
१६ असोज, पोखरा । स्याङ्जाको फेंदीखोला गाउँपालिकास्थित साल्मेडाँडामा निर्माणाधीन गोरखा स्मारक निर्माणलाई तीव्रता दिइने गोर्खा भूतपूर्व सैनिक संघ (गेसो)ले जनाएको छ ।
गेसोका अध्यक्ष पदमबहादुर गुरुङसहितको टोलीले निर्माणस्थलको निरीक्षण गरी गोरखा स्मारक निर्माणलाई तीव्रता दिने जनाएको हो ।
बेलायती सेनामा भर्ना भई प्रथम र दोस्रो विश्वयुद्धमा ज्यान गुमाएका ६० हजार नेपालीको स्मृतिमा निर्माणाधीन गोरखा स्मारक एवम् समाधिस्थल निर्माण स्याङ्जाको फेदीखोला गाउँपालिका वडा नं. १ साल्मेडाँडामा २०७१ सालदेखि सुरु गरिएको थियो । बहुउद्देश्यीय स्मारकको डिजाइन बरिष्ठ इन्जिनियर शंकरनाथ रिमालले गरेका थिए ।
तर रकम अभावकै कारण केही वर्षयता गोरखा स्मारकको निर्माणले निरन्तरता पाउन नसकेको गोरखा स्मारक ट्रष्ट साल्मेडाँडाका संयोजक धर्मबहादुर गुरुङले बताए ।
अब भने गेसोको पहलमा समाधिस्थल निर्माणलाई तीव्रता दिने योजना रहेको गेसोका अध्यक्ष पदम बहादुर गुरुङ बताउँछन् । उनले समाधिस्थल निर्माण सबैको सहयोगमा सम्पन्न गर्ने बताए ।
पछिल्ला वर्षमा प्रदेश सरकार र स्थानीय सरकारले समेत समाधि निर्माणका लागि तीन करोडभन्दा बढी बजेट विनियोजन गरेका छन् ।
समाधि निर्माणसँगै गाउँमा पर्यटकको संख्यामा वृद्धि हुने आशा फेदीखोला गाउँवासीको छ । फेदीखोला–१ का वडाध्यक्ष अमृत क्षेत्रीले गोरखा स्मारक निर्माण सम्पन्न गरेमा साल्मेडाँडामा स्वदेशी तथा विदेशी पर्यटकको ओइरो लाग्ने बताए । समाधि निर्माणस्थलबाट हिमश्रृंखलासमेत अवलोकन गर्न सकिन्छ ।
प्रतिक्रिया 4