
काठमाडौँ । फिल्म निर्माता अशोक शर्माले आफ्ना दुई फिल्मलाई ओटीटी प्लेटफर्ममा रिलिज गरेका छन् । दशैं छेकोमा उनले सिनेमाघर एपमा होम प्रोडक्सनका दुई फिल्महरु ‘जय भोले’ र ‘रातो टीका निधारमा’ सार्वजनिक गरेका हुन् ।
आइतबार दशैं फूलपाती अवसरमा फिल्म भर्चुअल प्लेटफर्ममा सार्वजनिक भएका हुन् । ‘जय भोले’ २०७५ सालमा रिलिज भएको थियो भने ‘रातो टीका निधारमा’ २०७६ सालमा प्रदर्शन भएको थियो । यी दुवै फिल्मका निर्माता तथा निर्देशक अशोक शर्मा हुन् ।
निर्देशक शर्माले आफ्ना यी दुई फिल्म यूट्युबमा नआउने बताए । अन्य देशमा जस्तै नेपालमा पनि ओटीटी प्लेटफर्म फस्टाउनुपर्छ भन्ने उद्देश्यले यी फिल्मलाई ओटीटीमा ल्याएको उनको भनाई छ । यूट्युबमा फिल्म रिलिज गर्दा हलमा गएर फिल्म हेर्ने कल्चर पनि बिग्रने भएकाले आफूले ओटीटी रोजेको शर्मा बताउँछन् ।
‘जय भोले’मा स्वस्तिमा खड्का, सलोन बस्नेत, खगेन्द्र लामिछाने, सौगात मल्ल, बुद्दि तामाङ, राजाराम पौडेलको अभिनय छ भने ‘रातो टीका निधारमा’मा साम्राज्ञी शाह, अंकित शर्मा, बुद्दि तामाङ, रविन्द्र झा, शिवहरि पौडेल, नीता ढुंगाना, खुश्वु खड्का, राजाराम पौडेलको अभिनय छ ।
प्रतिक्रिया 4