
१५ असोज, गोरखा । गोरखा नगरपालिका–६ पाटेचौरस्थित मानव सेवा आश्रमका बालबालिकाको गोरखा नगरपालिकाले स्वासथ्य बीमा गरिदिएको छ ।
गोरखा नगरपालिकाको आर्थिक सहयोगमा स्वास्थ्य शाखा मार्फत उनीहरुको बीमा गरिएको नगरपालिका स्वास्थ्य शाखाका निश्चल अर्यालले बताए ।
‘उनीहरुको उपचार बीमा मार्फत समेट्ने मुख्य उद्देश्य हो’, उनले भने, ‘सोही उद्देश्य अनुसार आज (शनिबार) आश्रम पुगेर त्यहाँ रहेका बालबालिकाहरुको बीमा गरिदिएका हौ ।’
गोरखा अस्पताललाई प्रथम उपचार केन्द्र बनाएर बीमा गरिएको उनले जानकारी दिए । आवश्यकता अनुसार अन्य स्वास्थ्य संस्थाबाट पनि सेवा लिन सकिने उनको भनाइ छ ।
बीमा गरिएका बालबालिकाहरुले ९८ प्रकारका औषधी र अन्य स्वास्थ्य सेवा निशुल्क लिन पाउनेछन् । शनिबार बिमा गरिएका बालबालिकाहरुले मंसिर १ गतेबाट बीमावापतको सेवा लिन सक्नेछन् । ‘सामान्यतया बीमा भएको तीन महिनापछि मात्र सेवा लिन पाउने प्रावधान छ तर यो महिना बिमा भएकाहरुले मंसिर १ गतेबाट सेवा लिन पाउँछन्’, अर्यालले भने ।
शनिवार बिमित बालबालिकालाई गोरखा नगरपालिकाका मेयर कृष्ण रानाले बिमा कार्ड हस्तान्तरण गरेका छन् । उनले प्रत्येक वडामा दश जनाका दरले विपन्न र असहाय व्यक्तिको स्वास्थ्य बीमा नगरपालिकाले गरिदिने तयारी भइरहेको जानकारी दिए ।
‘नामावली संकलन गर्न भनेर सम्बन्धित वडाका अध्यक्षहरुलाई हामीले भनिसकेका छौं, नामावली संकलन भएर आएपछि बीमा गरिदिन्छौं’, उनले भने ।
प्रतिक्रिया 4