
११ असोज, काठमाडौं । कांग्रेसभित्र उम्मेदवार चयन र सिट बाँडफाँटमा असन्तुष्टि जनाएको शेखर कोइराला पक्षका नेता गुरुराज घिमिरेले आफूहरुको खबरदारी नेता शेखर कोइरालालाई पनि भएको बताएका छन् ।
समानुपातिक पद्धतिको उम्मेदवारको बन्द सूचीप्रति आपत्ति जनाउँदै विरोधमा उत्रिरहेको समूहको अगुवाइ गरिरहेका नेता घिमिरेले आफूहरुको खबरदारी सभापति देउवालाई मात्रै नभएको प्रष्टाए । मंगलबार पार्टी कार्यालय सानेपामा पत्रकारहरुसँग कुरा गर्दै उनले आफूहरुको खबरदारी पार्टीभित्रका प्रतिस्पर्धी अरु नेताहरुलाई पनि भएको बताए ।
‘खबरदारी सभापति शेरबहादुर देउवा, शेखर कोइराला, सबै पदाधिकारीहरुलाई, दलका नेताहरुलाई पनि हो । हाम्रो नेताहरुसँग छलफल गर्दा पार्टी भित्र न्यायसंगत भए नभएको सोधखोज उहाँहरुले गर्नुपर्दछ’ घिमिरेले भने ।
कांग्रेसकै भाग खोस्ने काम माओवादीबाट भएकाले प्रचण्ड विरुद्ध उम्मेदवारी दिने अभिव्यक्ति दिएको उनले बताए । ‘हाम्रो भाग खोस्ने हो भने प्रचण्डसँगै लड्न किन नजाने? उहाँले हाम्रो भाग खोस्नु हुन्छ । हामीले उहाँसँग प्रतिस्पर्धा गर्छौं ।’ घिमिरेले भने ।
खबरदारीको तीन चरण रहेको बताउँदै घिमिरेले उम्मेदवारी गठबन्धनका विरुद्ध उम्मेदवारी दिने कार्य विद्रोहको चरण भएको बताए । विनम्रताको चरण सकिएर विरोधको चरणमा खबरदारी भइरहेको उनले जानकारी गराए ।
गठबन्धनका नेता विरुद्ध उम्मेदवार हुँदा पार्टीले कारबाही गरे भोग्न तयार रहेको उनले बताए । ‘न्यायका लागि आवाज उठाउँदा कारबाही भए भोग्न तयार छौं’ घिमिरेले भने ।
प्रतिक्रिया 4