
२०७० को प्रारम्भिक वर्षहरूबाट वेगले बगेको वैकल्पिक राजनीतिको हावा विस्तारै दशकको अन्त्यसम्म आइपुग्दा मत्थर हुँदै गएजस्तो आभास हुनथालेको थियो। मानिसहरू अब नेपालमा केही वर्ष वैकल्पिक राजनीतिले टाउको उठाउन सक्दैन भन्ने निष्कर्षमा पुग्नै आँटेका थिए। स्थापित मानिसहरूको नेतृत्व, स्रोत र साधनको पर्याप्त जोहो गर्नसक्ने क्षमता, राष्ट्रिय-अन्तर्राष्ट्रिय छवि बनाइसकेका मानिसहरू समेत असफल भइसकेपछि कसले फेरि यसलाई नयाँ उचाइ दिनसक्छ भन्ने कौतूहल वा अड्कलबाजी हुनु स्वाभाविक थियो।
यहीबीचमा दुई युवाहरू टुप्लुक्क ब्युँतिए। त्यसै-त्यसै मानिसका मरेका आशाहरू फेरि जागृत बनेका छन्। देशव्यापी नयाँ रक्तसञ्चार भएको छ। स्थानीय चुनावको केही अगाडिसम्म नामै नसुनेका मान्छेहरू रातारात सेलिब्रेटीमा दर्ज भएका छन्। तर वैकल्पिक राजनीतिको नेतृत्व गर्न तम्सिएका स्थापित मानिसहरू यतिबेला आफ्नो अस्तित्व रक्षाको लागि अन्य पुराना दलहरूसँग ओत मागिरहेका छन्। कतिपय त आफ्नो दलबाट चुनाव जित्ने आश हराएपछि दल त्याग गरेको नयाँ नाटक मञ्चन गरेर स्वतन्त्रमा समेत झरेका छन्। प्रदेश र संघको चुनाव नजिकिएसँगै यस्तो गतिविधिले अरु रफ्तार लिंदैछ।
तर त्यसरी उदाएका व्यक्तिहरूले वैकल्पिक राजनीतिको प्यासलाई मेट्न सक्छन् कि सक्दैनन् त्यो अहिले नै निष्कर्षमा पुगिहाल्न सकिंदैन। दलहरूको अकर्मण्यता, दिशाहीनता, गतिहीनता र अराजकताले वाक्क परेका जनता विकल्पको खोजीमा थिए। बालेन शाह र हर्क साम्पाङहरू त्यही आवेगबाट फुत्त निस्किएका दुई प्रतिनिधि पात्र हुन्। यहाँनेर स्मरणीय के छ भने सचेतन प्रयत्न भन्दा आवेगबाट जन्मिएको विकल्पको आयु छोटो हुन्छ। स्पष्ट विचार, नीति र दर्शन विना दलको निर्माण र त्यसले परिवर्तनको म्याराथन हाँक्न कठिन पर्छ।
यही सम्भावना र संकटको टकरावका बीच वैकल्पिक राजनीतिको अबको यात्रा अगाडि बढ्ने देखिन्छ। के वैकल्पिक राजनीतिले आगामी दिनमा गति लिन सक्छ ? त्यसका पछाडि व्यक्त–अव्यक्त कारण छन्। त्यसको सही निदान र हल दिन सक्यौं भने वैकल्पिक शक्तिले स्पष्ट गन्तव्य कोर्न सक्छ। तथापि वैकल्पिक राजनीतिका अगाडि केही यक्ष प्रश्नहरू हिजो, आज र भोलिका लागि थाती नै रहेका छन्।
स्पष्ट विचारको खडेरी
उज्ज्वल थापाले नेतृत्व गरेको विवेकशील नेपाली दलले विस्तारै नेपाली जनताको बीचमा विशिष्ट पहिचान बनाउँदै अगाडि बढिरहेको थियो। तर बीचैमा यसले आफ्नो बाटो मोडेपछि यसको पहिचान पनि मेटिन थाल्यो। त्यसपछि पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले पहिचानको मुद्दालाई मुख्य एजेण्डा बनाएर जनताको बीचमा वैकल्पिक राजनीतिको मुद्दा लैजाने कष्ट गरे। माओवादी आन्दोलनको मुख्य मुद्दा पनि पहिचानमा आधारित संघीयता नै थियो। जनतालाई त्यस्ता एजेण्डा वैकल्पिक शक्तिभन्दा माओवादीकै एजेण्डाको रूपमा अर्थ्याए। उनी पूर्णतः असफल हुँदै पुनः माओवादीमा फर्कने अधिकतम प्रयत्न गरिरहेका छन्।
