
दिल्ली स्थायी घर भई काठमाडौंको हाँडीगाउँमा रेष्टुरेन्ट व्यवसाय गरिरहेकी अन्जना योगी माछामासु खाँदिनन् । उनले १६ वर्षको उमेरदेखि नै माछामासुसँग दूरी बढाइन् ।
तर शाकाहारी जीवन त्यति सहज थिएन । रोजगारीका लागि बहराइन पुगेको बखत उनले सबैभन्दा बढी सास्ती खेप्नुपर्यो, शाकाहारी भएकाले । ‘म जुन रेष्टुरेन्टमा काम गर्थें त्यहाँ मासुको परिकार मात्रै हुन्थ्यो । कहिल्यै सागसब्जी वा शाकाहारी परिकार बन्दैनथ्यो । मैले कति पटक अनुरोध गरेर शाकाहारी परिकार बनाउन लगाउँथें । तर त्यसमा कति पटक मासु नै भेटिन्थ्यो ।’
शुद्ध शाकाहारी खानपानमा अभ्यस्त उनले त्यहाँ धेरै पटक आफ्नो खानामा मासु भेटिन् । एकपटक त कुखुराको सिंगो फिला नै फेला पर्यो । ‘खानापान नमिलेपछि कति पटक भोकभोकै पनि काम गरें,’ अन्जना सुनाउँछिन् । पछिपछि भने उनले आफ्नो खाना आफू एक्लैले पकाएर खान थालिन् ।
विवाहपछिको समस्या उस्तै थियो । जब उनी विवाह गरेर दिल्ली पुगिन्, घरमा आफैंले परिवारका सदस्यलाई मासु पकाएर दिनुपर्ने भयो । सुरु सुरुमा त निकै गाह्रो भयो । तर पछि बानी पर्दै गयो ।
‘एकपटक भाइको बिहेमा आफन्तले मेरो मुखमा क्वाप्पै मासु हालिदिए,’ अन्जना सुनाउँछिन्, ‘उहाँलाई म शाकाहारी हो भन्ने थाहा थिएन, त्यही भएर मायाले मासु दिनुभएको थियो ।’
मासु पारखीलाई त मासु खानुमा कम्ता स्वाद हुँदैन । तर अन्जनालाई भने मासु खाँदाको नमीठो अनुभव छ । दार्जिलिङको एक रेष्टुरेन्टमा उनले भेज म:म मगाएकी थिइन् । तर त्यो चिकेन म:म रहेछ । खाँदै जाँदा त्यसमा हड्डी भेटियो । ‘वान्ता नै आउँला जस्तो भयो’ अन्जना सुनाउँछिन् ।
चाडपर्व एवं जमघटमा अरुको घरमा जाँदा आफूलाई केही अहसज हुने उनको अनुभव छ । प्राय:ले मीठोमसिनो खानेकुरामा माछामासु नै सामेल गर्छन् । यस्तो जमघटमा अन्जनाको भागमा पनि माछामासु नै आइपुग्छ । ‘त्यति प्रेमपूर्वक दिएको खानेकुरा खाँदिन भन्नु पनि गाह्रो’ अन्जना भन्छिन्, ‘खान सक्ने त कुरै भएन ।’
गौशालाकी सविना कोइराला पनि पूर्ण शाकाहारी हुन् । उनले त जन्मजात नै माछामासु खाएकी छैनन् । घरपरिवारमा माछामासु नचल्ने भएकाले उनको खानपानमा मासुको कुनै अंश नै रहेन ।
‘अरुले मासु खाएको देख्दा यसको स्वाद कस्तो होला भन्ने चाहिं लाग्छ’ उनी सुनाउँछिन्, ‘तर मारकाट गरेको देख्दा एकदमै नराम्रो लाग्छ ।’
पाहुना लाग्दा माछामासु नखाने मान्छेलाई निकै अप्ठ्यारो पर्ने उनको अनुभव छ । सबैले पाहुनालाई मान–मनितो गर्न माछामासु नै पकाउने गर्छन् । यस्तो अवस्थामा ‘म त माछामासु खाँदिन’ भन्न पनि गाह्रो । ‘कति मायाले पकाएर राखिदिएको हुन्छ’ उनी सुनाउँछिन्, ‘म त खाँन्न भन्दा उनीहरुलाई कस्तो हुन्छ होला ।’
बिहेभोज, पारिवारिक जमघटमा शाकाहारीका लागि थोरै विकल्प हुने उनी बताउँछिन् । धेरैजसो अवस्थामा मासुको विभिन्न परिकार हुने गर्छ । यस्तो बेला शाकाहारीले भने फलफूल वा दूध–दही खाएर साथ दिनुपर्ने हुन्छ । आफू शाकाहारी भएको हुँदा साथीभाइले ‘घाँसपात भनेर गिज्याउने गरेको’ उनको अनुभव छ ।
काठमाडौं काँडाघारीका विलाश कार्कीले १९ वर्षको उमेरदेखि माछामासु खाएका छैनन् । एकपटक स्वास्थ्य खराब भएपछि मासु हेर्नै मन लाग्न छाडेको उनी बताउँछन् । साथीहरु कटाक्ष गर्छन्, ‘छोरा मान्छे भएर पनि भेज ?’
चाडपर्व खासगरी दशैं तिहारमा शाकाहारी व्यक्तिलाई निकै असहज हुने उनको अनुभव छ । ‘यस्तो बेला सबै माछामासु खाइरहेका हुन्छन्’ विलाश भन्छन्, ‘आफू चाहिं हलुवामा बालुवा जस्तै हुने ।’
चाडपर्वमा आमाले आफ्नो लागि छुटै खानेकुरा नै तयार गरिदिने उनी बताउँछन् । ‘म एकजनाका लागि अरुलाई दुःख हुन्छ भन्ने लाग्छ,’ उनी सुनाउँछन् ।
त्यसो त बाहिर घुमफिरमा जाँदा पनि आफूलाई निकै अहसज हुने उनको अनुभव छ । ‘साथीहरु चिकेन चिल्ली, चिकेन म:म, पोर्क सेकुवा मगाउँछन्,’ उनी भन्छन्, ‘मैले मेरो लागि आलुको आइटम मगाउँदा उनीहरु खित्का छाडेर हाँस्छन् ।’
प्रतिक्रिया 4