
११ असोज, काठमाडौं । चुनावी तालमेलका कारण किनारामा पर्ने त्रासमा रहेको नेपाली कांग्रेसको डा. शेखर कोइराला पक्षमा आक्रोश चुलिएको छ । यो पक्षका नेता गुरुराज घिमिरेले मंगलबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध उम्मेदवारी दिने चेतावनी दिए ।
मोरङ–४ बाट उम्मेदवारको आकांक्षी रहेका उनी सत्तारुढ गठबन्धनको छलफलमा उक्त क्षेत्र माओवादी केन्द्रको भागमा पर्ने थाहा पाएपछि प्रचण्डविरुद्ध खनिएका छन् । ‘हाम्रो भाग खोस्ने हो भने प्रचण्डसँगै लड्न किन नजाने ? उहाँले हाम्रो भाग खोस्नुहुन्छ । हामीले उहाँसँग प्रतिस्पर्धा गर्छौं’, घिमिरेले पत्रकारहरुसँग भने ।
शेखर पक्षको असन्तुष्टिले कांग्रेसभित्रको राजनीतिमात्र तरंगित भएको छैन । पार्टीभित्र न्यायोचित व्यवहारको माग गर्दै बुधबार पार्टी कार्यालयमा धर्ना दिने घोषणा गरेको शेखर पक्षले सत्तारुढ गठबन्धनमा रहेका अरु दललाई पनि असहयोग गर्ने बताएको छ । पार्टीले टिकट नपाएको क्षेत्रमा शेखर पक्षका केही नेताले स्वतन्त्र उम्मेदवारी दिने चेतावनी दिएका छन् भने कतिपयले असहयोग गर्ने बताएका छन् ।
सत्तारुढ पाँच दलमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रको सिट बाँडफाँटको छलफल चलिरहँदा त्यसको प्रत्यक्ष असर आफ्नो समूहमा पर्ने संकेत शेखर पक्षले पाइसकेको छ । सिट बाँडफाँटमा पार्टीले पाएको हिस्सेदारीमा सभापति शेरबहादुर देउवाले संस्थापन इतरलाई महत्व नदिने उनीहरुको बुझाइ छ । त्यसैले उनीहरु आफ्नो पार्टीसँगै सत्तारुढ गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायतका दलका नेताहरुविरुद्ध पनि बोल्न थालेका छन् ।
कांग्रेसभित्रको आन्तरिक समस्याले ल्याउने परिणामको भागीदार गठबन्धनका उम्मेदवार समेत हुने उक्त पक्षले चेतावनी दिएको छ । पार्टीभित्र न्यायोचित भागवण्डा हुन नसके गठबन्धनका शीर्ष नेताका क्षेत्रमा विद्रोही उम्मेदवारी दिने तयारी समेत रहेको शेखर पक्षका एक नेता बताउँछन् ।
‘कांग्रेसका उम्मेदवार भएको ठाउँमा मत खसाल्न कार्यकर्तालाई अपिल गर्छौं । प्रचारमा पनि खटिन्छौं’, शेखर पक्षका एक नेता भन्छन्, ‘गठबन्धन उम्मेदवार भएका ठाउँमा निष्क्रिय बस्छौं ।’ कांग्रेसकै बलमा चुनाव जित्न खोज्ने गठबन्धनका शीर्ष नेताहरु भएको स्थानमा भने विद्रोही उम्मेदवार खडा गर्ने उनले दाबी गरे ।
शेखर पक्षका नेताले तालमेल विना माओवादी केन्द्रले ८ र नेकपा एकीकृत समाजवादीले १ सिटमात्र जित्न सक्ने दावी गरेका छन् ।
तालमेल गर्दा १०० क्षेत्रको दाबी गर्दै आएको शेखर पक्षको अडान संस्थापन पक्षकै कारण कमजोर भएको छ । कांग्रेसले ८५ हाराहारी क्षेत्र लिएर सत्तारुढ गठबन्धनमा सहमति खोज्न कांग्रेसका नेताहरु लागिरहेका छन् ।
सिट बाँडफाँटमा पार्टीले पाउने क्षेत्र घटेसँगै आफ्नो पक्षले कम क्षेत्र पाउने शेखर पक्षले बुझिसकेको छ । त्यसैले पाएको सिटमा समान र न्यायोचित अवसरको मुद्धालाई प्राथमिकताका साथ उठाउन थालेको छ । ‘४० भनेर ४० प्रतिशत नै हुनुपर्छ भन्ने होइन, न्यायोचित हुनुप¥यो’, शेखर पक्षका नेता घिमिरेले भने, ‘त्यसमा ४/५ प्रतिशत तलमाथि हुनसक्छ । तर, न्यायोचित हुनुपर्छ ।’