पत्रकार रवीन्द्र मिश्रले साझा पार्टी भनेर केही समय वैकल्पिक राजनीतिको वकालत गरे। तर रूप र सार दुवैमा उनी घोर दक्षिणपन्थी थिए भन्ने समयले पुष्टि गरेको छ। मिश्र राजतन्त्रको वकालत गर्दै संघीयता र धर्मनिरपेक्षता विरुद्ध उभिएका छन्। राप्रपा प्रवेशको लागि मार्ग प्रशस्त गर्न उनले रचेको प्रपञ्च हेर्नलायक छ। उज्ज्वल थापा र बाबुराम भट्टराईले अन्तिमसम्म पनि आफ्नो एजेण्डालाई जनताको बीचमा लैजाने प्रयत्न गरेका थिए। तर मिश्रले सुरुमा जुन एजेण्डा उठाएर अगाडि बढे, पछि त्यसको घाँटी निमोठ्दै प्रतिगामी एजेण्डा बोकेर पश्चगमनको मतियार हुनपुगे।
राजनीतिको गोरेटोमा मानिसले कति बेला आफ्नो काया फेर्छ पत्तो नहुने रहेछ भन्ने भट्टराई र मिश्रबाट सिक्न सकिन्छ। विकास र समृद्धिको अमूर्त नारा उचाल्ने बाहेक वैकल्पिक राजनीतिका अभियन्ताहरूले ठोस सैद्धान्तिक वैचारिक सन्देश दिन नसकेको देखिन्छ। भट्टराईले पहिचानवादी आन्दोलनलाई मुख्य वैचारिकी बनाएर अरुले भन्दा स्पष्टता पेश गरे पनि त्यसलाई जनताले अस्वीकार गरिदिए।
नेपालको पहिचानवादी आन्दोलनमा समाविष्ट जनजातीय भड्कावलाई विभिन्न जनजातीय समुदायहरूले आत्मसात् गरेनन्। किनकि उनीहरूको चेतना जनजाति भन्दा माथिको देखिन्छ। लामो समय राजनैतिक आन्दोलनको मुख्य हिस्सा बनेका जनजातिहरूले राजनीतिक हिसाबले आफूलाई जातीय राजनीतिकै स्तरमा राख्ने गरेका छन्। त्यसलाई भट्टराई समूहले नजरअन्दाज गरेको देखिन्छ। फलतः उनीहरू पनि रछ्यानमा पछारिन बाध्य भए।
प्रभावशाली नेतृत्वको अभाव
वैकल्पिक राजनीतिको अर्को मुख्य समस्या प्रभावशाली नेतृत्वको अभाव हो। उज्ज्वल थापा, बाबुराम भट्टराई, रवीन्द्र मिश्र वा रवि लामिछाने सबैको नेतृत्व क्षमता औसत वा त्योभन्दा तल देखिन्छ। पुराना दलका मुख्य नेतृत्वमध्ये केपी ओली वा प्रचण्डलाई माथ गर्ने नेतृत्वको विकास वैकल्पिक राजनीतिले गर्न सकेन। भट्टराई वैचारिक हिसाबले सबैभन्दा माथि हुँदाहुँदै पनि उनको नेतृत्व क्षमता असाध्यै कमजोर थियो।
अन्य वैकल्पिक आन्दोलनका आकांक्षीहरूले बौद्धिक, प्राज्ञिक र गतिशीलताको हिसाबले त्यति पनि प्रदर्शन गर्न सकेनन्। नेतृत्वमा चुम्बकीय क्षमता हुनसकेन भने त्यसले निर्णायक प्रहार गर्न नसक्ने रहेछ। ओली वा प्रचण्डले देश विकास गर्न नसके पनि कम्तीमा कार्यकर्तालाई आफ्नो पकडमा राख्न सफल भएको देखिन्छ। वैकल्पिक राजनीतिको वकालत गर्ने प्रायः नेताहरू बुढा दलका नेताहरूसामु लिलिपुट जस्ता देखिए।
