
१३ असोज, काठमाडौं । नेपाली कांग्रेसले पछिल्लोपटक केन्द्रीय सदस्यमा मनोनित भएकाहरूलाई समानुपातिकको बन्द सूचीमा नराख्ने मापदण्ड बनाएको छ । संसदीय बोर्डको बिहीबार बसेको बैठकले सभापति शेरबहादुर देउवाले पछिल्लो पटक मनोनित गरेका १० केन्द्रीय सदस्यलाई समानुपातिकतर्फ नराख्ने निर्णय गरेको हो ।
साउन ३१ मा सभापति देउवाले केन्द्रीय समिति विस्तार गर्ने क्रममा १० महिला थपेका थिए । कांग्रेसको निर्णय अनुसार केन्द्रीय सदस्यहरू किरण यादव, राधा घले, धना खतिवडा, उर्मिला थपलिया, रुक्मीणी कोइराला, कल्याणी रिजाल, गोमा भट्टराई , गंगा शाही, लक्ष्मी खतिवडा र सीता देवकोटा समानुपातिकको उम्मेदवार बन्न नपाउने भएका छन् ।
साथै, ६ भातृ संस्थामा मनोनित भएका अध्यक्षलाई पनि समानुपातिकको उम्मेदवार नबनाउने मापदण्ड बनेको एक पदाधिकारीले जानकारी दिए । उनले भने, समानुपातिक तर्फ उम्मेदवार नहुने निर्णय गरिएको हो । यो निर्णयले प्रत्यक्षतर्फको उम्मेदवार हुन भने रोक्दैन ।’
सामानुपातिक तर्फको बन्द सूची सच्याउने वा हेरफेर गर्नको लागि निर्वाचन आयोगले तोकेको एक दिन मात्रै बाँकी छ । बन्द सूचीप्रति कांग्रेस भित्र चरम असन्तुष्टि छ । असोज ३ मा हतार भएका कारण नामहरू बुझाइएकाले उल्लेख गर्दै एक पदाधिकारी भन्छन्, ‘नामलाई अन्तिम रुप दिन पाइएकै थिएन । सार्वजनिक भएर बढी हल्ला भयो, सूचीलाई अन्तिम रूप दिने कार्य भइरहेको छ ।’
प्रतिक्रिया 4