
१६ असोज, गोरखा । गोरखाको ताकुकोटस्थित माइभगवती मन्दीरमा पनि बाजागाजाका साथ फूलपाती भित्र्याइएको छ ।
यहाँ दरौंदी नदीको दुई ठाउँबाट फूलपाती ल्याइन्छ । निवेल र चनौटे क्षेत्रबाट छुट्टाछुट्टै टोलीले माइभगवती मन्दीरसम्म फूलपाती ल्याउँछन् । विहान मन्दीरबाट उपासेहरु कसैलाई नछोइ खाली खुट्टा हिँड्दै अशोकको फूल र बेलको बोटलाई निम्तो दिँदै दरौँदी नदीमा गएर नुहाउने गर्छन् । नुहाएपछि नदीबाट देउता उठाउने गरिन्छ ।
देउता उठाइसकेपछि फूलपाती मन्दिरमा नभित्र्याएसम्म अरूसँग बोल्न पाइँदैन । नुहाइसकेपछि झोली बनाइन्छ, त्यस झोलीमा विहान निम्तो दिएको बेलको फूल, बेल पत्र, अशोकको फूल, अयन्ती, जयन्ती, आलती, मालती, पारिजातको फूल, कुभिण्डो, अदुवा, जनैलहरा विभिन्न जातका फलफूल टिपेर आफ्नो झोलीमा हालिन्छ ।
फलफूल हालेको झोली भुइँमा बिसाउन पनि नहुने परम्परा छ । बीच बाटोमा बाजागाजासहित मन्दिरबाट पण्डित, मुलपुजारी, द्वारे र अन्य मानिसहरु लिन आउँछन् । विभिन्न पूजा विधि गरेर मन्दिरमा फूलपाती भित्र्याइन्छ ।
प्रतिक्रिया 4