आवेग र महत्वाकांक्षाले मात्र वैकल्पिक राजनीतिको रथ हाँक्न नसकिने रहेछ। सायद यो कटु सत्यलाई हरेक वैकल्पिक राजनीतिका अगुवाहरूले पक्कै मनन गरेको हुनुपर्छ। प्रखर भाषण, कुशल कूटनीतिक परिचालन, अन्तर विरोधको सही पहिचान र हल, उच्च राजनैतिक-वैचारिक क्षमता, सहिष्णु र त्याग कुशल राजनेताको विशेषता हो। यस्ता गुणले भरिएको नेतृत्व विना अहिलेका दललाई चुनौती खडा गर्न असम्भवप्रायः छ। तर वैकल्पिक राजनीतिको वकालत गरेका दल र नेताहरू सर्वज्ञानी जस्ता देखिन्थे। उनीहरू अरुका राय, सुझाव र सल्लाह सुन्न समेत हिच्किचाउँथे। यद्यपि इतिहासको आवश्यकताले त्यस्तो प्रभावकारी नेतृत्वको परिपूर्ति ढिलाचाँडो पक्कै गर्छ।
नेतृत्वकला विशिष्ट व्यवस्थापकीय क्षमता पनि हो। त्यो क्षमता विद्यावारिधि प्राप्त नेतृत्वले नगर्न सक्छ भने सामान्य शिक्षित व्यक्तिले पनि गर्न सक्छ। हामीले प्रायः सुन्ने गरेका छौं कि फलानोले पाँच कक्षा पढेको ढिस्कानाले १० कक्षा मात्र पढेको छ। त्यस्तोले कसरी नेतृत्व हाँक्न सक्छ ? यस्तो चेतना अज्ञानता र अनुभवहीनताको कारण जन्मन्छ। तर इतिहासले त्यसो भन्दैन। यस्तो वकालत गर्नेमा धेरै वैकल्पिक राजनीति चाहिन्छ भन्नेहरू नै देखिन्छन्।
यसर्थ नेतृत्वकला धेरै पढेर भन्दा व्यवस्थापकीय क्षमता प्रदर्शन गरेर हुने हो भन्ने ख्याल राख्न जरुरी छ। किनकि एउटा जीवन्त पार्टीमा हजारौं कार्यकर्ता लामबद्ध हुन्छन् र ती प्रत्येकसँग विशिष्ट क्षमता हुन्छ। पार्टीमा इन्जिनियर आउँछन्, डाक्टर आउँछन्, विज्ञ हुन्छन्, चोरहरू पनि अटाउँछन् तर तिनीहरू सबैसँग नेतृत्व क्षमता नहुन सक्छ। त्यस्ता क्षमतालाई परिचालन गर्नसक्ने कुशल नेतृत्वको विकास वैकल्पिक शक्तिको वकालत गर्ने संस्थाले गर्न सक्यो भने नेतृत्वको खडेरी तोडेर नयाँ गति दिन सक्नेछ।
अस्वीकार्यता हावी
यस्तो लाग्छ- वैकल्पिक राजनीतिमा लाग्नेहरू सर्वज्ञानी हुन्। त्यतिको जान्ने सुन्ने अरु कोही पनि छैन। झन् पुराना राजनीतिक दल र तिनका नेतृत्व त सर्वथा अक्षम, अज्ञानी र मूर्ख हुन्। जतासुकै यस्ता उपदेश पढ्न, सुन्न पाइन्छ। वैकल्पिक शक्तिका एकदमै औसतखाले नेताबाट समेत यस्तो अभिव्यक्ति आइरहन्छन्, जुन हास्यास्पद र खेदजनक छ। सवाल के हो भने पुराना दल र तिनका नेतृत्व कमजोर छैनन् र होइनन्। तिनीहरूले गरेको मुख्य कमजोरी नीतिनिर्माणको कार्यान्वयनमा हो। जतिसुकै उत्कृष्ट भए पनि जब नेतृत्व व्यक्तिगत स्वार्थपूर्तिमा केन्द्रित हुन्छ, त्यसपछि संस्था र देशले हार्न पुग्छ। व्यक्तिगत स्वार्थ प्रधान बनेर आएपछि नीति, नियम, ऐन, कानुन सबै धरापमा पर्छ।
पुराना दल र तिनका सक्षम नेताहरू चुकेको यहींनेर हो। राणाशासन ढाल्ने, पञ्चायत ढाल्ने, झण्डै दुई दशक जेलनेल र यातना झेल्न सक्ने, हतियारबद्ध लडाईं लडेर सिङ्गो देशको सैन्य शक्तिलाई चुनौती पेश गर्ने नेतृत्व कदापि कमजोर होइन। तर आन्दोलन र युद्धको उपलब्धिलाई संस्थागत गर्न नसक्नु उसको तुच्छ स्वार्थसँग जोडिएको छ। वैकल्पिक राजनीतिमा लागेका मानिसहरू व्यक्तिगत स्वार्थमा निर्लिप्त हुँदैनन् भन्ने कुनै ग्यारेन्टी छ र ?
