
१३ असोज, काठमाडौं । बिहीबार शंकरदेव क्याम्पसका उपप्राध्यापक रवीन्द्र भट्टराईलाई नेविसंघका कार्यकर्ता विवेक लामाले अभद्र व्यवहार गरे । उपप्राध्यापक भट्टराईलाई लामाले आफूले सिफारिस गरेको विद्यार्थी भर्ना गर्न दबाव दिँदै आएका थिए ।
नियम बाहिर गएर भर्ना गर्न नमानेपछि भट्टराईलाई लामाले अभद्र व्यवहार गरेका हुन् । उनी गत वर्ष पनि सहायक क्याम्पस धनराज चालिसेलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका थिए । लामाले विगतमा पनि शिक्षण संस्थाभित्र अभद्र व्यवहार गर्ने गरेको पृष्ठभूमि भेटिएको छ ।
मुलुकी अपराध संहिता ऐन २०७४ को दफा ११८ मा ‘अभद्र व्यवहार गर्न नहुने’ भन्ने व्यवस्था छ । उक्त व्यवस्था अनुसार, कसैले सार्वजनिक स्थान वा प्रवेश गर्न कानूनी अधिकार नभएको ठाउँमा प्रवेश गरी कसैलाई अभद्र व्यवहार गर्न मिल्दैन ।
अथवा सार्वजनिक ठाउँमा महिला, बालबालिका वा शारीरिक रुपमा अशक्त व्यक्तिलाई हातपात वा हैरानी गर्न मिल्दैन । कसैलाई यसरी अभद्र व्यवहार गरेमा एक वर्षसम्म कैद, दश हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने व्यवस्था छ ।
एक वर्षभन्दा कम कैद सजाय हुने कतिपय मुद्दा अर्धन्यायिक अधिकार प्रयोग गर्ने निकायबाट छिनोफानो हुन्छ । अहिले अभद्र व्यवहारको मुद्दा प्रहरीले सरकारी वकिलमार्फत जिल्ला प्रशासन कार्यालयमा दर्ता गर्छ । अनि प्रमुख जिल्ला अधिकारीको इजलासले मुद्दाको छिनोफानो गर्छ ।
अझ शिक्षण संस्था परिसरमै विद्यार्थीले आफ्ना प्राध्यापकमाथि गरेको दुर्व्यवहार भएकाले यो स्वतः आम सरोकारसँगै कानुन आकर्षित हुने विषय बन्छ ।
प्रतिक्रिया 4