
१५ असोज, दाङ । संगीतकार सन्तोष श्रेष्ठको नव प्रकाशित उपन्यास फरैनाबारे दाङमा चर्चा गरिएको छ ।
राप्ती साहित्य परिषद् दाङले आयोजना गरेको पुस्तक परिचर्चा कार्यक्रममा बोल्दै उपप्रध्यापक केवी चौधरीले फरैना थारु समुदायमा कमलहरीहरुले भोग्नु परेको नारकीय जीवन र संघर्षको कथा भएको बताए ।
‘फरैनाले जमिन्दार र कमैयाबीचको द्वन्द्व, अन्याय अत्याचार र विभेदको कथा बोलेको छ’ उनले भने, ‘उपन्यासमा कुनै ढाकछोप नगरी थारु समुदाय भावना व्यक्त गरिएको छ ।’ उनले उपन्यास एउटा उत्पीडनबाट उठेर राष्ट्रपतिसम्म बन्ने संघर्षशील नारी पात्रको सफलताको सुन्दर आख्यान भएको बताए ।
गजलकार एवं लेखक नारायण नेपालले पुस्तकमा पश्चिम तराइमा थारु समुदायले भोगेको ज्यादती, अन्याय र उत्पीडनबारे सरल ढंगले प्रस्तुत गरिएको बताए ।
संगीतकार समेत रहेका उपन्यासका लेखक श्रेष्ठले आफ्नो उपन्यास फरैनाको कथा समाजबाटै टिपेको बताए । ‘यो उपन्यास भए पनि पात्रले भोगेको कथा नितान्त समाजभित्रकै हो’ उनले भने ।
श्रेष्ठले आफ्नो समाजमा थारु समुदायको कमैया, कम्लहरी प्रथामा भोगेको पीडालाई उपन्यसमार्फत व्यक्त गरेको बताए ।
प्रतिक्रिया 4