
१५ असोज, पोखरा । सत्तारुढ गठबन्धनको भागवण्डामा कास्कीका ३ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले एक–एक वटा लिने विषयमा छलफल भइरहेको छ ।
भागवण्डामै सहमति नजुटिसकेकाले उम्मेदवार तय हुन सकेको छैन । कास्की–१ बाट माओवादीका महासचिव देव गुरुङ उम्मेदवार बन्ने चर्चा छ ।
२०६४ सालको निर्वाचनमा कास्की–१ र मनाङबाट चुनाव जितेका उनले पछि मनाङ रोजेका थिए । २०७४ सालको निर्वाचनमा लमजुङबाट चुनाव जितेका गुरुङले लमजुङ कांग्रेसलाई छाडेर कास्की–१ मा उठ्ने चर्चा चलिरहँदा उनी भने आफ्नो प्राथमिकतामा लमजुङ नै रहेको बताउँछन् ।
‘साढे ४ वर्षसम्म लमजुङमा काम गर्दै आएको र सम्बन्ध, जनसम्पर्क तथा जनसेवाको काम पनि गर्दै आएको हुँदा निर्वाचन लड्नै पर्दा लमजुङ लड्नुपर्ने होला’, गुरुङले भने, ‘तर, निर्णय गर्ने शीर्ष नेताहरुले हो ।’
नेकपा माओवादी पोखरा नगर कमिटीले शनिबार गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमपछि महासचिव गुरुङले पार्टीले जहाँ टिकट दिए पनि स्वीकार्ने बताए ।
कास्कीमा १/१ वटा क्षेत्र लिएर मिलाउँदा उपयुक्त हुने सैद्धान्तिक सहमति भएको र त्यसैअनुसार प्रदेशको विभाजन गर्ने पनि सहमति नजिक पुगेको गुरुङले बताए । कास्की १ र ३ मा नेताहरुबीच समझदारी कायम गर्न बाँकी नै रहेको गुरुङको भनाइ छ ।
माओवादीको एउटा समूहले कास्की ३ लिने र त्यहाँ गण्डकी प्रदेशका अहिलेका अर्थमन्त्री रामजी बराललाई टिकट दिनुपर्ने दबाब दिइरहेका छन् । कास्की–३ मै संविधान सभा सदस्य दुर्गा विकले पनि उम्मेदवार बन्न कसरत गरिरहेकी छन् ।
कास्की १ मा माओवादीका केन्द्रीय सदस्य राजकाजी गुरुङ करण उम्मेदवार बन्न लबिङ गरिरहेका छन् । कास्की १ मै देव गुरुङ आउने सक्ने वा यशोदा सुवेदी गुरुङ पनि आउने सक्ने चर्चा छ । तर, नेपाली कांग्रेसका नेताहरुले भने कास्की–१ आफूहरुले छाड्न नहुने दबाव दिइरहेका छन् ।
गण्डकीका पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले लमजुङबाटै प्रदेशसभा निर्वाचनमा उठ्ने घोषणा गरिसकेका छन् । देव र पृथ्वीसुब्बा चुनावमा एकै सिटमा प्रतिस्पर्धा नगर्ने विषयमा छलफल गरेको नेताहरु बताउँछन् । पृथ्वीसुब्बाले प्रदेश रोज्दा लमजुङमा एमालेबाट जमिन्द्रमान घले उम्मेदवार हुने देखिएको छ ।
नेपाल दोबाटोमा छ : गुरुङ
नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले नेपाल अहिले संघीय व्यवस्था जोगाउने कि पश्चगामी दिशातिर जाने भन्ने दोबाटोमा उभिएको बताएका छन् । पोखरामा माओवादीले गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमलाई संवोधन गर्दै गुरुङले यो निर्वाचनले देश कतातिर जान्छ भन्ने सन्देश दिने बताएका हुन् ।
‘नेपाल अहिले क्रसरोडमा उभिएको छ । पश्चगामी दिशामा गएर राष्ट्रिय अस्मितालाई धरापमा पार्दै जाने कि या अहिलेको डेमोक्रेसीलाई रक्षा गर्दै नेपाललाई स्वाधीनताको यात्रामा अगाडि बढाउने ?’ गुरुङले भने, ‘यो दुई बाटोबाट नेपाललाई कता लैजाने भन्ने जनताको हातमा छ ।’
लोकतन्त्र र राष्ट्रिय स्वाधीनता कोणबाट हेर्दा फेरि पनि वाम लोकतान्त्रिक शक्तिहरुको सहकार्य आवश्यक देखिएको गुरुङले बताए ।
‘हामी ५ दलीय वाम लोकतान्त्रिक गठबन्धनको रुपमा अगाडि बढिरहेका छौं,’ गुरुङले भने, ‘राप्रपासँग गठबन्धन गर्ने, सीके राउतसँग पनि गठबन्धन गर्ने, लोसपासँग पनि गठबन्धन गर्ने, सोच र विचारमा संघीयता र अहिलेको गणतन्त्रको रक्षा गर्नुपर्छ भन्ने भन्दा पनि अहिलेको प्रणालीलाई कसरी विस्थापित गर्नुपर्छ भन्ने चिन्तन बोकेका साथीभाइका बीचमा गठबन्धन गर्ने प्रक्रिया बढिराखेको छ ।’
प्रतिक्रिया 4