यसर्थ यस्ता समस्या हल गर्न नीतिगत व्यवस्था मात्रले पुग्दैन, इमानदार नेतृत्वको निर्माण पनि त्यतिकै महत्वपूर्ण हुन्छ। नेतृत्व इमानदार भएन भने लोकतान्त्रिक विधिबाट आएका निर्वाचित नेताहरू समेत बेइमान र धोकाधडीमा उत्रन्छन्। भ्लादिमिर पुटिन, रेसेप तायिप एर्डोगान, भिक्टर अर्वान, डोनाल्ड ट्रम्प जस्ता सनकी नेताहरूले सिङ्गो लोकतान्त्रिक उपलब्धिलाई एकनिमेषमा खत्तम पारिदिन्छन्। यसर्थ वैकल्पिक शक्तिको आडमा अर्काको तेजोबध गर्ने न्यून चेतनायुक्त अहंतालाई नियन्त्रण गर्न जरुरी छ।
मूल एजेण्डामा विचार–विमर्श शून्य
प्रायः वैकल्पिक राजनीतिको वकालत गर्ने नेता तथा दलहरूले एकदमै झिनामसिना खुद्रा कुरालाई मूल मुद्दा बनाएको देखिन्छ। तर मूल मुद्दाहरू सधैं छायाँमा पर्ने गरेका छन्। अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति, अर्थव्यवस्था, सुरक्षा नीति, छिमेकसँगको सम्बन्ध, राज्यको भूमिका, निजी क्षेत्रको क्षेत्राधिकार जस्ता बहुआयामिक मुद्दामा दृष्टि नपुगेको वा बहस केन्द्रित हुन नसकेको छर्लङ्ग देखिन्छ। यस्ता मुद्दाबारे विहङ्गम छलफल गरेर निष्कर्ष ननिकाल्दासम्म वैकल्पिक राजनीति एउटा लहडको विषय मात्र बन्छ।
विश्व भू-राजनीतिमा १९९० पछि सोभियत संघको पतन हुँदै अमेरिकी एकाध्रुवीय विश्व व्यवस्था तीव्र रूपमा भत्किंदासम्म नेपालको विश्वलाई हेर्ने नीति उस्तै छ। छिमेकी चीन र भारतले विश्व मानचित्र बदल्दा नेपालले अपनाउने नीति उस्तै हुन्छ कि फेर्नुपर्छ ? समाजवादी र नवउदारवादी आर्थिक मोडेलले फेल खाँदा तेस्रो विश्वको आर्थिक नीति कस्तो हुन्छ ? रुसले युक्रेन आक्रमण पछि सुरक्षा रणनीतिहरूमा उल्लेख्य बदलाव आउने देखिंदैछ। त्यस्तो अवस्थामा नेपालको सुरक्षा रणनीति कसरी तयार पार्ने भन्ने दूरगामी महत्वका एजेण्डामा ध्यान नै नदिने खुद्रा कुरामा रमाउने मनोवृत्तिले नयाँ र वैकल्पिक शक्तिको निर्माण हुनसक्दैन।
वैकल्पिक शक्तिबीच सहकार्य, साझा एजेण्डा निर्माणमा समस्या
वैकल्पिक शक्ति निर्माणको अभियानमा लामबद्ध भएका नेता तथा कार्यकर्ताहरू साझा नीति, योजना र कार्यक्रम निर्माण गरेर पुराना दललाई चुनौती पेश गर्न विगतमा असमर्थ भए। त्यो खतरा आउने दिनमा पनि उत्तिकै देखिन्छ। कतिपय त प्रतिगामी एजेण्डा बोकेर विगतका आन्दोलन र युद्धले प्राप्त गरेका उपलब्धिलाई उल्ट्याउने हुन् कि भन्ने खतरा समेत देखिन्छ। यसले वैकल्पिक शक्ति निर्माणमा प्रतिकूल असर पार्नेछ।
गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता जस्ता आधारभूत राजनीतिक परिवर्तनलाई शिरमा राखेर नयाँ मुद्दाहरूमा आफूलाई केन्द्रित नगर्ने हो भने त्यो शक्ति कदापि वैकल्पिक बन्न सक्दैन। राजनैतिक उपलब्धिलाई उल्ट्याउने, इतिहासका पाङ्ग्रालाई पछाडि धकेल्ने चेष्टा गर्ने हो भने त्यस्ता प्रतिगामी शक्तिलाई समयमै थान्को लगाउन जरुरी छ। पछाडि फर्केर अगाडिका अजङ्ग चुनौतीको सामना गर्न सकिंदैन।
