
काठमाडौं । काठमाडौको गोंगबु बसपार्क, गौशाला, कोटेश्वर, कलंकी जस्ता स्थानमा यतिबेला मेला नै लागेको छ । अरुबेला पनि भीडभाड हुने यी ठाउँमा दशैं मनाउन घर फर्कनेहरुको लर्कोले मेला लागे झैं देखिन्छ ।
यात्राका लागि बिहान सबेरैदेखि टिकटको जोहो गर्न पुगेकाहरुको पंक्ति लम्बिंदै गएको छ । दुःखलाग्दो चाहिं के भने यतिको दौडधुप गरेर पनि कतिपयले टिकट पाएका छैनन् । टिकट नपाउने मात्र होइन, टिकट काटिसकेपछि पनि ठगिने जोखिम हुन्छ ।
कसरी ठगिन्छन् ?
दशैंमा यात्रुको चाप बढ्ने भएकाले नियमित गुडिरहेको गाडीले थेग्दैन । त्यसैले सयौंको संख्यामा अरु गाडी थप गरिन्छ । अर्कोतिर यात्रुको चाप अनुरुप गाडीको अनुपात नमिल्ने समस्या हुन्छ । जसले गर्दा यात्रुहरुले चर्को मूल्यमा टिकट खरिद गर्नुपर्ने, थोत्रो गाडीमा कोचिनुपर्ने बाध्यता हुन्छ ।
व्यवसायीहरुले जथाभावी टिकट बिक्री गर्ने, तर त्यस अनुरुप गाडी उपलब्ध गराउन नसक्ने समस्या पनि हुन्छ । यसले गर्दा धेरै यात्रु अलपत्र पर्ने गरेका छन् ।
नयाँ बसपार्क गोंगबुमा भेटिएका एक यात्रु भन्दै थिए, ‘डिलक्स भन्दै, एसी भएको भन्दै चर्को पैसामा टिकट कटाउँछन् । पछि यात्रा गर्ने दिन त्यो गाडी हुँदैन, थोत्रो गाडीमा कोचेर पठाउँछन् ।’
नयाँ एवं आरामदायक गाडीको फोटो देखाएर टिकट काट्ने र अरु नै गाडीमा चढ्न बाध्य तुल्याउने प्रवृत्ति व्यापक भएको उनले बताए ।
हतार र भीडभाडमा टिकट काट्दा धेरै यात्रुले कुन गाडीमा जाने हो, त्यसको नम्बर कति हो, सिट नम्बर कुन हो ? यी विषयमा हेक्का राख्दैनन् । झन् टिकट काट्नेहरुले त यी कुराहरु उल्लेख नगरी टिकट बिक्री गर्छन् । पछि घर फर्कन तयार भएका यात्रुलाई जुनसुकै गाडीमा कोचेर पठाउने गर्छन् ।
‘यस्तो काम नियोजित रुपमै हुन्छन्,’ मोरङका प्रेम लिम्बू भन्छन्, ‘यात्रा गर्ने दिन सबै सरसामान लिएर, बालबच्चा लिएर गाडी चढ्ने ठाउँमा आइपुगेका हुन्छौं । यस्तो बेला उनीहरुले जुन गाडीमा चढायो त्यसैमा जानुपर्ने बाध्यता हुन्छ ।’
यसरी यात्रुलाई बाध्य पारेर थोत्रो गाडीमा कोच्ने, एउटै चालकले रातदिन गाडी कुदाउने, गाडीको क्षमताभन्दा बढी यात्रु बोक्ने, अनियन्त्रित रुपमा गाडी हुँइक्याउने जस्ता प्रवृत्तिले गर्दा दुर्घटनाको जोखिम समेत उच्च हुने गरेको छ ।
ट्राफिक भन्छन्- यात्रु आफैं सचेत हुनुपर्छ
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक तथा प्रवक्ता राजेन्द्रप्रसाद भट्ट दशैंको बेला सबैलाई घर जान हतार हुने भएकाले यस्तो बेला हुने ठगीबाट बच्न यात्रु आफैं सचेत हुनुपर्ने बताउँछन् ।
‘एक्कासी यात्रुको चाप बढ्ने, भीडभाड हुने भएकाले ठगिने जोखिम हुनसक्छ,’ प्रवक्ता भट्ट भन्छन्, ‘यतिबेला यात्रु स्वयं पनि सचेत एवं सतर्क हुनैपर्छ ।’ यात्रुलाई सहज र सुरक्षित ढंगले घरसम्म पुर्याउनका लागि ट्राफिक प्रहरीले यातायात व्यवस्था विभाग र यातायात व्यावसायी महासंघसँगको समन्वयमा काठमाडौंका विभिन्न १४ स्थानमा यात्रु सहायता कक्ष निर्माण गरी काम गरिरहेको उनी बताउँछन् ।
