले वेलैमा सम्बोधन गरेन भने भोलि सम्हालिन नसक्ने परिस्थिति आउन सक्छ ।’
प्रतिक्रिया 4