
काठमाडौं । संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति एवं अभिनेता हरिहर शर्माले कलाका सबै विधालाई एकीकृत गर्नु जरुरी रहेको बताएका छन् ।
म्युजिक भिडियो निर्देशक समाजले काठमाडौंमा आयोजना गरेको दशैं शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रममा उनले उक्त कुरा बताए । म्युजिक भिडियोको महत्व दर्शाउँदै यसको गाम्भीर्यतालाई मनन गर्नुपर्ने उनले बताए ।
शर्माले भने, ‘प्रस्तुति कलाका सबै माध्यमको उद्देश्य आफ्नो कथा भन्ने हो, यसमा जुन जुन विधाहरु छन् सामूहिक रुपमा काम गर्नुपर्छ । यी सबै एक अर्कामा अन्योन्याश्रित छन् । अलग अलग बाटो हिंड्यो भने स्थायित्व पाउन असम्भव हुन्छ ।’
उनले अगाडि भने, ‘सानो होस् या ठूलो फिल्म होस् । म्युजिक भिडियो होस् यी सबैको उत्तिकै महत्व छ । यदि हामीले फिल्मबाट गीतलाई अलग्गै निकाल्ने हो भने त्यो गीतलाई म्युजिक भिडियोको रुपमा हेर्न सकिन्छ । तसर्थ हामीले यसबारेमा गम्भीर भएर सोच्नुपर्छ ।’
कार्यक्रममा म्युजिक भिडियो निर्देशकद्वय सहेन्द्र श्रेष्ठ, प्रकाश भट्ट र संगीता श्रेष्ठलाई सम्मान प्रदान गरियो । निर्देशक नारायण रायमाझी, डिजिटल प्रवद्र्धक ओमप्रकाश अग्रवाल, कोरियोग्राफर शिव विक र प्रेस सल्लाहकार जीवन पराजुलीलाई सम्मानपत्र प्रदान गरिएको थियो ।
समाजका अध्यक्ष विधान कार्कीले संस्थाको महत्व र आवश्यकताबारे प्रष्ट्याएका थिए । नेपाली म्युजिक भिडियो निर्देशकहरुको परिचय र पहिचान स्थापित गर्दै उनीहरुको हकहितका लागि काम गर्ने उद्देश्यका साथ संस्थाको स्थापना भएको उनले बताए ।
प्रतिक्रिया 4