
१२ असोज, काठमाडौं । ४९ वर्षीया हिलारी नेल्सनले स्की खेलेरै विश्वभरि चर्चा कमाइन् । सन् १९७२ डिसेम्बर १३ जन्मेकी उनका दुई छोरा छन् । पार्टनर जिम मोरिसन पनि मनास्लुको स्की खेलमा साथै थिए ।
सन् २००५ मा उनले नेपालको चोयु हिमालको चुचुरोबाट स्की गरेकी थिइन् । सन् २०१२ मा उनले ८ हजार मिटर भन्दा अग्लो ल्होत्से हिमालको चुचुरोबाट अवतरण गरेकी थिइन् ।
८ हजार मिटर अग्ला दुई हिमाल अवतरण गरेको कीर्तिमान उनकै नाममा छ । त्यसपछि सन् २०१८ मा नर्थ फेसले उनलाई एथलिट टिमको लिडर बनाएको थियो । सन् २०१८ मै नेशनल जिओग्राफिकले उनलाई एडभेन्चरर अफ दि इयर घोषणा गरेको थियो ।
मेन्स जर्नलले उनलाई २५ वर्षको अवधिकै सबैभन्दा साहसी महिलाको दर्जा दिएको छ ।
मनास्लु हिमालमा गत सोमबारदेखि हराइरहेकी हिलारी नेल्सनको शव आज बिहान फेला परेको हो । ८ हजार १६३ मिटर अग्लो मनास्लु हिमालमा स्की गर्ने क्रममा उनी भीमथाङ क्षेत्रबाट हराएकी थिइन् ।
उनी हराएपछि खोजीका लागि शेर्पाहरुको टोली परिचालन गरिएको थियो । उनीहरुले शव भेटेको खबर गरेपछि हेलिकप्टर त्यसतर्फ पठाइएको छ । उनको शवलाई हेलिकप्टरमार्फत् गोरखाको सामागाउँ हुँदै काठमाडौं ल्याइने छ ।
गत सोमबार बिहान करिब साढे ११ बजे मनास्लुको तेस्रो र चौथो आधार शिविरमा हिमपहिरो गएको थियो । घटनामा एक जना नेपालीको मृत्यु भएको थियो भने ११ जना घाइते भएका थिए । सोही क्रममा हिलारी बेपत्ता भएकी थिइन् । उनीसँगै स्की गर्दै आएका उनका पार्टनर जिम मोरिसन यात्रामा साथै थिए । तर उनी सकुशल छन् ।
हिलारीले २४ घण्टाभित्र सगरमाथा र ल्होत्से हिमाल आरोहणमा सफलता प्राप्त गरी कीर्तिमान राखेकी छन् ।
प्रतिक्रिया 4