‘गाडीमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नदिने, गाडीको यान्त्रिक परीक्षण गर्ने र लामो दूरीका गाडीमा दुई सवारी चालक भए नभएको, मादक पदार्थ सेवन गरे नगरेको र गतिलाई नियमित परीक्षण गरेर यात्रालाई सुरक्षित बनाउने प्रयास गरिरहेका छौं,’ उनले भने । साथै प्रहरीले सवारी साधनको बीमा गरे नगरेको पनि चेकजाँच गरिरहेको छ ।
सवारीको यान्त्रिक परीक्षण गर्दा ट्राफिक प्रहरीले असोज ९ गते जगाती नाकाबाट १३ र थानकोटबाट १६ यान्त्रिक अवस्था ठीक नभएका सवारी साधन नियन्त्रणमा लिएको थियो ।
दशैंको बेला समयमा टिकट नपाइने, दोहोरो टिकट काटिने, यान्त्रिक अवस्था ठीक नभएको जस्ता समस्या आउन सक्ने भट्ट बताउँछन् । टिकट काट्दा भरपर्दो र नियमित काटिरहेको काउन्टरबाट काट्नुपर्ने, सवारी छुट्ने समय र मितिमा राम्ररी विचार गर्ने, समयमा बसपार्क पुग्ने र कुनै समस्या भए प्रहरी सहायता कक्षमा सम्पर्क गर्ने र बाटोमा कुनै जोखिम भए वा कानुन विपरीतको काम गरे प्रहरीलाई खबर गर्नुपर्ने भट्ट सुझाउँछन् ।
यात्रुलाई बिचौलियाले दुःख दिए कारबाही : यातायात व्यवसायी
नेपाल यातायात राष्ट्रिय व्यावसायी महासंघका प्रवक्ता डेकनारायण गौतम हरेक यात्रुलाई सुरक्षित गन्तव्यमा पुर्याउनु आफ्नो उत्तरदायित्व भएको बताउँछन् । महासंघमा आवद्ध यातायात व्यवसायीले यात्रुलाई सास्ती हुने, दुःख पुग्ने र जोखिम हुने कुनै पनि काम नगर्ने उनी दाबी गर्छन् ।
‘सिट क्षमताभन्दा बढी यात्रु नराख्ने र गति सीमित गरी भनेको समय र मितिमा यात्रुलाई सुरक्षित स्थानमा पुर्याउनु हाम्रो दायित्व हो,’ उनी भन्छन् ।
महासंघले यात्रुलाई भनेको स्थानमा पुर्याउन जगेडा बसेका सबै सवारी परिचालन गर्ने भन्दै उनी प्रतिदिन ६०० सवारीमा ५० हजार बढी यात्रुले उपत्यका छाडिरहेको बताउँछन् ।
‘भीडभाड भयो, यात्रु बढे भन्दैमा बढी भाडा लिने, दोहोरो टिकट काट्ने तथा राम्रो भनेर थोत्रा गाडी राख्ने जस्ता अनौतिक काम महासंघले गर्दैन । कुनै बिचौलियाले त्यस्तो काम गरेको भए महासंघले त्यस्ता व्यक्ति र संस्थालाई कारबाही मात्रै नभई निलम्बन गर्छ,’ उनले भने ।
यात्रालाई सहज र सुरक्षित बनाउन यात्रु आफैं पनि सचेत हुनुपर्ने गौतम बताउँछन् । ‘यात्रुले आधिकारिक र सधैं काटिरहेको, ड्रेस लगाएका कर्मचारी भएका टिकट काउन्टरबाट मात्रै टिकट काट्नुपर्छ,’ उनी भन्छन्, ‘सवारी छुट्ने समय र मिति राम्ररी बुझेर तोकिएको समयमा बसपार्क पुग्ने । दोहोरो सिट काटिएको रहेछ भने काउन्टर, बस स्टाफ र प्रहरीलाई खबर गर्नुपर्छ ।’
अग्रिम बुकिङ गर्दा काटिने टिकटमा गाडी नम्बर उल्लेख गरिंदैन । जसकारण थोत्रो र पुरानो गाडी पर्ने जोखिम रहन्छ । ‘दशै तिहारको बेला यात्रुको संख्या धेरै हुने हुँदा सवारी नपुग्ने भएकाले होल्ड बसेका र सही अवस्था भएका गाडी पठाउनुपर्ने हुन्छ । यसरी अवस्था ठीक भएका सवारी पठाउँदा कहिलेकाहीं गाडी फेरबदल हुनसक्छ,’ गौतम भन्छन्, ‘तर गाडी टिकटमा उल्लेख गरिएको र पैसा तिरे अनुसारकै सेवा सुविधा भएको हुन्छ ।’
प्रवक्ता गौतम काउन्टर तथा कुनै अमूक व्यक्तिले सरकारले तोकेको भन्दा बढी भाडा लिएमा र भनेको भन्दा फरक सवारीमा पठाएमा तुरुन्त प्रहरीलाई खबर गर्न आग्रह गर्छन् ।
प्रतिक्रिया 4