
११ असोज, काठमाडौं । उपभोक्ता हित संरक्षण मञ्चले दशैंको मुखैमा खाद्य वस्तुको मूल्यमा अत्यधिक कृत्रिम मूल्यवृद्धि गरिएको जनाएको छ ।
मञ्चको केन्द्रीय अनुगमन टोलीबाट ‘काठमाडौंमा बजार मूल्य सर्बेक्षण’ गर्दा बितेको २ हप्ता बीचमा केहि बस्तुमा कृत्रिम तथा अत्यधिक मूल्यवृद्धि भएको मञ्चका अध्यक्ष ज्योति बानियाँले बताए ।
‘चामल, जीरा मसला, केराउ, आटा, मैदा र चिनीमा अत्यधिक र कृतिम मूल्यबृद्धि गरिएको छ,’ बानियाँले भने,’नेपालमा कानुन, सरकार,सुशासन छ भने थोक तथा खुद्रा बिक्री स्थलका खरिद मूल्य र बिक्री मूल्य हेरेर कारबाही गरे हुनेथियोे ।’
मञ्चले गरेको अध्ययनमा जीरा मसिनो चामलको मूल्य प्रतिबोरा २० प्रतिशतले बढेर १५०० सय रुपैयँबाट १८०० सय रुपैयाँ पुगेको पाइएको छ ।
यस्तै सोना मन्सुली चामलमा २६ प्रतिशत मूल्य बढाइएर प्रतिबोरा १३०० बाट १६ सय ५० पुर्याइएको मञ्चले जनाएको छ । जीरा मसला प्रतिकिलो ५०० रुपैयाँबाट ५ सय ५० र केराउ प्रतिकिलो १७० बाट २०० सय रुपैयाँ पुर्याइएको मञ्चको विज्ञप्तिमा उल्लेख छ ।
यस्तै टाइचिन चिउरा १२० रुपैयाँबाट बढाएर १४० पुर्याइएको, आटा र मैदाको मूल्य ६० रुपैयाँ किलोबाट ८० रुपैयाँ पुर्याइएको छ । यस्तै चिनीको मूल्य प्रतिकिलो १०० सय रुपैयाँबाट १०३ रुपैयाँ पुर्याइएको मञ्चको दाबी छ ।
प्रतिक्रिया 4