
१३ असोज, काठमाडौं । ललितपुर महानगरपालिकाले स्थानीय स्तरमा हुने विवाद समाधानका लागि मेलमिलाप केन्द्र सञ्चालनमा ल्याएको छ । २ नम्बर वडा कार्यालयमा खोलिएको केन्द्रको बुधबार नगर उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले उद्घाटन गरिन् ।
ललितपुर महानगरमा २९ वटा वडाहरु छन् । अन्य वडाहरुमा पनि मेलमिलाप केन्द्र सञ्चालनमा ल्याउने तयारी भइरहेको बज्राचार्यले बताइन् ।
केन्द्रको उद्घाटन गर्दै उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले रुपान्तरणसहितको समाज निर्माणका लागि मेलमिलाप महत्वपूर्ण भएको बताइन् ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले मेलमिलाप केन्द्रको सुरुवात हुनु उदाहरणीय र अनुकरणीय काम भएको बताए । न्यायिक प्रक्रियामा मेलमिलाप महत्वपूर्ण तत्व भएको प्रष्ट पार्दै मेलमिलापले विवादमा रहेका दुवै पक्षले जित्ने बताए ।
स्थानीय शासन सञ्चालन ऐन २०७४ को दफ ४७ का अधिकार सञ्चालन गर्ने सन्दर्भमा विवादलाई वडा तहमा नै समाधान गर्नका लागि यो केन्द्रको अवधारणा सुरु भएको हो । उक्त ऐन अन्तर्गत उपप्रमुखको संयोजकत्वमा प्रत्येक स्थानीय तहमा न्यायिक समिति गठन गर्नुपर्ने व्यवस्था छ ।
कार्यक्रममा नगरप्रमुख तथा न्यायिक समितिकी संयोजक मञ्जली शाक्यले मेलमिलापकर्तालाई सपथ गराएकी थिइन् । महानगरले मेलमिलापकर्तालाई वडा तहमा तालिम दिएको थियो ।
प्रतिक्रिया 4