
१७ असोज, काठमाडौं । विवेकशील साझा पार्टीका निवर्तमान प्रवक्ता शरदराज पाठकले पनि पार्टी परित्याग गरेका छन् ।
कार्यसम्पादन समिति सदस्य समेत रहेका पाठकले सोमबार पार्टी अध्यक्षलाई राजीनामा पत्र बुझाएका हुन् । पूर्व अध्यक्ष रवीन्द्र मिश्र निकट मानिन्छन्, तर मिश्रकै बाटोमा राप्रपामा जाने कि नजाने भन्ने अलमलमा रहेको निकटवर्तीहरू बताउँछन् ।
श्री अध्यक्ष ज्यू,
विवेकशील साझा पार्टी
वखुण्डोल, ललितपुर।
विषय: पार्टीको सदस्य समेत नरहने गरी राजीनामा।
महोदय,
२०७४ सालमा विवेकशील साझा पार्टी स्थापना पश्चात् विभिन्न नेतृत्वदायी जिम्मेवारी निर्वाह गर्दै आएकोमा म शरदराज पाठक आजको मितिदेखि साधारण सदस्यसमेत नरहने गरी राजीनामा पेश गर्दछु।
विवेकशील साझा पार्टीबाट अलग हुँदै गर्दा यस पार्टीको तर्फबाट २०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा चितवन क्षेत्र नं ३ बाट उम्मेदवार रहँदा म र पार्टीप्रति आशा र विश्वाससहित मतदान गर्नुहुने सम्पूर्ण मतदातालाई पुन: एक पटक हार्दिक धन्यवाद ज्ञापन गर्दछु।
विवेकशील साझाबाट अलग भएतापनि विगत ५ बर्षमा हामीले प्रमुखताका साथ उठाएका अर्थ राजनीतिक तथा राजनीतिक सामाजिक एजेण्डा प्रवर्द्धन र स्थापित गर्न म आगामी दिनमा पनि सक्रिय राजनीतिक मैदानमै रहने कुरा यस पार्टीका सम्पूर्ण आदरणीय सहकर्मी, पूर्व सहकर्मी एवम् मेरा शुभेच्छुक/शुभचिन्तकहरूलाई जानकारी गराउँछु।
पछिल्लो ५ बर्षको अवधिमा मलाई विभिन्न चरणमा सहयोग गर्ने, अमूल्य सल्लाह-सुझाव प्रदान गर्ने सम्पूर्ण महानुभावहरूसहित यो पार्टीमा विभिन्न भूमिकामा रही नेतृत्व गरेका सहकर्मीहरू र सदस्यहरूप्रति आभार प्रकट गर्दछु।
विवेकशील साझा पार्टीलाई अघि बढाउन हाल प्रयासरत अध्यक्षसहित सबै मित्रहरूलाई सफलताका लागि धेरै शुभकामना व्यक्त गर्छु।
शरदराज पाठक
कार्यसम्पादन समिति सदस्य/निवर्तमान प्रवक्ता
विवेकशील साझा पार्टी
१७ असोज, २०७९
प्रतिक्रिया 4