
१३ असोज, बुटवल । बुटवल उपमहानगरपालिकाले खुला रुपमा सडक किनारमा दूध बिक्री वितरणमा रोक लगाएको छ ।
उपप्रमुख तथा अनुगमन समिति संयोजक सावित्रादेवी अर्यालको अध्यक्षतामा बसेको दुग्ध व्यवसायीसहितको बैठकले दूधको कारोबार गर्ने व्यवसायी र किसानलाई अनिवार्य रुपमा दर्ता गर्न र खुल्ला रुपमा सडक किनारमा दूधको बिक्री वितरण रोक्न आग्रह गर्ने निर्णय गरेको हो ।
दुग्धजन्य पदार्थलाई व्यवस्थित तथा स्वस्थकर बनाउनका लागि दुध र दुधजन्य पदार्थको गुणस्तर परीक्षणका लागि ल्याब किड्स मेसिन सहितको ल्याब स्थापना गर्ने निर्णय बैठकले गरेको उपप्रमुख सावित्रादेवी अर्यालले बताइन् ।
यस्तै बैठकले दुधजन्य पदार्थलाई गुणस्तरीय र स्वस्थकर बनाउन दुध बिक्रेता, किसान लगायत दुधको कारोबारमा संलग्न डेरी व्यवसायीहरुले पालना गर्नुपर्ने आचारसंहिता तयार गरी कार्यान्वयनमा सहयोग र समन्वय गर्न कार्यदल गठन गरेको छ ।
रुपन्देही डेरी व्यवसायी संघका अध्यक्ष गणेशप्रसाद भण्डारीको संयोजकत्वमा गठन भएको कार्यदलमा डेरी व्यवसायीहरु कृष्ण भट्टराई, रामकृष्ण शर्मा पौडेल, उमादेवी शर्मा, संजोग श्रेष्ठ सदस्य रहेका छन् भने सदस्य सचिवमा बुटवल उपमहानगरपालिकाका पशुपंक्षी विकास शाखा प्रमुख छन् ।
बैठकले दूधको मूल्य निर्धारण गरी कार्यान्वयन गराउने निर्णय गरेको उपप्रमुख अर्यालले बताइन् ।
५२ जना किसानलाई प्रोत्साहन अनुदान
बुटवल उपमहानगरपालिकाले ५२ जना किसानलाई मागमा आधारित प्रोत्साहन अनुदान दिने भएको छ ।
स्थानीय कृषि व्यवसाय प्रवद्र्धन समितिका अध्यक्ष समेत रहनुभएका नगर प्रमुख खेलराज पाण्डेको अध्यक्षतामा बसेको बैठकले माग भएर आएका ५२ जनाकै माग स्वीकृत गरेको हो ।
बुटवल उपमहानगरका वडा नं. ११ देखि १९ सम्मका किसानका लागि लक्षित गरी आह्वान गरिएको माग, योजना र प्रस्ताव हेरेर अनुगमनका आधारमा ५२ जना किसानलाई अनुदान दिने निर्णय गरेको नगर प्रमुख पाण्डेयले बताए ।
ती वडामा खेती किसानी गर्ने किसान, फर्म र संस्थाहरुले पेश गरेको माग अनुसार १० हजारदेखि १ लाख २० हजारसम्मको अनुदान दिने निर्णय गरेको उनले बताए ।
निर्णयअनुसार एक महिनाभित्रमा किसान, फर्म र संस्थालाई सम्झौताका लागि आह्वान गर्ने र कार्यक्रम सम्पन्न भएपछि वडाको सिफारिशका आधारमा अनुदान रकम उपलब्ध गराइने कृषि विकास शाखा प्रमुख सन्तोष जिसीले जानकारी दिए ।
५२ जना किसान, फर्म र संस्थाले तरकारी, केरा, फुल, लसुन, कुरिलो, बेसार, तोरी, मौरीपालन, कन्ये च्याउ, ड्रागन फलफुल, मकैलगायतका खेती गर्नका लागि योजना तथा प्रस्ताव पेश गरेका थिए ।
प्रतिक्रिया 4