फेरि विश्व भू-राजनीतिले पनि हामीलाई पछाडि फर्कने छुट दिंदैन। यद्यपि यो खतरा वैकल्पिक राजनीतिको वकालत गर्ने दल, नेतृत्व र त्यसका कार्यकर्तामा छरपष्ट देखिन्छ। यस्तो प्रवृत्तिलाई टाउको उठाउन समेत दिनुहुँदैन। यदि त्यस्तो परिस्थिति सृजना भयो भने त्यो वैकल्पिक शक्ति बन्दैन। केवल प्रतिगामीहरूको अखडा मात्र बन्नेछ।
आगामी चुनावमा स्वतन्त्र उम्मेदवारहरूको लहर देखिए पनि त्यसलाई वैकल्पिक शक्तिमा रुपान्तरण गर्नु टड्कारो आवश्यकता देखिन्छ। देश रुपान्तरण वा विकास गर्ने स्वतन्त्रले होइन, संगठित शक्तिले हो भन्ने कुरा राजनीति गर्ने हरेकले बुझ्न जरुरी छ। यसर्थ छरिएर रहेका वैकल्पिक शक्तिहरूको साझा अवधारणा र एजेण्डा तय गरेर जान सकेको खण्डमा त्यसले आगामी चुनावमा नयाँ सन्देश दिनसक्छ। तर तत्काल त्यो सम्भावना असम्भवप्रायः छ।
वैकल्पिक राजनीतिको फक्रिंदो सम्भावना
आगामी मङ्सिर ४ गते सम्पन्न हुने प्रदेश र संघको चुनावपश्चात् दलहरू सुध्रने र देशलाई विकासको दिशामा डोर्याउने सम्भावना अति कम देखिन्छ। समानुपातिक निर्वाचनको लागि उम्मेदवारी छनोट गर्दा नै त्यसले छनक दिइसकेको छ। कम्तीमा गठबन्धन कायम गर्ने हो भने पनि सजातीयहरूबीच हुनुपर्ने हो। तर कांग्रेस र कम्युनिस्टबीच हुने गठबन्धनको सैद्धान्तिक-वैचारिक सामीप्यतालाई पुष्टि गर्न सकिंदैन। कम्तीमा वामपन्थी र दक्षिणपन्थी शक्तिहरूको बीचमा गठबन्धन प्राकृतिक पनि हुनसक्छ। यो चुनावमा गठबन्धन नहुने हो भने मुख्य दलका शीर्ष नेताहरूले जित्ने सम्भावना न्यून छ। यसर्थ पुराना दलहरू जसरी हुन्छ आफ्नो अन्तिम अस्तित्व रक्षाको लागि जस्तोसुकै हर्कत गर्न तयार देखिन्छन्।
चुनावी परिणामले ल्याउने सम्भावनालाई मध्यनजर गर्दा देशले तात्विक परिवर्तन गर्न सक्दैन। २०४८ सालमा निर्वाचित कैयन् उम्मेदवार ३० वर्षपछि पुनः विजय भएर आउनेछन्। उमेरले नेटो काटेका, विचारमा पूरै स्खलन भएका, नयाँ सृजनाको सम्भावना शून्य भएका दर्जनौं नेताले फेरि पनि संसद् भवन भरिनेछ। बेथिति, भ्रष्टाचार, लुटतन्त्र, माफियातन्त्र, परनिर्भरता, वैदेशिक हस्तक्षेप, विकासविहीनता जस्ता समस्या हामीले भोग्ने नियति हुन् भन्ने कुरामा शंका छैन। जनताले यही विशृङ्खलताको बीचबाट बल्ल नयाँ विकल्पको खोजी गर्नेछन्।
साहित्यकार भिक्टर ह्युगोले भनेका छन्, ‘विचारलाई रोक्ने पृथ्वीमा त्यस्तो कुनै तागत छैन जसको समय आएको छ।’ हो, त्यो समयको आगमन क्षितिजमा झुल्कँदैछ। वैकल्पिक शक्तिका अभियन्ताहरूले त्यसको तयारीस्वरूप आगामी निर्वाचनलाई भव्य उपयोग गर्न सक्नेछन्।
प्रतिक्रिया 4