
११ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले चाडपर्व लक्षित अनुगमन गरेको छ । महानगरले गरेको अनुगमनमा सरकारी कार्यालयको गोदाममा नै उत्पादन मिति उल्लेख नभएको खाद्य सामग्री भेटिएको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको स्टोरमै उत्पादन मिति उल्लेख नभएको खाद्य सामग्री भेटिएको हो । अनुगमनमा सहभागी उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले सरकारी संस्थामै अखाद्य वस्तु भेटिएको बताए ।
‘अरुवा मकवानपुरे चामलमा म्याद सकिने मिति २ वर्ष लेखिएको छ तर उत्पादन मिति लेखिएको छैन । अरु सामग्रीमा पनि त्यस्तै छ, ब्याज नम्बर लतरपतर छ । स्टोरमा भएका सामानहरुको म्याद गुज्रिने मिति नजिकै छ ।’
उनले उपभोक्ताको विषयमा सरकार नै जिम्मेवार नभएको बताए । ‘सरकारी संस्थाको हालत यस्तो छ । सधैं हाम्रो प्रश्नमा पन्छिने काम मात्रै गर्छ । उपभोक्ता प्रति अलि गम्भीर हुनुपर्ने हो तर त्यस्तो छैन । ’
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बागमती प्रादेशकी प्रमुख ज्ञानु थापाले मिति सकिएका खाद्य सामग्री विभागले जानी जानी अहिलेसम्म नबेचेको बताइन् । उनले कतिपय सामान गोदाममा राख्दा मिति नभएको हुनुसक्ने स्वीकार गर्दै सच्याउने बताइन् । गोदाममा सामाग्री राख्दा आगमी दिनमा अझै ध्यान दिने उनले बताइन् ।
अब नियमित अनुमगन
काठमाडौं महानगरमा तीन टोलीले बजार अनुगमन गरिरहेको उपमेयर सुनिता डंगोलले जानकारी दिइन् । महानगरले टुकुचा खोलाको खसी बजारसहित विभिन्न क्षेत्रमा अनुगमन गरेको उनले बताइन् ।
अनुगमनका क्रममा बजारमा अखाद्य वस्तु बेच्ने गरेको, महानगरमा व्यवसाय नै दर्ता नगरेको पाइएको उनले बताइन् ।
‘चाडपर्व लक्षित मात्रै नभई अब बजार अनुगमन नियमित हुन्छ । काठमाडौंको विभिन्न क्षेत्रमा अखाद्य वस्तु वितरण भएको, म्याद गुज्रेको, गोदाम अव्यवस्थित लगायत पाएका छौं,’ डंगोलले भनिन्, ‘पहिलोपटक भएर हामीले आज कुनै कारबाही गरेका छैनौं । तर अब अर्को चोटी अनुगमन गर्दा गल्ती भेटिएमा कानुनी कारबाही गर्ने जानकारी गराएका छौं ।’ महानगरले होटल, खाद्य सामग्री, नियमित प्रयोग हुने तरकारी, गोदाम, व्यवसाय दर्ता, नवीकरण, उपभोग्य मिति, प्याकेजिङ जस्ता कुरालाई विशेष ध्यानमा राखेर अनुगमन गरेको उनले बताइन् ।
डंगालले महानगरकै उपभोक्ता पनि उपभोग्य सामग्री खरिद गर्दा सचेत हुनुपर्ने भन्दै यस्तो नदेखिएको बताइन् । महानगरभित्र उपभोक्तालाई समस्या भए, कालोबजारी भएको पाइए, म्याद गुज्रेको सामग्री बिक्री गरेको पाइएमा कल सेन्टरमा फोन गरेर जानकारी गराए तुरुन्तै कारबाही हुने उनले बताइन् ।
तस्वीरहरु : आर्यन धिमाल/अनलाइनखबर
प्रतिक्रिया 4