+

ह्याट्रिक गरेका अञ्जन भन्छन् : विगत सम्झिन चाहन्न, आज एकदमै खुुसी छु

२०७९ असोज  ११ गते २०:२० २०७९ असोज ११ गते २०:२०
ह्याट्रिक गरेका अञ्जन भन्छन् : विगत सम्झिन चाहन्न, आज एकदमै खुुसी छु

११ असोज, काठमाडौं । बंगलादेशविरुद्ध ह्याट्रिक गरेका नेपाली फुटबलर अञ्जन विष्टले आफ्नो खुसी शब्दमा बयान गर्न नसक्ने बताएका छन् ।

मंगलबार भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले अञ्जनको ह्याट्रिकको मद्दतमा बंगलादेशलाई ३–१ ले हराएको छ । खेलपछि आयोजित पत्रकार सम्मेलनमा अञ्जनले भने, ‘विगतमा के भयो सम्झिन चाहन्न । एकदमै धेरै नै खुुसी छु, त्यो खुसीलाई शब्दमा बयान गर्न सक्दिनँ ।’

पछिल्लो पटक मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले गलत व्यवहार गरेको भन्दै विष्टसहित राष्ट्रिय टिमका १० खेलाडीले फुटबलको बन्द प्रशिक्षण छाडेका थिए । त्यसपछि उनीहरु कुवेतमा भएको एसियन कप छनोटमा उनीहरुलाई प्रशिक्षक अलमुताइरीले टिमबाहिर राखेका थिए । अहिले अल्मुताइरीले पद छाडेका छन् भने एन्फाले प्रदीप हुमागाईंलाई कार्यबाहक प्रशिक्षक बनाएको थियो ।

उनकै प्रशिक्षणमा भएको यो खेलमा नेपालले बंगलादेशलाई सहज रुपमा हराउँदा अञ्जनले ह्याट्रिक गरेका हुन् ।

त्यो विवादबारे सोधिएको प्रश्नमा उनले पाठ सिक्ने मौका पाएको बताए । तर विगतमा के भयो भनेर धेरै सम्झिन नचाहेको भन्दै उनले भने, नेपालको लागि जस्तो अवस्थामा पनि फुटबल खेल्छु ।’

मंगलबारको तीन गोलसँगै राष्ट्रिय टिमका लागि उनको गोल संख्या १० पुगेको छ । अब उनी सर्वाधिक गोलकर्ताको कीर्तिमान बराबरी गर्न मात्र ३ गोलले टाढा छन् । नेपालका सर्वाधिक गोलकर्ता हरि खड्का र निराजन रायमाझीले १३ गोल गरेका छन् ।

अञ्जनले भने आफ्नो लागि गोलभन्दा टिमको जित प्राथमिकतामा पर्ने बताए । उनले भने, ‘टिमले जितेपछि गोल स्कोररमा कहिले म परुला, कहिले साथी पर्ला ।

कार्यबाहक प्रशिक्षक हुमागाईंले खेलाडीहरुमाथि आफ्नो विश्वास रहेको बताए । यो जितको मुख्य श्रेय खेलाडीहरुलाई जाने भन्दै उनले भने, ‘प्लेयरहरुमा विश्वास थियो, त्यसैले जित्छ भन्ने थियो ।’

संक्रमणकालीन अवस्थामा आफू प्रशिक्षक भएर आएको र यो खेलसँगै आफ्नो जिम्मेवारी सकिएको उनले बताए । यद्यपि राष्ट्रिय टिम सम्हाल्ने अवसर पाउँदा हासिल गरेको जितले आफ्नो प्रोफाइललाई पनि निकै मद्दत गरेको उनले बताएका छन् ।

अञ्जन विष्ट नेपाल-बंगलादेश फुटबल नेपाली फुटबल फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय