
१४ असोज, काठमाडौं । सामान्यतया दशैंको बेला वायुसेवा कम्पनीहरुले अतिरिक्त उडान थप्नु पर्ने बाध्यता लामो समयदेखि थियो । दशैंमा काठमाडौंबाट विभिन्न जिल्ला जाने यात्रुको चापका कारण वायुसेवा कम्पनीहरुले अतिरिक्त उडान थप्ने गरेका थिए ।
यस पटक भने नेपाल नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृत नियमित सेड्युलबाहेक दशैंमा यात्रा गर्ने मूख्य दिनहरुमै अतिरिक्त उडान थप गर्नु पर्ने अवस्था नआएको वायुसेवा कम्पनहरुले जनाएका छन् । यसो हुनुमा वायुसेवा कम्पनीहरुसँग पर्याप्त मात्रामा ठूलो क्षमतामा जहाज हुनु भएको समेत उनीहरुको भनाइ छ । यती एयरलाइन्सले शुक्रबार मात्र छैटौं जहाजबाट आफ्नो सेवा थालेको छ ।
यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार अहिले वायुसेवा कम्पनीहरुले अहिलेसम्म अतिरिक्त उडान थप गर्नु परेको छैन । उनका अनुसार कुनै एक गन्तव्यमा वायुसेवा कम्पनीले दैनिक ७ उडानको अनुमति लिएकोमा दशैं अगाडि दैनिक ४ उडान मात्र हुने गरेको थियो । अहिले स्वीकृत सेड्युल ७ उडानसम्म नै पुग्ने गरेको उनले जानकारी दिए । यसबाहेक अतिरिक्त उडानका थप गर्नु नपरेको उनले जानकारी दिए ।
बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्णका अनुसार बुद्धले संखुवासभाको तुम्लिङटारमा बाहेक अन्य विमानस्थलमा अतिरिक्त उडान थप्नु परेको छैन । षष्ठी, सप्तमी र अष्टमीमा हवाई यात्रुको अधिक चाप हुन्छ । यी दिनमा समेत स्वीकृत सेड्युल मै यात्रुको चाप धानिरहेको उनले जानकारी दिए । बुद्ध एयरसँग अहिले १६ वटा जहाज छन् । यतीले जहाज संख्या ६ पुर्याएको छ । श्री एयरलाइन्सले ४ वटा जहाजबाट नियमित सेवा दिइरहेको छ । गुण र सौर्य एयरलाइन्सले समेत सुगम भेगमा जहाज उडाइरहेका छन् ।
त्रिभुवन विमानस्थलमा दैनिक ३ सय हाराहारी–उडान अवतरण
त्रिभुवन विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार सामान्य दिनको तुलनामा यात्रु र जहाजको चाप बढे पनि व्यवस्थापनमा भने समस्या नरहेको बताउँछन् । ‘उडान–अवतरण सामान्य रुपमा भइरहेको छ,’ उनले भने, ‘अन्य प्राविधिक कारणले हुने अवस्थाबाहेक विगतमा जस्तो व्यवस्थापनको समस्या छैन ।’ अहिले प्राधिकरणले वायुसेवा कम्पनीहरुलाई आफ्ना जहाजहरु उपत्यकाबाहिरका विमानस्थलमा राखेर पहिलो उडान ती विमानस्थलबाट गर्न अनिवार्य गरेको छ ।
यसले धेरै हदसम्म काठमाडौंमा बिहानको समयमा हुने ट्राफिक जामको समस्या हटेको छ । वायुसेवा कम्पनीहरुका अनुसार आन्तरिक उडानमा पनि रात्रिकालिन उडानमा यात्रुको आकर्षणले सहज बन्दै गएको छ । अहिले त्रिभुवन विमानस्थलबाट आन्तरिक तर्फ दैनिक औसतः २१० र अन्तराष्ट्रियतर्फ औसतः ८५ वटासम्म उडान÷अवतरण भइरहेको सिटौलाले जानकारी दिए ।
प्रतिक्रिया 4