शेखर पक्षका कतिपय नेताहरु कम्युनिस्ट शक्तिहरु विभाजित भएको बेला कांग्रेसले एक्लै प्रतिस्पर्धा गर्नुपर्ने मत पनि राखेका छन् । संस्थापन पक्षका केही नेताहरु समेत यो तर्कमा सहमत छन् । तर, सार्वजनिक रुपमा उनीहरु बोल्न चाहँदैनन् । शेखर पक्षका नेताको क्षेत्र सिट बाँडफाँटमा अरु दलको भागमा पारिएको समेत उनीहरुको आरोप छ ।
तालमेलले गर्दा कांग्रेसनमा नेताहरुको व्यवस्थापन कठिन बनेको छ । एक्लाएक्लै प्रतिस्पर्धा गर्ने हो भने प्रतिनिधिसभा र प्रदेशसभाका गरी कुल ४९५ जनाले टिकट पाउँथे । केन्द्रमा देउवा पक्षको उम्मेदवार भए प्रदेशमा शेखर पक्षलाई अवसर हुने थियो । अथवा, केन्द्रमा शेखर पक्षको उम्मेदवार बनेको अवस्थामा प्रदेशमा देउवा पक्षले अवसर पाउने थिए ।
त्यसका कारण पार्टी भित्रको असन्तुष्टि कम गर्ने एउटा विकल्प थियो । तालमेलले गर्दा केन्द्रमा कांग्रेसको उम्मेदवार हुँदा प्रदेशमा गठबन्धनका अन्य दललाई छोड्नुपर्ने हुन्छ । त्यसो हुँदा कांग्रेसको एक पक्षका नेताकोे व्यवस्थापन हुन नसक्ने शेखर पक्षको मत छ ।
समानुपातिक पद्धतिको बन्दसूचीमा पनि आफू पक्षका नेताहरु थोरै मात्र समेटिएको र उनीहरु पनि क्रम संख्याको पछाडि रहेको निष्कर्ष निकालेको संस्थापन इतर पक्षले प्रत्यक्षतर्फ पनि पेलिने आकलन गरेको छ ।
समानुपातिकको बन्द सूचीमा ११० जनाको नाम समावेश गर्दा शेखर पक्षका १३ जनाले मात्रै स्थान पाएका छन् । ‘असोज ३ मा बुझाएको बन्दसूची परिमार्जन नहुने हो भने हाम्रो पक्षका १३ जनामा एक जना पनि सांसद हुने अवस्था छैन’ शेखर पक्षका एक नेताले भने ।
असन्तुष्टि मत्थर गर्ने विकल्प समेत कांग्रेसमा साँघुरिँदै गएको छ । परिणामतः तालमेलकै विरुद्धमा कांग्रेसकै नेताहरु लाग्ने डर यथावत रहन्छ ।
कांग्रेसभित्रको असन्तुष्टिले प्रमुख प्रतिपक्ष दल एमालेले लाभ लिने आकलन पनि केही नेताहरुले गरेका छन् । ‘हामीले जित्न सकिने ठाउँमा उम्मेदवार नहुने अवस्था बनेको छ । अर्को दललाई जिताउन कांग्रेसकै मत खन्याउनुपर्छ’, शेखर पक्षका एक नेता भन्छन्, ‘कांग्रेसको सबै मत खसेन भने गठबन्धनका उम्मेदवारले जित्न गाह्रो हुन्छ । गठबन्धनले नजित्नु भनेको एमालेको सिट बढ्नु त हो ।’
कांग्रेस स्रोतका अनुसार एमाले अध्यक्ष केपी शर्मा ओलीले नेता शेखर पक्षसँग गठजोड गर्न चाहिरहेका छन् । शेखर निकटका केही नेतासँग ओलीको संवाद समेत भइसकेको छ । एमालेसँग गठजोड गर्न शेखर तयार छैनन् ।
शेखर तयार नभएपनि केही नेताहरु भने कांग्रेसबाट विद्रोह गरेर एमालेको सहयोगमा निर्वाचन लड्ने तयारीमा रहेको स्रोतको दाबी छ । ‘कांग्रेसमै रहेर गठबन्धनका विरुद्धमा उठ्न मिल्दैन । विद्रोही उम्मेदवार हुँदा एमालेले साथ दिनसक्छ’ ती नेता भन्छन् ।
प्रतिक्रिया 4