
काठमाडौं । ठमेल रेमिट प्रालि नेपाल क्लियरिङ् हाउस लिमिटेड (एनसीएचएल) को नयाँ प्राविधिक सदस्यको रुपमा जोडिएको छ । अब ठमेल रेमिटले ‘तु रेमिट्यान्स सेवा’का लागि आन्तरिक च्यानलको रूपमा एनसीएचएलको नेशनल पेमेन्ट स्विच (एनपीएस) प्रयोग गर्ने भएको छ । एनसीएचएलसँगको यस आबद्धतापछि संयुक्त राज्य अमेरिका (यूएसए) बाट पठाएको पैसा अब केही सेकेन्डमै नेपालमा प्राप्त गर्न सकिनेछ ।
नेशनल पेमेन्ट स्विचसँगको सहकार्यबाट आफूहरु उत्साहित भएको ठमेल रेमिटका सह-संस्थापक बाल के जोशीले बताए । यस सहकार्यले ठमेल रेमिटलाई अमेरिकादेखि नेपालसम्मको मार्गमा गैर-कार्डमा आधारित, बैंक-टु-बैंक कारोबार तत्काल सेटलमेन्ट गर्ने पहिलो डिजिटल मनी ट्रान्सफर कम्पनी बनाउने उनले बताए ।
सामान्यतया, यस प्रकारको रियल टाइम ट्रान्सफर सुविधा महँगो शुल्क लाग्ने डेबिट र क्रेडिट कार्ड नेटवर्कमा मात्रै उपलब्ध रहेको भन्दै उनले अमेरिकामा भएका नेपालीहरुलाई अब अझै छिटो र चुस्त रुपमा नेपालका जुनसुकै कुनाकाप्चामा पैसा पठाउने सेवा प्रदान गर्न सक्ने उनले बताए ।
अमेरिकाको नेशनल अटोमेटेड क्लियरिङ हाउस एसोसिएसन अप्रत्यक्ष रूपमै भएपनि नेपाल पेमेन्ट इन्टरफेस (एनपीआई) सँग जोडीएको यो पहिलो पटक भएको उनको भनाइ छ । यो आवद्धता नेपालमा डिजिटल रेमिट्यान्सका लागि एउटा महत्वपूर्ण कदम भएको उनले बताए ।
अब ठमेल रेमिटले आफ्नो आन्तरिक भुक्तानी प्रणालीलाई एनसीएचएलको नेशनल पेमेन्ट इन्टरफेस (एनपीआई) सँग जोडी एनपीएस अन्तर्गतको विभिन्न भुक्तानी उपकरणहरु प्रयोग गरी रेमिटले स्वचालित रुपमा भुक्तानी कारोबारहरु गर्न सक्ने कम्पनीको भनाइ छ ।
प्रतिक्रिया 4