
काठमाडौं । ईसेवा प्रालिको प्रमुख कार्यकारी अधिकृतमा जगदिश खड्का नियुक्त भएका छन् ।
चाटर्ड एकाउन्टेन्ट खड्कालाई ईसेवाको सञ्चालक समितिले सीईओका रुपमा नियुक्त गरेको हो । नवनियुक्त सीईओ खड्कालाई ईसेवाका अध्यक्ष परशुराम कुवँर क्षेत्रीले पद तथा गोपनीयताको सपथ खुवाए । सीईओ खड्काले बुधबार नै आफ्नो कार्यभार सम्हालेका छन् ।
उनीसँग बिजनेस अपरेशन म्यानेजमेन्ट, फाइनान्सियल प्लानिङ एण्ड म्यानेजमेन्ट, भेन्चर्स बिल्डिङ्गमा १२ वर्ष भन्दा धेरै समयको अनुभव छ । उनी यसअघि एफवानसफ्ट ग्रुप अन्तरगतको फोनपे पेमेन्ट सर्भिसमा डाइरेक्टरको रुपमा समेत आबद्ध थिए ।
ईसेवामा प्रमुख कार्यकारी अधिकृतको रूपमा आफ्नो कार्यभार सम्हाल्दै खड्काले डिजिटल भुक्तानीको क्षेत्रलाई अगाडि बढाउन ईसेवाले नेतृत्वदायी भूमिका खेलेको भन्दै कम्पनीलाई अझ सशक्त बनाउने प्रतिबद्धता जाहेर गरे ।
डिजिटल भुक्तानीको क्षेत्रमा पायोनियर मानिएको ईसेवामा आबद्ध हुन पाउँदा निकै खुशी लागेको भन्दै उनले ईसेवाका सेवालाई अझ विस्तार गरी आम मानिसको दैनिक जनजीवन सहज बनाउने बताए ।
ईसेवा सञ्चालक समितिले यसअघि प्रमुख कार्यकारी अधिकृतको भूमिकामा रहेका सुभास सापकोटालाई विशेष धन्यवाद दिएको छ । सीईओबाट राजीनामा दिएका उनी अब कम्पनीको बोर्ड सदस्य मात्रै रहेका छन् ।
प्रतिक्रिया 4