
काठमाडौं । दशैंमा नेपाली फिल्म हलले मध्यरातसम्मै प्रदर्शन थालेका छन् । चलचित्र विकास बोर्डको दबाबबीच यसअघि हलले राति ११ बजेसम्म मात्रै फिल्म देखाउँदै आएका थिए ।
चलचित्र संघका महासचिव नरेन्द महर्जनले बोर्डको अनुमतिमै मध्यरात पछिसम्म प्रदर्शन सुरु गरिएको बताए । अहिले कतिपय हलले राति १ बजेसम्मै फिल्म देखाइरहेका छन् ।
‘हामीले बोर्डसँग यसबारे अनुरोध लेखेर पठाएका थियौं र बोर्डकै अनुमतिमा फिल्म देखाइरहेका छौं’ महर्जनले भने, ‘जस-जसलाई फिल्म देखाउन मन छ, उहाँहरुले मध्यरातपछिसम्मै फिल्म देखाउनुहुन्छ ।’
शान्तिसुरक्षाको मापदण्ड पुर्याएरै आफूहरुले फिल्म चलाइरहेको महर्जनले बताए । तर चलचित्र विकास बोर्ड भने यसबारे मौनजस्तै छ । बोर्ड सदस्य राज कटुवालले आफूलाई यसबारे जानकारी नभएको बताए । ‘लेट नाइट शोबारे हामी बुझ्छौं’ उनले भने ।
यसअघि अन्तिम शो साढे सात बजेसम्म मात्र राख्न भन्दै बोर्डले दबाब दिइरहेको थियो । हल सञ्चालकले पनि सोहीअनुसार शो निर्धारण गर्दै आइरहेका थिए ।
बोर्डका अघिल्ला अध्यक्ष दयाराम दाहालले राति ११ बजेसम्म मात्रै फिल्म चलाउनुपर्ने नियम ल्याएका थिए । त्यो नियमलाई वर्तमान अध्यक्ष भुवन केसीले अघि बढाएका छन् । तर सिनेमा घरहरुले मध्यरातपछिसम्मै हल चलाउन थाल्नुलाई बोर्ड आफ्नो निर्णयबाट पछि हटेको संकेतको रुपमा बुझिएको छ ।
नेपाली फिल्मका दुई शक्तिशाली निकाय बोर्ड र चलचित्र संघ पछिल्लो समय रात्रिकालीन शोलाई लिएर विवादमा उत्रिएका छन् ।
प्रतिक्रिया 4