
१७ असोज, काठमाडौं । दशैंका लागि काठमाडौंको बालाजु बाइपासमा खसी बेचिरहेका व्यापारी गणेश पोखरेलले भने, ‘हचुवामा किनेर ल्यायौं । हचुवामा बेच्छौं ।’ साथीहरुसँग मिलेर धादिङलगायतका ठाउँबाट ५ सय खसी–बोका काठमाडौं बेच्न ल्याएका थि, उनले । ती मध्ये धेरै बिक्री भइसकेका छन् । बाँकी रहेका बिक्री गर्दैछन् उनी ।
मोलमोलाई गर्दै उनले भने, ‘लैजाने भए यसको दाम ३५ हजार रुपैयाँ ।’
ग्राहकको जवाफ आयो, ‘३० हजार’
पोख्रेलले नजिकै रहेका एक ग्राहकलाई देखाउँदै भने, ‘३२ हजार दिने उहाँले दिइसक्नु भएको हो । यसको अन्तिम दाम नै ३५ हजार हो ।’
यो मोलतोलबिच अर्को ग्राहक थपिए । नयाँ ग्राहकलाई पाख्रेलले खसीको मूल्य ३६ हजार रुपैयाँ भने । एकाएक खसीको भाउ बढेपछि वरिपरि हेर्ने मानिसहरु मुसुमुसु हाँसिरहेका थिए । पोखरेलले हाँसिरहेकाहरुलाई जवाफ फर्काए, ‘इच्छा भए लाने हो, जबर्जस्ती कसले गर्छ र ?’
यी संवाद र बजारको अवस्था आजको हो । महानगरको अनुगमनका क्रममा यस्तो अवस्था भेटिएको हो । बालाजु बाईपासमा आज करिव ३० वटा खसीबोका बेच्नका लागि राखिएका थिए । यो अवस्था देखेपछि अनुगमन टोलीले हचुवामा बेच्दा उपभोक्ता मारमा पर्ने भएकोले यसो गर्न नहुने बताएको थियो । जवाफमा व्यापारीहरुले, एउटा–दुईटा खसी बोका बेचेर दशैं मनाउने किसानसँग तौल लिने व्यवस्था नहुने उत्तर दिए ।
यो ठाउँमा नुवाकोट, सिन्धुली, गोरखा, बारालगायत ठाउँबाट खसीबोका ल्याउने गरिएको छ । पशु स्वास्थ्य विभागकाअनुसार हिजो यस नाकाबाट २०३ वटा बोका, ४२३ वटा खसी, ५१ वटा राँगा, ५२२ वटा कुखुरा र ४ वटा बाख्री भित्रिएका थिए ।
महानगरको खाद्य नियमन तथा पशुपंक्षी महाशाखाका पशु विकास अधिकृत डम्बर बमका अनुसार, बजारमा रोगी खसी बाख्रा भेटिएका छैनन् । निरोगी खसी–बोकाका सिङ्मा हरियो रङ्ग लगाएर खान योग्य भन्ने संकेत गरिएको छ । यिनीहरुको वाह्य अवस्था परीक्षणबाट चिह्न लगाइएको हो ।
कलंकी खसी बजार विस्थापनका लागि महानगरले पत्राचार गरेपछि यस वर्ष त्यस क्षेत्रबाट बिक्री गरिएका खसीबोकाको महानगरले परीक्षण गरेन ।
प्रतिक्रिया 4